
जेन–जीसंग पुस्तान्तरण हुन नसके डाइनोसरको नियति अवश्यम्भावी
शिव उप्रेती ।
जेन–जी एक विश्वव्यापी शव्दहो । यसले खास कालखण्डमा जन्मेका युवावर्गलाई जनाउँछ । नेपाली शव्दमा यिनलाई नवयुवा पनि भन्न सकिन्छ । उमेर समूहका हिसावले सन् १९९७ देखि २०१२ को कालखण्डमा जन्मेका अर्थात आजको सन्दर्भमा भन्नुपर्दा १३–१४ बर्षको उमेरदेखि २८ बर्षको उमेर समूहमा पर्ने युवावर्गलाई जेन–जी भनेर चिनिन्छ । तर यो परिभाषा हाल बुझ्नका लागि मात्र हो । खासमा जेनेरेशन जी भनेको इन्टरनेटमा अभ्यस्त, इन्टरनेटमा आधारित, इन्टरनेटमा लीन, तल्लीन पुस्ता भनेर चिनिन्छ । यस पुस्तालाई डिजिटल नेटिभ पनि भनिन्छ किनभने उनीहरू आफ्नो जीवनको सुरुवातदेखि नै इन्टरनेट, स्मार्टफोन र सामाजिक सञ्जाल जस्ता प्रविधिमा खेल्दै हुर्किए ।
उनीहरुभन्दा अघि अर्थात सन् १९६४ देखि १९८० सम्मका पुस्तालाई एक्स र १९८० देखि १९९६ कालखण्डमा जन्मेका पुस्तालाई वाई जेनेरेशन भनिन्छ । उनीहरुभन्दा पछि अर्थात २०१६ देखि २०२५ को कालखण्डका पुस्तालाई जेन–ए(अल्फा) भनिन्छ ।
अहिले नेपालमा जेन–जी भाष्य धेरै चल्यो । दशकौंदेखि जकडिएर रहेको नेपाली राजनीतिलाई उथलपुथल गराएर नाम कमाए । राष्ट्रपति, सेनापति, प्रधानमन्त्रीलाई पनि चुट्कीको भरमा फाल्दिन्छौँ भनेर बदनाम कमाएका छन् । खासमा विश्वव्यापी जेन–जीको परिचय यही हो त ? जेन–जीका विशेषता के के हुन् ? उनीहरुको चाहना के कस्तो हुन्छ भनेर यहाँ आधारभूत चिनारी गराउने प्रयत्न गरिएको छ ।
अहिलेका जेन–जी सर्वकालीक शक्तिशाली होइनन्, सर्वकालीक सर्वमान्य पनि हुन सक्दैनन् । नयाँ पुस्ताको आगमनपछि उनीहरु पनि अहिलेका एक्स, वाई जेनेरेशनझैँ पुराना पुस्ता सावित हुँदै थन्किँदै जानेछन् । जेन–जीहरू नयाँप्रविधिहरूसँग छिटो घुलमिल हुन्छन् र यसको उपयोग विभिन्न क्षेत्रमा गर्न सक्छन् । त्यस्तै उनीहरूले सामाजिक, राजनीतिक र वातावरणीय मुद्दाहरूमा चासो राख्छन् र यस विषयमा आफ्नो विचार खुलेर राख्छन् । जेन–जीले विभिन्न संस्कृति, लिंग, र विचारलाई सजिलै स्वीकार गर्छन् । बाउबाजेको बिरासतका रुपमा रहेको परम्परागत पेशा, व्यवसाय वा बाउबाजेले अपनाउँदै आएका जागिरभन्दा उनीहरू आफ्नै काम वा व्यवसाय सुरु गर्न रुचाउँछन् ।
