| शनिबार, कार्तिक २८, २०८३

मानव सेवा आश्रमलाई गोरखा सेवा समाजद्वारा २ लाख ५० हजार प्रदान

अनाथ बालबालिकाको लालन पालन र पठनपाठनको ब्यबस्था गरिरहेको मानव सेवा आश्रम गोरखालाई गोरखा सेवा समाज कतार र गोरखा सेवा समाज नेपालले आर्थिक सहयोग गरेको छ ।

आश्रम सञ्चालनका लागि स्थापित अक्षयकोषका लागि गोरखा समाज कतारले सङ्कलन गरेको दुईलाख ५० हजार रुपैयाँ दुवै संस्थाले संयुक्त रुपमा हस्तान्तरण गरेको गोरखा सेवा समाज नेपालका अध्यक्ष कैलाशबाबु श्रेष्ठले जानकारी दिए ।

शनिबार आयोजित गोरखा सेवा समाज नेपालको पहिलो अधिवेशन को अवसरमा प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले आश्रमका संयोजक रामजी अधिकारीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

यी दुई संस्थाले आश्रमलाई अहिलेसम्म पाँचलाख रुपैयाँ हस्तान्तरण गरिसकेको अध्यक्ष श्रेष्ठले बताए । आश्रममा अहिले ३६ जना बालबालिकाहरु रहेका छन् ।

रकम हस्तान्तरण समारोहमा गोरखा सेवा समाज कतारका अध्यक्ष राजेश्वर ढकाल, पूर्व अध्यक्षद्वय श्रीकृष्ण भटटराई र सुदर्शन भट्ट सहभागी थिए ।

प्रथम अधिवेशनले गोरखा सेवा समाज नेपालको अध्यक्षमा नयाँ कार्यकालका लागि पनि कैलासबाबु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा कतारमा कार्यरत राकेश श्रेष्ठ, द्वितीय उपाध्यक्षमा इमानजंग बानियाँ, सचिवमा गणेशबहादुर बानियाँ, सहसचिवमा वसन्तमान श्रेष्ठ, कोषाध्यक्षमा काजिराम बानियाँ, सहकोषाध्यक्ष ज्ञानेन्द्र न्यौपाने लगायत सातजना सदस्यहरु चयन भएका अध्यक्ष श्रेष्ठले जानकारी दिएकाछन् ।

प्रतिक्रिया दिनुहोस्