
गोरखा नगरपालिकाद्वारा ज्येष्ठ नागरिक सम्मान, भीमसेन थापा गाउँपालिकाद्वारा ज्येष्ठ नागरिकलाई तीर्थ
गोरखा नगरपालिका वडा नं. ९ ले वडाभित्रका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शुक्रबार एक समारोहको आयोजना गरी ज्येष्ठ नागरिक, एकल महिला, ज्येष्ठ दलित, अपांग, महिला स्वयंसेविकालाई दोसल्ला ओढाएर तथा पोषिलो खानेकुरा दिएर सम्मान गरेको हो ।
वडा अध्यक्ष कुलबहादुर कुँबरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका मेयर राजनराज पन्त, उपमेयर विनाकुमारी श्रेष्ठ र वडा अध्यक्ष कुँबरले दोसल्ला ओढाएर तथा पोषिलो खानेकुरा दिएर सम्मान गरेका हुन् । वडाभित्रका दुईसय ९० जनालाई सम्मान गरेको अध्यक्ष कुँबरले जानकारी दिए ।
ज्येष्ठ नागरिकको सम्मानका लागि भीमसेन गाउँपालिकाले धार्मिक भ्रमण गराएको छ । वडा नं. २ तान्द्राङका करिब एकसय जनालाई प्रसिद्ध धार्मिकस्थल मनकामना दर्शन गराइएको गाउँपालिकाका प्रमुख इश्वर पाण्डेले जानकारी दिए ।
यसअघि वडा नं. ६ अश्राङका, वडा नं. १ तान्द्राङका र वडा नं. ५ बगुवाका ज्येष्ठ नागरिकलाई पोखराका धार्मिक स्थल तथा मनकामनाको दर्शन गराइएको उनले बताए । वडा नं. ८ का ज्येष्ठ नागरिकलाई पनि शनिबार मनकामना लैजाने तयारी रहेको उनले बताए ।