स्मार्टफोन र सामाजिक सञ्जालको अत्याधिक प्रयोगले गर्दा उनीहरूको ध्यान अवधि, धैर्यता छोटो भएको मानिन्छ । यसैले, छोटो र द्रुत जानकारी (जस्तैः टिकटक, रिल्स, सर्ट भिडियो) उनीहरूलाई बढी मन पर्छ । उनीहरू केवल पैसा कमाउनका लागिमात्र काम गर्न चाहँदैनन् । उनीहरू आफ्नो कामबाट समाजमा केही सकारात्मक प्रभाव पार्न सकियोस् भन्ने चाहन्छन् । उनीहरू अफिसको कडा नियम र समय सीमाभित्र बाँधिनुभन्दा काम गर्नका लागि स्वेच्छिक समय र स्थान (रिमोट वर्क) चाहन्छन् ।
उनीहरू आत्मसम्मानका भोका हुन्छन् । आफ्नो आम्दानी भावी सन्तानका लागि भनेर सञ्चित गर्ने सोच उनीहरुमा हुदैन । बाउबाजेबाट प्राप्त धन सम्पत्तिमा आशा र आस्था हुदैन । थोरै भएपनि आफ्नो कमाइमा निर्भर रहन चाहन्छन् त्यसैले यो पुस्तामा भ्रष्टाचारको सम्भावना कम देखिन्छ । आफूलाई कसैको छोरा छोरी वा नातिनातिनी भनेर चिनिनु भन्दा पनि व्यक्तिगत रूपमा चिनाउन चाहन्छन् । उनीहरू विभिन्न सामाजिक र सांस्कृतिक पृष्ठभूमिबाट आएका मानिसहरूलाई महत्व दिन रुचाउँछन् । आत्मसम्मानमा जोड दिन्छन् ।
उनीहरू दिलबाट कम, दिमागबाट बढि चल्छन् । भावनाभन्दा तथ्यमा निर्भर हुन्छन् । अथवा दायाँभन्दा बायाँ दिमागको बढि प्रयोग गर्छन् । पुराना पुस्ताले प्रविधिलाई पछिल्लो समयमा जबर्जस्त अपनाएका हुन् । उनीहरूले टेलिभिजन, रेडियो वा अखबार जस्ता पारम्परिक माध्यममा अभ्यस्त छन् । जबकि नवयुवाले स्मार्ट फोन खेलाएरै हुर्केका हुन् । पुराना पुस्ता स्थायी जागिर, पेन्सनको आशा अपेक्षामा हुन्छन् तर नवयुवा पुस्ता काममा लचिलोपन खोज्छन् । केवल पैसाको लागिमात्र नभई काम सामाजिक प्रतिष्ठा र जीवन निर्वाहका लागि हो भन्ने ठान्छन् ।
जेन–जी पुस्ताका युवाहरू जवाफदेहिता, पारदर्शिता, सामाजिक न्याय, लैंगिक समानता र विविधता जस्ता विषयमा धेरै सचेत छन् । उनीहरू आफ्नो विचार खुलेर राख्छन् । तर पुराना पुस्ताको सोचाइ प्रायःआदर्शवादी, परम्परागत मूल्य र मान्यतामा आधारित हुन्छन् । उनीहरू राजनीतिक र सामाजिक मुद्दाहरूमा कम बोल्न रुचाउँछन् । जेन–जीलाई विचारोत्तेजक लामा लेख, विचार, विश्लेषण भन्दा पनि छिटो र सानो–सानो जानकारीमुलक कन्टेण्ट मन पर्छ । टिकटक, इन्स्टाग्राम र युट्युबका सर्ट्स, फेसबुकका स्टोरी जस्ता प्लेटफर्महरूमा उपलब्ध छोटो भिडियोहरू उनीहरू माझ धेरै लोकप्रिय छन् ।
