| आइतवार, जेष्ठ १६, २०८३

म, महिला, पत्रकार

मेलिना बराम ।
म, महिला, पत्रकार झट्ट सुन्दा एकै वाक्य जस्तो सुनिन्छ । तर, यी तीनै शव्दको अर्थ भने फरक र व्यापक छ । म एक मध्यम वर्गमा जन्मिएकी परिवारकी माइलो सन्तान हुँ । साथै आदिवासी जनजाति समुदायको सीमान्ताकृत बराम समुदायकी छोरी । म संयुक्त परिवारमा जन्मेहुर्किएकी सन्तान हुँ । मेरो हुजुरबा–आमाको चार छोरा हुनुहुन्छ । उहाँहरुमध्य मेरो बाबाचाँहि कान्छो ।

चार भाईको पन्ध्र छोराछोरी । जसमा पाँच दाजुभाई र १० दिदीबहिनी रहेका छौं । मचाँहि मेरो खलकको कान्छी छोरी । म सानैदेखि साह्रै घमण्डी स्वभावकी थिएँ भन्नु हुन्छ मेरा बा–आमा । अहिले पनि उस्तै छु अर्थात, मेरो स्वभाव आज पनि घमण्डी नै छ । तर, मैले कहिले पनि घमण्ड भने गर्न जानिन । घमण्ड गर्नु मेरो परिवारको संस्कार थिएन । म घमण्डी भएकै कारण मेरो बाबाले जिस्काएर बोलाउनी नाम पनि नपाकेको गलमटे (बुझ्ने भाषमा पिँडालु) राखिदिनु भएको थियो रे । पिँडालु त्यहीँमाथि नपाकेको कस्तो हुन्छ यो त सबैलाई थाहा भएकै कुरा हो । अहिले पनि मलाई बेला बेला मेरो बाबाले यहीँ नामले बोलाउनु हुन्छ ।

मेरो घमण्ड कै कारण आज म पत्रकार बनेकी छु । भनिन्छ नी घमण्डले कि त सपार्छ, कि त सकाउँछ । मेरो पढाई सानैदेखि राम्रो नै थियो । विद्यालयको अतिरिक्त क्रियाकलापमा पनि अधिकांश सहभागी हुने गर्थेँ । विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमध्य मलाई सबैभन्दा मन पर्ने भनेको भाषण कला (वादविवाद र वक्तृत्वकला) थियो । मैले कक्षा ६ देखि भाषण कला प्रतियोगितामा सहभागिता जनाउन थालेँ । जब म १० वर्षकी मात्रै थिएँ, पहिलो पटक नै मैले प्रतियोगितामा सान्त्वना स्थान हाँसिल गरेँ । हुन त म बिजेताहरुको लिस्टको अन्तिममा थिएँ तर मेरो जीवनको त्यो नयाँ सुरुवात बनेको थियो । यन्त्रमानवले विश्वमा युगान्तकारी परिवर्तन नै गरेता पनि समाजले छोरी मान्छेलाई हेर्ने नजर केही भिन्न नै छ । त्यसकारण मैले त्यही दिनदेखि प्रण गरेकी म एक काबिल, अबल र साहसी छोरी बन्ने छु । छोरी हुनु कुनै अभिसाप वा धिक्कारको पात्र होइन गौरवको चिनारी बन्ने छु ।

यत्तिकैमा २०७२ साल बैशाख १२ गते महाभुकम्प गयो । त्यतिबेला भुकम्प भनेको पनि थाहा थिएन मलाई । पछि थाहा भएको हो । त्यो बेला इन्टरनेटको त्यति धेरै बिकास भई सकेको थिएन । टिभी रेडियो भने प्रायको घरमा थियो । स्मार्ट मोबाइल गाउँमा एक/ दुई जनाको घरमा थियो । जो चाहीँ बैदेशिक रोजगारीमा गएका हुन्थे । भुकम्पपछि घरमा बस्न मिल्ने अवस्था थिएन । गाउँ भरिका सबै एउटै त्रिपालमा केही हप्तासम्म बसेका थियौं । त्यतिबेला घरतिर भएको रेडियोमा समाचार सुनिन्थ्यो । फेरि भुकम्प आउने होकि, देशमा के के भयो, के कति क्षति भयो भनेर सबै एकै ठाउँमा बसेर बीचमा रेडियो राखेर समाचार सुनिन्थ्यो । अनि फलानो जिल्लामा यतिको मृत्यु भयो, उतिको मृत्यु भयो भनेर समाचारमा भनिन्थ्यो ।

