
जिल्ला समन्वय समितिमा बार्षिक समीक्षा कार्यक्रम सम्पन्न
जिल्ला समन्वय समितिले आर्थिक बर्ष २०७५÷०७६ मा सम्पन्न बजेट तथा कार्यक्रमको बार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिका अध्यक्ष अशोककुमार गुरुङको अध्यक्षतामा सम्पन्न समीक्षा कार्यक्रममा संघ तथा प्रदेश मन्त्रालय अन्तर्गतका कार्यालयहरु, जिल्लाका १० वटा स्थानीयतहहरु, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र, पालुङ्टार कुन्दुरटार सिँचाई आयोजना कार्यालय, नेपाल टेलिकम कार्यांलयले भौतिक तथा वित्तीय प्रगति प्रतिवेदन प्रतिवेदन प्रस्तुत गरेका थिए ।
चुमनुब्री गाउँपालिकाले भने समीक्षा कार्यक्रममा प्रतिवेदन पेश गरेन । जिल्लामा क्रियाशील सबै गैरसकारी संस्थाका प्रगति प्रतिवेदनहरु संयुक्त रुपमा गैरसरकारी संस्था महासंघका अध्यक्ष सीताराम श्रेष्ठले प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा गोरखा २ बाट निर्वाचित सांसद बाबुराम भट्टराई, विशिष्ट अतिथि राष्ट्रिय सभाका प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डे, गोरखा २, ख बाट निर्वाचित प्रदेशसभाका सांसद प्रकासचन्द्र दवाडी, जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
प्रतिवेदन पेश गर्दै स्थानीय तहका प्रमुखहरुले स्थानीय स्तरमा भोग्नु परेका समस्या तथा चुनौतीहरु व्यक्त गरेका थिए । प्रत्येक वडामा वडासचिव नहुँदा भोग्नु परेको समस्या, बिभिन्न बिषयगत कार्यालयका कर्मचारीहरुको अभावमा भोग्नु परेको समस्या सुनाएका थिए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९२ को ञ मा जिल्लास्थित संघ तथा प्रदेश मन्त्रालय अन्तर्गतका कार्यालयहरु, स्थानीय सरकार, गैरसरकारी संस्थाहरुले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।




