
गण्डकी गाउँपालिका वडा नं ७ को वडा कार्यालय उद्घाटन
गोरखाको गण्डकी गाउँपालिका वडा नं ७ को वडा कार्यालय निर्माण भएको छ । ६२ लाख ५० हजार रुपैयाँको लागतमा नौ कोठे भवन निर्माण भएको हो । नवनिर्मित वडा कार्यालयको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गरे ।
वडा कार्यालय उद्घाटन गर्दै उनले सो क्षेत्रको विकास निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे । ‘तपाईहरुका अपेक्षा पुरा गर्नेछु’ उनले भने ‘ सिउरेनीटारबाट गण्डकी गाउँपालिका वडा नं ८, ७ ६ १ र २ हुँदै शहिद लखन जोड्ने बाटो , सिउरेनीटारबाट बुटार , मनकामनाको पुछारबाट अवुवा हुँदै पोखरा जाने बैकल्पिक हाईवे निर्माणका लागि बजेट हाल्न प्रधानमन्त्रीसँग सल्लाह गर्छु ।’
उनले धवादीघाट र ज्यामीरेघाटमा मोटरेवल पुल निर्माणका लागि पनि बजेट विनियोजन गर्ने बताए । आगामी आर्थिक बर्षको बजेटमा ति योजनाका लागि बजेट विनियोजन गर्ने उनले आश्वासन दिएका छन् । गाउँपालिकामा नै पहिल ोपटक वडा नं ७ ले वडा कार्यालय बनाएको हो ।
सो कार्यालय निर्माणमा स्थानियले १० लाख रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।
कार्यालय भवन बनेसँगै अब मासीक सात हजार रुपैयाँ भाडा तिर्नुपर्ने बाध्यता हटेको वडा अध्यक्ष तुलसी रेग्मीले बताए ।
कार्यक्रममा नेकपाका वरीष्ठ नेता नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, प्रतिनिधी सभाका सांसद हरी अधिकारी, गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना, वडा नं ८ का अध्यक्ष रामप्रसाद रेग्मीलगायतले मन्तब्य ब्यक्त गरेका थिए । सोही कार्यक्रममा नेकपा गण्डकी गाउँपालिकाले शहिद तथा वेपत्ता परीवारलाई सम्मान गरेको छ । जनयुद्धका १७ सहिद र एक बेपत्ताका परिवारलाई सम्मान गरिएको नेकपाका गण्डकी प्रदेश सदस्य दिपक तिमिल्सीनाले जानकारी दिए ।




