| शनिबार, कार्तिक २८, २०८३

विपद जोखिम न्यूनिकरण दिवसमा बिभिन्न कार्यक्रम, २०७२ सालको भूकम्पबाट पाठ सिक्न आग्रह

 

मानवीय कमजोरीका कारण प्राकृतिक विपद्बाट जनधनको क्षति हुने गरेको भन्दै गोरखाका सरोकारवालाहरुले २०७२ सालको भूकम्पबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा विहिबार सदरमुकाममा सम्पन्न कार्यक्रमका वक्ताहरुले विपद्पूर्वको तयारीमा पर्याप्त ध्यान नदिँदा गोरखा भूकम्पमा जनधनको बढी क्षति भएको बताएका हुन् । साथै विपद्का बेला के कुरामा सावधानी अपनाउने भन्नेबारे नागरिकलाई पर्याप्त जानकारी नहुँदा पनि थप क्षति हुने गरेको कार्यक्रमका सहभागीहरुको भनाई छ ।

जिल्ला विपद् ब्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै धार्चे गाउँपालिकाकी उपाध्यक्ष फूलमाया गुरुङले विपद्पूर्वको तयारीका कार्यक्रममा लगानी बढाउनु पर्ने बताईन् । आफ्नो गाउँपालिकाले विपद्पूर्वको तयारी सम्बनधी योजना तयार पारिसकेको भन्दै उनले अन्य स्थानीय तहले पनि विपद् जोखिम न्यूनीकरणको काममा ध्यान दिन आग्रह गरिन् ।

प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक देवेन्द्र लामिछानेले विपद्लाई रोक्न नसके पनि पूर्व तयारीमा ध्यान दिए जोखिमलाई कम गर्न सकिने बताए । जिमालीका प्रमुख रामशरण आचार्यले भौतिक संरचना निर्माणमा ध्यान दिन सके पनि विपद्को जोखिम कम गर्न सकिने जानकारी दिए ।

पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले विपद्पूर्वको तयारी, विपद्को अवस्था र विपद्पछिको राहत र उद्धारको काममा सञ्चारमाध्यमसँग सहकार्य गर्न आग्रह गरे । कार्यक्रममा सशस्त्र प्रहरी वलको कुरिनटारस्थित विपद् ब्यवस्थापन तालिम केन्द्रका प्रहरी निरिक्षक ईश्वर अधिकारीले भूकम्प, आगलागी, बाढी पहिरो जस्ता विपद्को बेला अपनाउनु पर्ने सावधानी, पूर्व तयारी लगायतका विषयमा जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्