
बिस्थापित केरौंजाबासीको नयाँ बस्तीमा खानेपानीको समस्या
गोरखा ः भूकम्पले बिस्थापित भई नयाँ ठाउँमा पुनस्थापित केरौंजाका बस्तीहरुमा खानेपानीको समस्या छ । धार्चे गाउँपालिका वडा नं. २ मा रहेका नयाँ बस्तीहरु डोङ्ग्यान, बाम्लाचोक, लामाबेशी, घान्सुटोल र क्यूटानमा पानीको ठूलो समस्या रहेको वडा अध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिए ।
अहिले उपयोग गरिरहेको मुहान प्रदुषित पनि रहेको उनले बताए ।
वडा अध्यक्ष गुरुङका अनुसार भूकम्प र त्यसपछिको पहिरोका कारण बिस्थापित भएका करिब एकसय ५० घरधुरी डोङ्गान भन्ने ठाउँमा नयाँ बस्ती बनाएर बसेका छन् । त्यस्तै करिब एकसय घरधुरी बिस्थापित परिबार बाम्लाचोकमा बस्ती बनाएर बसेका छन् । घान्सुटोलमा करिब ९० घरधुरी, क्यूटानमा करिब ३० घर र लामाबेशीमा एकसय ४५ घरधुरी बिस्थापित परिबारहरुको बसोबास छ ।
‘पुरानो बस्तीमा सरकार र बिभिन्न संघसंस्थाले धारा बनाइदिएको थियो । भुइँचालोले भत्काइदियो । पहिरोले बगाइदियो’, उनले भने, ‘अब अहिले नयाँ नयाँ ठाउँमा घर बनाएर बसेका छन् । त्यहाँ अहिलेसम्म कसैले पनि धारा बनाइदिएको छैन ।’ भूकम्प जानेबित्तिकै पुगेका केही संघसंस्थाले पाइप दिएको भएपनि त्यो अपर्याप्त भएको र टुटफुट भइसकेको उनले बताए ।
पानी भर्नका लागि भत्किएको पुरानो थलो पुग्नुपर्ने अबस्था रहेको स्थानीय स्वास्थ्यकर्मी अमृत घले बताउँछन् । ‘धेरै घरधुरी छन्, एउटा धारा छ । पानीको धारामा धेरै ठूलो भीड लाग्छ’, घले भन्छन्, ‘सरकारले एकघर एकधारा भनेको सुनेका छौं तर यहाँ त्यस्तो हुने त कहिले कहिले ?’
पहिलेदेखि खाँदै आएको खानेपानीको मुहानभन्दा माथितिर नयाँबस्ती बसेको छ । बस्तीमा प्रसस्तै सौचालय पनि बनेका छन् । माथिल्लो गरामा सौचालय, तल्लो गरामा खानेपानी मुहान रहेकाले स्थानीयले प्रदुषित पानी खाइरहेका स्थानीय शिक्षक सुन्दर खनालले जानकारी दिए । ‘अहिले माथि सौचालय छ, तर खानेपानीको मुहान छ’, उनले भने, ‘फोहर पानीले गर्दा रोग फैलिने डरले हामी चिन्तित छौं ।’




