
शहीद लखनको १६४ जनालाई शिविरबाट नागरिकता
जिल्ला प्रशासन कार्यालय गोरखाले शहिद लखन गाउँपालिकामा सञ्चालन गरेको घुम्ती शिविरमा एक सय ६४ जनालाई नागरिकता वितरण गरेको छ । वडा नं ६ घैरुङ र वडा नं ३ मनकामनामा शुक्रबार र शनिवार भएको शिविरमा सो संख्यामा बंशजको आधारमा नयाँ नागरिकता वितरण गरिएको कार्यालयका खरिदार रवीलाल सुवेदीले बताए । घैरुङमा ३७ महिला र १८ पुरुषलाई नयाँ नागरिकता दिईएको छ । यस्तै, मनकामनामा ७५ महिला र ३४ पुरुषलाई नागरीकता उपलब्ध गराएको उनको भनाई छ । सोही शिविरमा अपाङ्गगता भएका सातजनालाई पनि नागरिकता वितरण गरिएको छ । शिविरमा आउन नसक्नेहरुलाई उनिहरुको घरमै पुगेर नागरिकता दिईएको खरिदार सुवेदीले बताए । सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल सहित ६ जना कर्मचारीको समुहले घुम्ती शिविरमा सेवा दिएका हुन् ।
सोही अबसरमा जिल्ला निर्वाचन कार्यालयले फोटो सहितको मतदाता नामावली पनि संकलन गरेको छ। घैरुङमा ७३ र मनकामनामा एक सय १६ जनाको फोटो सहितको मतदाता नामावली संकलन गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।




