| शनिबार, कार्तिक २८, २०८३

जगत प्रहरी चौकीमा मेटल डिटेक्टरद्वारा चेकजाँच सुरु

उत्तरी गोरखाको जगत चेकपोष्टमा रहेको प्रहरीले सुरक्षा चेकजाँचमा मेटर डिटेक्टरको प्रयोग गर्न सुरु गरेको छ । सीमावर्ती सुरक्षाचेकपोष्ट भएकाले आधुनिक प्रविधिबाट सुरक्षा चेकजाँच गर्न थालिएको जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए ।
उत्तरी सीमानाबाट सुन, चाँदी, तथा जडिबुटीलगायतका सामान अवैध रुपमा आयात निर्यात हुने गरेको भन्दै मेटल डिटेक्टर प्रयोग गर्न थालिएको प्रहरीले जनाएको छ । ‘छेकम्पार र सामागाउँ दुवैतर्फको नाकाबाट आएको सामान जगत चेकपोष्ट छलेर जान सक्ने ठाउँ छैन’, एसपी अधिकारीले भने, ‘त्यसैले जगत चेकपोष्ट अत्यन्तै संवेदनशील छ । त्यसैले त्यहाँको चेकजाँचलाई प्रभावकारी र भरपर्दो बनाउन मेटर डिटेक्टर राख्नु उपयुक्त ठानेर राखेका हौं ।’ सुनचाँदी लगायत धातुजन्य सामग्रीलाई यो उपकरणले पत्ता लगाए पनि जडिबुटीजन्य सामानलाई भने पत्ता लगाउन नसक्ने उनले बताए । ‘संवेदनशील स्थानको चेकपोष्टमा म्यानुअल्ली चेकजाँच गर्दा भरपर्दो नहुने र ढिलो पनि हुने भएकाले यो प्रविधि अपनाएका हौं’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्