भगवानको कृपा रह्यो हाम्रो गाउँमा चाँही घरहरु भत्किए तापनि ज्यान भने कसैको गएन । सबै सुरक्षित थियौं । घाइते पनि भएका थिएनन् । त्यतिबेला रेडियोमा सुनिने समाचारले मलाई पत्रकार बन्न प्रेरणा दिएको हो । समाचार सुन्दै गर्दा लाग्थ्यो कस्ता हुन्छन् होला यस्ता मान्छेहरु जसले यसरी देशविदेशको खबर हामीलाई यहाँ पनि दिइरहेको छ । म पनि यस्तै बन्न पाएँ कस्तो हुन्छ होला भन्ने लाग्यो । त्यो भन्दा अघि घरमा टिभी भए पनि समाचार हेरिन्थेन । के के सिरियल, कार्टुन हेर्ने गर्थैँ । त्यसपछि मेरो आकर्षण सामाचार सुन्नेतिर गयो ।

पढ्नको लागि भने गाउँमा पत्रिका पुग्दैन थियो । टिभीमा त देखिन्थ्यो मान्छेले समाचार पढेको तर रेडियो भने सुन्ने मात्रै । अनि मनमा छुट्टै कौतुहल्ता जाग्यो यो रेडियोमा बसेर मान्छेले कसरी समाचार भनिरहेको छ भन्ने । घरमा टिभी आउनुअघि तीन चार कक्षामा पढ्दा बाबाले रेडियो किन्नु भएको थियो । टिभी त गाउँमा बिजुली आएपछि मात्रै आएको हो । मलाई त्यति याद त छैन तर हामी ५–६ कक्षामा पढ्दा गाउँमा बिजुलीको पोल गाड्न आएको सम्झना छ ।

गाउँमा भनेको सुनिन्थ्यो अब त टुकी बाल्नु पर्दैन रे मट्टीतेल किन्नु पर्दैन रे । त्यो दिन हिजो जस्तो लाग्छ । अनि एक दिन शनिबारको दिन थियो, मैले घरमा कोही नभएको मौका पारेर रेडियो निकाले घर भन्दा एक किलोमिटर जति पर रहेको गाईको गोठमा लगेर फुटाले, फुकालफुकुल पारेर हेर केही छैन, झन अचम्ममा परेँ, कसरी बोल्छ त, मान्छेको आवाज कहाँबाट आउँछ त भन्ने लाग्यो । अब रेडियो फुटाली सकेँ, केही भेटिएन । घरमा थाहा पायो भनी गाली गर्छन् भन्ने सम्झिएँ । के के गरेर जोडेर फेरि घरमा जहाँबाट ल्याएको थियो त्यहीँ लगरे राखिदिएँ । साँझमा हजुरबुबाले रेडियो बजा त समाचार सुन्न प¥यो भन्नुहुँदा रेडियो त बज्दैन । थाहा पाउनु भयो भने मार्नुहुन्छ भन्ने डरले म त्यहीँ नजिक घुसेमन्टो लगाएर बसिराखेँ । कसैले केही भन्नुभएन अनि मन ढुक्क भएँ ।

तर, आज त्यसको १०/१२ बर्षपछि एआईको जमानामा छौं हामी । पत्रकार बन्ने मेरो सपनाचाहिँ थिएन, चाहाना भने थियो । मेरो सपना भनेको एउटै थियो जुन मेरो बाबाले मेरो लागि देख्नुभएको थियो लाहुरे बन्ने । विद्यालयमा हुने हरेक भाषण कला प्रतियोगिताले मलाई झनै त्यस क्षेत्रमा अबल बनाउदैँ लग्यो । एकपछि अर्के गर्दै म विद्यालयमा उत्कृष्ट वक्तृत्वकला प्रस्तुत गर्ने मध्यको एक बनेँ । त्यसपछि मलाई अन्तर विद्यालय प्रतियोगितामा पनि विद्यालयले पठाउन थाल्यो । हरेक पटक म शिक्षकहरुको विश्वासमा खरो बनेर उत्रिन्थेँ । आफुसाथै विद्यालयलाई पनि जित दिलाएर आउँथी । यसै क्रममा १४ वर्षको उमेरमा एसईई उतिर्ण गरेर म उच्च शिक्षाको लागि देशको राजधानी काठमाडौं प्रस्थान गरेँ ।

