
बारपाक सुलीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु
बारपाक सुलिकोट गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।
गाउँपालिकामा आयोजित कार्यक्रम मा गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले कार्यक्रमको शुभारम्भ गरे । बेरोजगार नागरिकलाई वर्षमा कम्तीमा सय दिन रोजगारी दिने प्रयास स्वरुप सुरु भएको कार्यक्रम अन्तरगत चालु आर्थिक बर्ष एक सय ३१ जनाले २० दिन रोजगारी पाउनेछन् । उनीहरुले प्रतिदिन ७ सय रुपैयाँ ज्याला पाउनेछन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन ल्याएको यो कार्यक्रममा सहभागी हुन गाउँ पालिकामा १५ सय १३ जनाले आवेदन दिएका थिए । तर उनीहरुको इच्छाका साथै विभिन्न आधारमा एक सय ३१ जना छनौट भएका गाउँपालिकाकी रोजगार संयोजक पार्वती पाठकले बताईन् ।

कार्यक्रम अन्तरगत गाउँपालिका को वडा नं १ र २ बाहेक सबै वडामा विभिन्न योजना सञ्चालन हुनेछन् । ‘वडा नं १ र २ बाट तोकिएको समयमा योजना आएन’ रोजगार संयोजक पाठकले भनिन् ‘वडा नं ४ मा सार्वजनिक शौचालय निर्माण र वडा नं ६ मा पहिरो नियन्त्रणको योजना छ । अरु वडामा गोरेटो बाटो निर्माणको योजना छ ।’




