
गोरखा नगरपालिकाको विकास निर्माणका योजना नागरिक समाजले अनुगमन गर्ने
गोरखा नगरपालिकाले संचालन गर्ने विकास निर्माणका योजनाहरुमा नागरिक समाज सहितको टोलीले अनुगमन गर्ने भएको छ ।
गोरखा नगरपालिका अन्तरगत रहेको साझेदारी मञ्चको बैठकमा नगरपालिकाले संचालन गर्ने कार्यक्रम, योजनाहरुलाई पारदर्शी र प्रभावकारी बनाउन नागरिक समाज, संचारकर्मी सहित जनप्रतिनिधि, नगरपालिकाका प्राविधिक सहितका कर्मचारीले संयुक्त अनुगमन गर्ने निर्णय भएको हो । त्यस्तै बैठकले विकास निर्माणका काम संचालन भएका स्थानमा होर्डिङ बोर्ड राख्न आवश्यक बजेटको ब्यवस्था समेत नगरपालिकाको कार्यालयले गर्ने निर्णय गरेको छ । ‘होर्डिङ बोर्डमा योजना संचालन गर्ने निकाय, बजेट, योजना संचालन भएको मिति, सक्नुपर्ने मिति, स्थानीय जिम्मेवार निकाय लगायतका बिषय समेटिने छन् ।
बैठकले साझेदारी मञ्च सञ्चालन निर्देशिका निर्माण गर्न ३ सदस्यिय समिति गठन गरेको छ । समितिमा नागरिक समाजका तर्फबाट नागरिक साझा सवाल गोरखाका संयोजक एवं अधिवक्ता स्थानेश्वर दुवाडी, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ, २ नम्बर वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रहमतुल्ला मियाँ छन् । नगरपप्रमुख एवं साझेदारी मञ्चका संयोजक राजनराज पन्तको अध्यक्षतामा बैठक भएको हो ।




