| आइतवार, कार्तिक २९, २०८३

विकास निर्माणका कामलाई गति दिन पहल गर्ने प्रजिअ लामिछानेको प्रतिबद्धता

 

गोरखाका प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले विकास निर्माणका कामलाई गति दिन पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट सरुवा भई आइतबार गोरखा आएका प्रमुख जिल्ला अधिकारी लामिछानेले जिल्लाका पत्रकारहरुसँग भेटघाट गर्दै रोकिएका विकास निर्माणका कामलाई गति दिन पहल गर्ने बताएका हुन् ।

‘बूढीगण्डकी आयोजनाको मुआब्जा तथा गुनासो, बारपाक सडक, मध्यपहाडी सडक, गोरखा दरबार लगायतका विषयमा मेरो ध्यानाकर्षण भएको छ’, उनले भने, ‘रोकिएका कामलाई गति दिन मेरो तर्फबाट के भूमिका निर्बाह गर्नुपर्छ, त्यो म गर्नेछु ।’ सेवाग्राहीले राजस्व बुझाउने क्रममा परेका असजिलोलाई सम्बोधन गर्ने उनको भनाई छ । हाल प्रशासनमा सेवा लिन जानेले बैंकमा राजस्व बुझाएको भौचर पेश गरेपछि मात्रै सेवा प्राप्तिको थप प्रक्रिया अघि बढ्नेछ । जस कारण सेवाग्राहीले राजस्व बुझाउनका लागि कार्यालयमा नै बैंकिङ सुविधाको माग गर्दै आएका छन् । कार्यक्रममा सहभागी पत्रकारले जिल्लाका विकास निर्माण, शान्ति सुरक्षा र सुशासनमा ध्यान दिन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्