| आइतवार, कार्तिक २९, २०८३

पन्द्रुङका बासिन्दालाई घरघरै धारा

बारपाक सुलिकोट गाउँपालिका वडा नं ८ को पन्द्रुङका बासिन्दाले घरैपिच्छे खानेपानीको सुविधा पाएका छन् ।

गाउँमा रीठ्ठेपानी खानेपानी आयोजना सम्पन्न भएपछि पन्द्रुङका ७० घरमा घरैपिच्छे खानेपानीको सुविधा भएको हो ।

बारपाक सुलीकोट गाउँ कार्यपालिका र स्वाँरा सघन गाउँ विकास केन्द्रको आर्थिक सहयोगमा निर्माण भएको आयोजनाको प्रतिनिधि सभाका सांसद चुडामणि खड्काले शनिबार उद्घाटन गरे ।

उपभोक्ता समिति मार्फत आयोजना निर्माण गरिएको हो । रीठेपानी मुहानबाट ट्यांकीमा पानी संक्लन गरि पाईप मार्फत करीब ६ सय मिटरको दुरीमा रहेको वस्तीमा घरैपिच्छे धारा जडान गरेर पानी वितरण गरिएको छ ।

घरमै पानी आएसँगै खानेपानी खोज्दै कुँवा तथा परको धारामा जानुपर्ने बाध्यता हटेको स्थानीय बासीन्दाले बताएका छन् । खानेपानी आयोजनामा बारपाक सुलिकोट गाउँपालिकाबाट ५ लाख र स्वाँरा सघन गाउँविकास केन्द्रबाट दश लाख रुपैयाँ प्राप्त भएको उपभोक्ता समितिले जनाएको छ ।

बराम समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा खानेपानी वितरणलाई ब्यबस्थित बनाउन हेरालु राखेर नियमित रुपमा मर्मत सम्भार गर्ने र पानी सञ्चालन गर्ने ब्यबस्था मिलाईएको छ । उपभोक्ताले प्रयोग गरे अनुसार पानीको शुल्क बुझाउनुपर्ने नियम सहित हरेक घरमा पानीको मिटर जडान गरिएको समितिले जनाएको छ ।

उपभोक्ता समिति अध्यक्ष सोमप्रसाद पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी सांसद खड्का, गाउँपालिका अध्यक्ष विष्णु भट्ट, उपाध्यक्ष सनमाया गुरुङ, वडाअध्यक्ष कृष्णबहादुर गुरुङ, स्थानीय शिक्षक मदन अम्गाई लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा तिजको अबसरमा सांस्कृतिक कार्यक्रम पनि भएको थियो । सो क्रममा लोक तथा दोहोरी कलाकार हरीराम परियार र बेलीमाया गोर्खालीले गीत प्रस्तुत गरेका वडा नं ७ का अध्यक्ष कृष्ण गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्