
साधना लघुवित्तको नाफा ५१३ प्रतिशतले बृद्धि
गोरखा बजारमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त विकास वैंकको मुनाफा ५१३ प्रतिशतले वृद्धि भएको छ ।
चालु आर्थिक बर्षको प्रथम चार महिनाको अवधिमा गत बर्षको भन्दा ५१३ प्रतिशतले मुनाफा वृद्धि गरेको मंगलबार सार्वजनिक गरेको त्रैमासिक प्रगति विवरण मा उल्लेख छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रेशम न्यौपानेका अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमासिकमा वैंकले ७६ लाख ६३ हजार खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १४ लाख ९३ हजार मात्रै खुद मुनाफा रहेकोमा यो बर्ष सन्तोषजनक ढंगले मुनाफा वृद्धि भएको उनले बताए । लघुवित्तको लक्ष्य पूरा गर्ने अभियानमा दूरदराजहरुमा पनि पुगी काम गरेकाले मुनाफा वृद्धि सन्तोषजनक रहेको उनको भनाइ छ ।
‘अन्य लघुवित्त नपुगेको क्षेत्रमा पनि हामीले शाखा संजाल आक्रमक रुपमा बिस्तार गरेका छौं’, उनले भने, ‘लघु वित्तले गत अषाढ ३० गते बाट आर्थिक समृद्धि लघुवित्त लाई मर्जर गरी एकीकृत कारोबार संचालन गरेका कारण पनि मुनाफा वृद्धि भएको हो ।’ लघुवित्तले खुद ब्याज आम्दानी रु दुई करोड ४६ लाख दुईहजार पु¥याएको छ । अघिल्लो बर्षको यही अवधिमा ६६ लाख ३१ हजार मात्र व्याज आम्दानी गरेकोमा यसबर्ष व्याज आम्दानी पनि उल्लेख्य वृद्धि भएको वैंकले जनाएको छ ।
यसैगरी समिक्षा अवधिमा ३२ करोड ५९ लाख बचत संकलन गरी एक अर्ब चार करोड १६ लाख सापटी लिएर एक अर्ब ३६ करोड १९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो बर्षको यही अवधिमा लघुवित्तले आठ करोड ५६ लाख बचत संकलन गरी ४४ करोड ७२ लाख सापटी लिई ५० करोड ७४ लाख कर्जा परिचालन गरेको थियो । यसै गरी वित्तीय संस्थाको अघिल्लो आर्थिक बर्षमा २३ लाख ९० हजारमात्र रहेको रिर्जब समिक्षा अवधिमा तीन करोड ४१ लाख पुगेको छ ।
अघिल्लो आर्थिक बर्षको यही अवधीमा कुल चारकरोड ९० लाख रुपैयाँ चुक्ता पुंँजी रहेकोमा यस आर्थिक वर्ष चुक्ता पुंजी १४ करोड ६० लाख भएको छ ।
त्यस्तै समिक्षा अवधिमा कस्ट अफ फण्ड ९.६२ प्रतिशत रहेको छ भने तरलता अनुपात १३.२१ प्रतिशत, प्रति शेयर आम्दानी २०.९८ रहेको सिइओ न्यौपानेले जानकारी दिए । गोरखामा प्रधान कार्यालय स्थापना गरी २०७४ साल मंसीर ३ गतेबाट कारोबार सञ्चालन गरेको साधना लघुवित्तले हाल सम्म ४४ वटा शाखा कार्यालय हरु मार्फत ३८ हजार जना सदस्यलाई सेवा प्रवाह गरिरहेको छ ।




