| आइतवार, कार्तिक २९, २०८३

सबैलाई पायक पर्ने ठाउँमा वडा कार्यालय राख्न माग्दै आन्दोलन

पालुङटार नगरपालीका वडा नम्वर २ को कार्यालय सबैलाई पायक पर्ने स्थानमा स्थापना गर्न माग गर्दै स्थानीयले मेयर दिपकबाबु कडेंललाई ज्ञापन पत्र बुझाएका छन् ।
साविकको खोप्लाङ गाविस वडा नं १, २ र ३ र आसपासका बासीन्दा ले हाल आपँपिपलमा रहेको वडा कार्यालय पायक नपर्ने भन्दै नगरपालिकामा ज्ञापन पत्र बुझाएका हुन् । स्थानिय बासीन्दा को हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएको वडाको केन्द्र परिवर्तनका लागि दवाव दिन गठन भएको संघर्ष समितिका संयोजक महेन्द्रप्रसाद तिमिल्सीनाले जान कारी दिए । वडा कार्यालय अपायक हुँदा राजस्व, सरकारी दस्तुर, कर बुझाउन र सरकारी सेवा लिन बञ्चित हुनुपर्ने अबस्था आएको संघर्ष समितिका सह सचिव सुर्यप्रसाद न्यौपानेले बताए । वडा कार्यालय पुग्न पाउरोटी भण्डार, ढलेको बर्को, शिवलिङ्ग डाडाँ, बर्सरे, सुन्तले, लगायत ठाऊँका बासिन्दा लाई कम्तिमा ४ घण्टा हिँड्नु पर्ने वाध्यता छ । पहिलेको गाविस कार्यालय नजिक भएपनि अहिले वडा कार्यालय झन् टाढा भएको स्थानीयले गुनासो गरेका छन् । वडा कार्यालय अपायक भएपछि चापाभन्ज्याङबाट हप्ताको दुई दिन घुम्ती कार्यालय सञ्चालन हुँदै आएको थियो । तर पालुङटार नगरपालिकाले केहि महिना अघिदेखि अनलाईन सिस्टमबाट सेवा उपलब्ध गराउन थालेपछि चापा भन्ज्याङमा प्राविधिक कठिनाईका कारण घुम्ती कार्यालय सञ्चालन हुन सकेको छैन । साविक खोप्लाङ गाविसको १, २, ३ र साविक आप पीपपल गाविसको ४ देखि ९ सम्म का वडा मिलाएर पालुङटार नगरपालीकाको हालको वडा नम्वर २ बनाइएको हो । तर भौगोलिक कठिनाईका कारण सेवा प्रवाहमा असहजता भएपछि स्थानीय बासिन्दाले सीमा हेरफेर गर्न आग्रह गर्दै आएका छन् । साविकको खोप्लाङ गाविसको १, २ र ३ नम्वर वडा तथा पायक पर्ने आसपासका वस्ती मिसाएर छुट्टै वडा बनाइनुपर्ने स्थानीयको माग छ । ज्ञापनपत्र बुझ्दै मेयर कडेलले स्थानीयलाई सहज र सरल रुपमा सेवा लिने ब्यबस्था मिलाउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्