काठमाडौं जानु मेरो रहर भने थिएन । एसईईमा राम्रो ग्रेडसहित पास भएकोले मलाई पढाउन भनेर बाबाले पठाउनु भएको हो । मलाई मेरा घरबाट हेल्थ असिस्टेन्ट(एचए) बन भनेर पठाउनु भएको थियो । तर मलाई बन्न मनचाहिँ पत्रकार थियो । मैले काठमाडौं गएपछि घरमा फोन गरेर एचए पढ्न मन छैन म त पत्रकारिता पढ्छु भनेँ । घरबाट भनेर जाम भनी जानै पनि नदिने होकी भन्ने डरले मैले सो कुरा काठमाडौं गएपछि मात्रै भनेँ ।

बाबा मान्नु भएन त्यसपछि मैले फारम सकिएछ भनेर झुटो बोली । त्यसपछि स्टाफ नर्स पढ् भन्नु भयो । आफुलाई भने कति पनि मन छैन के गर्नी भन्नी भयो । मेरो जेन–जी पुस्ताको बुद्धिसँग आमा–बा को के लाग्थ्यो र । त्यसको एक हप्ता पछि फेरि कलेजहरुको यो वर्षको कोटा नै सकिएछ भनेर ढाँटेँ । अनि त्यसपछि बाबाले फेरि सोध्नुभयो फोन गरेर । त्यसो हो भनीे के गर्छौ त तिमी ? मैले अन्कनाएको जस्तो गरेर भनी मलाई त पत्रकार बन्नु छ, पत्रकारिता नै पढ्छु । उहाँले उताबाट फोनमा लामो सास फेर्दै लौ तिमीलाई त्यसमा मन छ भनी त्यहीँ पढ न त भन्नुभयो । यता मेरो खुसीको सिमा नै थिएन । अनि मैले किर्तिपुरको कलेजमा मानाविकी अन्तरगत पत्रकारिता विषयमा अध्ययान सुरु गरेँ ।

त्यसको करिब दुई वर्षपछि कोभिड–१९ का कारण देशभर अनिश्चितकालीन लकडाउन सुरु भयो । बिदामा म आफ्नो गाउँ फर्किएँ । सोही क्रममा मलाई नाताले ठुलोबाबा पर्ने एकजनाले गोरखामा मिडिया क्षेत्रमा काम गर्नका लागि मान्छे खोजेको छ भनेर खबर गर्नुभयो र मलाई गोरखा सदरमुकाम बोलाउनुभयो । त्यसपछि म गोरखामा रहेको सिभिलखबर अनलाइनमा २०७७ साल असार २० गतेबाट आफ्नो कार्यक्षेत्र बनाएर काम सुरु गरेँ । (जांगिर) अर्थात म कुनै जिम्मेवारी लिएर एक कर्तव्य पालकको रुपमा कतै गएर गिर्दै थिएँ । तब म १७ वर्षकी मात्रै थिएँ ।

मलाई मेरो जीवनको नयाँ यात्रा सुरु गरिरहँदा घरबाट निस्कने दिनमा मेरो बाबाले भन्नु भएको कुरा अझै पनि याद छ । हेर गलमटु (मेरो बाबाले मलाई माया गरेर बच्चैदेखि बोलाउने नाम) तिमीले सानै उमेरदेखि आफुलाई सक्षम बनाउँछु भनेर लागेकी छौं, ‘जीवनमा उच्च सफलता हाँसिल गर्नु ठुलो मान्छे बन्नु तर, ठुलो कहिलै नपल्टिनु है,’ उहाँले फेरि भन्नुभयो, ‘महत्वाकांक्षी कहिल्यै नबन्नु किन कि मान्छेलाई लोभले लाभ र लाभले विलाप बनाउँछ, त्यहीँ भएर संयम बन्नु संघर्ष गर्नु, दुःख र संघर्षले पाएको सफलताले निकै खुसी दिन्छ ।’

मेरो बाबाले मलाई सानैदेखि आत्मनिर्भर बन्न सिकाउनुभयो । सफलताको लागि भिडमा होइन एक्लै हिड्नु सक्नुपर्छ भनेर सिकाउनुभयो । भिडमा हिँड्दा बाटो भड्किन सक्छ एक्लै हिँड् सफलता छिटो मिल्छ भन्नुहुन्थ्यो । गल्ती स्वीकार्नू, निडर बन्नु, गलत नगर्दासम्म कसैसँग नडराउनु यो मेरो बाबाले मलाई सिकाउनु भएको पाठ हो ।

