
मानव सेवा आश्रममा एक बर्षमा जुट्यो साढे २६ लाख
अनाथ बालबालिकाको लालनपालन र शिक्षादिक्षाका लागि गतबर्ष मानव सेवा आश्रम गोरखाले गत आर्थिक बर्ष साढे २६ लाख रुपैयाँ सहयोग प्राप्त गरेको छ । आश्रममा बिहिबार आयोजित आयव्याय सार्वजनिक तथा विजया दशमी तथा दीपावलीको शुभकामना आदानप्रदान कार्यक्रम मा शाखाले आश्रम ब्यबस्थापनका लागि आश्रमको एक बर्षभरि २९ लाख ७४ हजार एक सय २५ रुपैयाँ खर्च भएको आश्रमकी ब्यबस्थापक मुना लामाले बताईन् ।
प्राप्त आम्दानीमध्य आश्रम व्यवस्थापनका लागि १२ लाख ९७ हजार चार सय १५ रुपैयाँ, मासिक सहयोगीबाट चार लाख ४९ हजार, बालबालिकाको शिक्षाका लागि एक लाख तीन हजार रुपैयाँ सहयोग प्राप्त गरेको जानकारी दिएको हो । दानपेटिकाबाट पाँच हजार सातसय ५५ रुपैयाँ संकलन भएको र गोरखा नगरपालिकाले सात लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको कार्यक्रममा जानकारी दिइएको थियो । सात लाख ३३ हजार तीन सय ३२ रुपैयाँ घरभाडामा खर्च भएको आश्रमले जनाएको छ । खर्चमध्ये एक लाख ७० हजार दुई सय ४४ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको लामाले बताइन् ।
आश्रममा हालस्कुल जाने उमेरका ३१ र स्कुल जान नसक्ने १० जना गरी ४१ जनाले आश्रय लिईरहेका छन् । आश्रमका अभिभावक शितलकाजी मास्केको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाकी उपमेयर बिनाकुमारी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने, जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रकाश अधिकारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।




