| आइतवार, कार्तिक २९, २०८३

अविरल वर्षाको कारण २८ जनाको मृत्यु, ६४ जनाको सकुशल उद्धार, प्रभावित स्थानहरुमा २७,८३० प्रहरी कर्मचारी परिचालित 

 

अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी शनिबार दिउँसोसम्म २८ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी ६४ जनाको सकुशल उद्दार गरिएको छ । बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको छ ।

बाढी पहिरोमा परी काठमाडौं, खोटाङ, ललितपुर र काभ्रेमा ३/३ जना, भोजपुर, मकवानपुर, धादिङ र सिन्धुलीमा २/२ जना तथा ओखलढुंगा, पर्सा, रामेछाप, ईलाम, झापा, सुनसरी, बारा र चितवनमा १/१ जना गरी २८ जनाको ज्यान गएको हो ।

साथै मकवानपुरमा ३ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १/१ जना गरी ११ जना घाइते भएका हुन् । सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा १/१ जना गरी १६ जना वेपत्ता भएका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु सहित काठमाण्डौ उपत्यकामा ८८५६ जना, प्रदेश नं १ मा ६३०५ जना, प्रदेश नं २ मा ५७०२ जना, प्रदेश नं ३ मा ३४०५ जना , प्रदेश नं ६ मा ३११२ जना गरि प्रभावित स्थानहरुमा २७,३८० प्रहरी कर्मचारीहरु उद्धारमा संलग्न रहेका छन ।

विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ । यसै गरि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल समेत अवरोध हटाई हिजो साँझ ७ बजे बाट सुचारु गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्