काम गर्दा बाधा अड्चन आउँछ त्यो स्वभाविक हो, तर, मेरो बाबाले मलाई जहिले पनि हौसला दिदैँ भन्नु हुन्थ्यो की ‘तिमी छोरी हौं कमजोरी होइन’ आत्माबललाई दरिलो पारेर हिँड्ने गर कसैले छुन पनि सक्दैन । पत्रकार भनेर पत्रकारिता गर्ने मानिसलाई जनाउँछ । जसले सूचना आदान प्रदान गर्ने काम गर्दछ । संविधान वा कतै लेखिएको त छैन तर पनि पत्रकार र पत्रकारितालाई लोकतान्त्रिक समाजको चौथो अंग पनि मानिन्छ, किनभने यसले सरकार र शक्तिशाली निकायहरूको कामको निगरानी गर्छ र जवाफदेही बनाउन सहयोग गर्छ । पत्रकार भनेको खबर संकलन, त्यसको अनुसन्धान, लेखन र सम्पादन गरेर आम मानिससम्म पुर्याउने व्यक्ति भनेर बुझिन्छ । पत्रकारले विभिन्न स्रोतबाट सूचनाहरू प्राप्त गर्छन्, सत्यतथ्यको जाँच गर्छन् र त्यसलाई समाचार, लेख, रिपोर्ट, वा अन्तर्वार्ताको रूपमा प्रस्तुत गर्छन् ।

पत्रकारले कुनै पनि सूचनालाई प्रकाशित गर्नुअघि त्यसको सत्यता पुष्टि गर्नुपर्छ । पत्रकारले कुनै पनि घटनालाई पूर्वाग्रहरहित निष्पक्ष ढङ्गले प्रस्तुत गर्नुपर्छ। पत्रकारले समाजका महत्त्वपूर्ण मुद्दाहरू, जस्तै भ्रष्टाचार, अन्याय, र असमानतालाई उजागर गर्ने काम गर्छन् । पत्रकारले मानिसहरूलाई शिक्षित र सूचित गर्ने काम गर्छन्, जसले गर्दा उनीहरूले सही निर्णय लिन सक्छन् । पत्रकारले जहिले पनि एबिसीको सिद्धान्त अनुसार काम गर्दछ । पत्रकार जहिले पनि निष्पक्ष हुन्छ । पत्रकारिताको सिद्धान्तमा पत्रकार त्यो व्यक्ति हो जसले लोकतन्त्रको संरक्षक र जनताको आवाज बनेर काम गर्छ । ऊ केवल समाचार दिने माध्यम मात्र नभई समाजमा भएका घटना, मुद्दा, र विकासक्रमलाई गहिरो रूपमा विश्लेषण गरी सत्य, तथ्य र निष्पक्षताका साथ प्रस्तुत गर्ने जिम्मेवारी वहन गर्छ ।

पत्रकारको मुख्य जिम्मेवारीहरू:
खोजी तथा अनुसन्धानः पत्रकारले सतही जानकारीमा मात्र नअल्झिई घटनाको जरासम्म पुगेर अनुसन्धान गर्छ । भ्रष्टाचार, अन्याय, र गलत अभ्यासहरूलाई उजागर गर्नु उसको महत्त्वपूर्ण कर्तव्य हो ।
सार्वजनिक हितको रक्षा: पत्रकारले व्यक्तिगत वा संस्थागत स्वार्थभन्दा माथि उठेर सार्वजनिक हितलाई प्राथमिकता दिन्छ । उसले समाजका कमजोर र सीमान्तकृत वर्गको आवाज बन्छ ।
जवाफदेहिताको मागः पत्रकारले सरकार, राजनीतिज्ञ, र अन्य शक्तिशाली निकायहरूलाई उनीहरूको कामप्रति जवाफदेही बनाउँछ।
शिक्षित र सूचित गर्नेः पत्रकारले जटिल विषयहरूलाई सरल भाषामा प्रस्तुत गरी आम मानिसलाई शिक्षित र सूचित गर्छ, जसले गर्दा उनीहरूले सही निर्णय लिन सक्छन्।

