
गोरखनाथ र गोरखकालीमा जलाभिषेक गर्दै राप्रपाको स्वाभिमान यात्रा समापन गरिने
राष्ट्रिय प्रजातन्त्र पार्टीले मुक्तिनाथबाट सुरु गरेको राष्ट्रिय स्वाभिमान यात्राको गोरखामा समापन गरिने भएको छ ।
जेठ २४ गते मुस्ताङको मुक्तिनाथबाट सुरु भएको यात्रा आगामी सोमबार गोरखामा समापन गरिने भएको हो । गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले स्वाभिमान यात्रा समापनको सम्पुर्ण तयारी सकिएको जानकारी दिए ।
पार्टीका अध्यक्ष कमल थापा नेतृत्वको यात्राको टोली सोमबार कास्कीबाट लमजुङ हुदै दिउँसो २ बजे गोरखा आइपुग्ने उनले जानकारी दिए । सोही क्रममा पूरानो बसपार्कमा आमसभा गर्ने राप्रपाले जनाएको छ । आमसभामा अध्यक्ष थापा सहित, नेताहरु बुद्धिमान तामाङ, राजेन्द्र लिङदेन र दिपक बोहराले सम्बोधन गर्नेछन् ।
आमसभा पछि गोरखनाथ र गोरखकाली मन्दिरमा विभिन्न तिर्थस्थलको जल चढाएर यात्रा समापन गर्ने पार्टीका प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए । ‘हामीले मुक्तिनाथ, कालिगण्डकी, बुढि गण्डकी लगायतका पवित्र धार्मिक स्थलको जलको कलश यात्रा गर्छौ’ उनले भने ‘त्यहि जल गोरखकाली र गोरखनाथमा जलाभिषेक गरेर यात्रा समापन गर्नेर्छौ ।’ श्रेष्ठका अनुसार पूर्वराजा सहितको सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे राष्ट्रिय जनमतसङ्ग्रह ,हिन्दू राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, २०४६ साल पछिका प्रशासनिक तथा राजनितिक नेतृत्वको सम्पती छानविन लगायत का विभिन्न माग गर्दै राप्रपाले स्वाभिमान यात्रा गरेको हो ।