उनीहरूले केवल हेर्न वा पढ्न मात्र चाहँदैनन्, बरु टिप्पणी, लाइक, सेयर वा लाइभ च्याट मार्फत सीधा अन्तरक्रिया गर्न चाहन्छन् । जेन–जीले पूर्णता वा बनावटीपन भन्दा प्रामाणिकतालाई बढी महत्व दिन्छन् । उनीहरूले ‘रियल’ र ’फिल्टर नगरिएका’ सामग्री मन पराउँछन् । लेखिएकाभन्दा उनीहरूलाई भिडियो, पोडकास्ट र लाइभ स्ट्रिमिङ जस्ता भिजुअल र अडियो सामग्री बढी मन पर्छ । उनीहरू आफ्नो रुचि र प्राथमिकताअनुसार सिफारिस गरिएका सामग्री मन पराउँछन् । एल्गोरिदमले उनीहरूको रुचिको विषयअनुसार सामग्री प्रस्तुत गर्ने भएकाले उनीहरूले यसलाई महत्व दिन्छन् ।
त्यसैले अहिले फरक पुस्ता बीच पुस्तान्तरणको समस्या छ । एक्स र वाई जेनेरेशन बीच खासै धेरै भिन्नता छैन, जबकि एक्स, वाई र जेड बीच ठूलो अन्तर छ । पुराना पुस्ताले भनेका कुरामा नयाँ पुस्ताले न आस्था राख्छन्, न विश्वास गर्छन् । पुराना पुस्ता हावी भएका परम्परागत मिडिया नयाँ पुस्ताले न पढ्छन्, न हेर्छन्, न सुन्छन् । पुराना पुस्ताले पढेर ‘ब्रिफ’ गर्दा उनीहरुले विश्वास पनि गर्दैनन्, अर्थात सुन्न रुचाउँदैनन् । उनीहरुले सुन्ने, हेर्ने, पढ्ने अर्कै प्लेटफर्म हुन्छ ।
नयाँ पुस्ताले पुराना पुस्ता(आफ्नै बाबा, आमा)का कुरामा पनि आस्था राख्दैनन् । अग्रपुस्ताका अर्ती, उपदेश, सल्लाह, सुझाव पनि ग्रहण गर्दैनन् । सम्बन्धमा कटुता नआओस् भनेर इमान्दारपूर्व सुन्छन्, र हल्काफुल्का रुपमा उँडाइदिन्छन् । उनीहरुले प्रविधि हेर्छन्, प्रविधि सुन्छन्, प्रविधि विश्वास गर्छन् । न्यूरोडमा के भइरहेको छ भन्दा न्यूयोर्कमा के भइरहेको भन्नेमा उनीहरु जानकार हुन्छन् । इतिहासमा भन्दा वर्तमानमा बढ्ता लगाव हुन्छ । आदर्श, नैतिकता, संस्कृति भन्दा प्रविधिको उच्चत्तर विकासमा उनीहरुको जोड हुन्छ । भौतिक विकास भन्दा प्रविधिको विकासमा रमाउँछन् । भूगोलमा कम विश्वास गर्छन्, अर्थात जन्मेपछि ग्लोवल सिटिजन हौँ भन्ने मान्यता उनीहरुमा हुन्छ ।
त्यसैले जेन–जी भनिने नयाँ पुस्ता र पुराना पुस्ता बीच ठूलो दरार छ । नयाँ पुस्ताले पुराना पुस्तालाई ग्रहण नगरेपछि पुराना पुस्ता जबर्जस्त नयाँ पुस्ताकरण हुनु जरुरी छ । नयाँ पुस्ताकरण हुन नसके पछाडि पर्ने निश्चित छ । नयाँ पुस्ताले हाँकेको विश्वमा गति मिलाउन नसके पनि नयाँ पुस्तासंग घिसारिनु पर्ने वाध्यता छ । राजनीतिक पार्टीहरुको पनि अव पुस्तान्तरण जरुरी छ, रुपान्तरण जरुरी छ । जुन पार्टीले रुपान्तरण, पुस्तान्तरणलाई नजरअन्दाज गर्छन्, उनीहरु पछाडि पर्ने निश्चित छ । नयाँ पुस्तालाई अघि सारेर, नयाँ पुस्ताको मागअनुसार, नयाँ पुस्ताको साथमा अघि बढ्नु अहिलेको माग हो । यदि रुपान्तरण, पुस्तान्तरणको महत्व नबुझेर अघि बढ्ने हो भने डाइनोसरको नियति भोग्नुपर्ने छ ।




