| आइतवार, कार्तिक २९, २०८३

बूढिगण्डकी प्रभावितको समस्यामा खेलवाड नगर्न धादिङ कांग्रेसको आग्रह

नेपाली कांग्रेस धादिङले बूढिगण्डकी प्रभावित वासिन्दाको समस्या र भावनामा खेलवाड नगर्न सरकारसंग आग्रह गरेको छ । सोमबार बसेको नेपाली कांग्रेस धादिङको बैठकले राष्टिूय गौरवको जलाशययुक्त बूढिगण्डकी जलविद्युत परियोजनाको बारेका सरकारको ध्यानाकर्षण गराएको हो । बैठकपछि नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा मुख्य ३ विषयलाई उठाईएको छ । विज्ञप्तिमा आरुघाट, त्रिपुरेश्वर खहरे र आरखेत क्षेत्रमा रहेका घरजग्गा र बोटबिरुवाको मुआब्जा तत्काल निर्धारण गर्न र प्रभावित स्थानीय वासिन्दाको समस्या र भावनामा खेलवाड नगर्न सरकारसंग आग्रह गरेको छ ।

त्यसै गरी परियोजनाबाट डुबान क्षेत्रमा पर्ने स्थानीय वासिन्दालाई न्यायपूर्ण पुनर्वासको व्यवस्था तत्काल सुरु गर्न पनि सरकासँग आग्रह गरेको छ । यता आयोजनाको क्षमता घटाउने बिषय उठीरहेको बेला परियोजनाको उत्पादन लक्ष्य १२०० मेघावाटबाट नघटाउन पनि विज्ञप्ति मार्फत नेपाली कांग्रेस धादिङले सरकारसँग माग गरेको छ । उल्लेखित सवालहरुको न्यायोचित समाधान नगरे नेपाली कांग्रेस धादिङ कडा आन्दोलमा उत्रन बाध्य हुने समेत विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्