आधुनिक युगमा, पत्रकारको भूमिका परम्परागत माध्यम (अखबार, रेडियो, टिभी) भन्दा बाहिर गएर डिजिटल मिडिया, सोसल मिडिया, र पोडकास्टसम्म फैलिएको छ । यसरी, पत्रकारको काम केवल खबर लेख्नु मात्र नभई सामाजिक न्याय र पारदर्शिताका लागि एक प्रहरीको भूमिका खेल्नु पनि हो। पत्रकार बोल्न नसक्नेहरुको आवाज हो । साहारा नहुनेहरुको बैशाखी हो । पत्रकारिता क्षेत्रमा महिला पुरुष भन्नी हुन्न । सबै पत्रकार हुन्छ । महिला पत्रकारले गर्नी काम अलग, पुरुष पत्रकारले गर्नी काम अगल भनेर छुटेएको पनि हुन्न सबैले सबै काम गर्न सक्छ । तर सामाजिक हिसाबले महिला पत्रकारले धेरै चुनौतीको सामना गर्नु पर्छ । अहिलेको अवस्थामा प्राय जिल्लाहरुमा पुरुषको तुलनामा महिला पत्रकार निकै कम देख्न पाउँछौ ।

पत्रकारिता पेश भनेको एकदमै व्यस्त र समयको निश्चितता नभएको पेशा हो । जसले गर्दा व्यवहारिक वा सामाजिक दायित्वले महिलालाई पछि पार्दछ । अझै विहेवारिदी भए पछि पत्रकारिता छोड्नेको समस्या विकराल छ । पत्रकारिता जस्तो व्यस्त र समयको कुनै निश्चित सीमा नहुने पेसामा व्यावसायिक जिम्मेवारीसँगै घरको काम, बालबच्चाको हेरचाह, र पारिवारिक दायित्वको बोझ महिला पत्रकारहरूलाई बढी हुन्छ । समाजले पत्रकारितालाई अझै पनि ‘पुरुषप्रधान’ पेसाको रूपमा हेर्छन् ।

यसले गर्दा महिला पत्रकारहरूलाई राति काम गर्न वा दुर्गम क्षेत्रमा रिपोर्टिङ गर्न जाँदा सामाजिक र पारिवारिक दबाबको सामना गर्नुपर्छ। अहिलेको एआईको युगमा त झन महिला पत्रकारहरूलाई लक्षित गरेर सामाजिक सञ्जालमा व्यक्तिगत आक्रमण, दुर्वचन, र धम्की दिने प्रवृत्ति बढ्दो छ। यसलाई साइबर बुलिङ भनिन्छ । कार्यस्थलको दबाब, असुरक्षा, र अनलाइन दुव्र्यवहारले गर्दा उनीहरूमा मानसिक तनाव, चिन्ता र डिप्रेसनको समस्या बढ्न सक्छ । यी सबै चुनौतीहरूको बावजुद, धेरै महिला पत्रकारहरूले आफ्नो पेसामा उच्च व्यावसायिकता र प्रतिबद्धता देखाउँदै आएका छन्। यी चुनौतीहरूको समाधानका लागि नीतिगत सुधार, कार्यस्थलमा लैंगिक संवेदनशीलताको विकास, र सामाजिक चेतनाको वृद्धि आवश्यक देखिएको छ ।

म पनि एक पत्रकार महिला हुँ । म यस क्षेत्रमा रहेर काम गर्न थालेको पनि करिब आधा दशक नाघि सकेछ । तर, त्यो दिन होजो जस्तो लाग्छ जब मैले पत्रकारिता सुरु गरेकी थिए । सुरु–सुरुमा त साह्रै नै डर लाग्थ्यो । कप्युटरबारे पनि त्यती धेरै ज्ञान थिएन । मलाई पत्रकारिताबारे किताबी ज्ञान त थियो । तर मैले अभ्यासरत रहेर काम गरेको अनुभव भने थिएन । भन्दा पनि मैले पत्रकारिता शून्यबाट सुरु गरेको थिए । मलाई शून्यबाट उठाएर पत्रकारितामा सिकाउने पहिलो गुरु भनेको सिभिलखबर डटकमका सञ्चालक मोहसिन अलि मियाँ हुनुहुन्छ । उहाँले नै मलाई क,ख,र बाट पत्रकारिता सिकाउनु भएको हो ।

म यस क्षेत्रमा आउँदा उमेरले सबै भन्दा सानी थिएँ । सबै अग्रज हुनुहुन्थ्यो । त्यसमा पनि महिलाको संख्या भनेको चामलमा रहेको कनिका जस्तै थियो । करिब ४, ५ जना मात्रै । सुरु–सुरुमा त अग्रज दाईदिदीहरुसँग भेट्दा बोल्न पनि साह्रै गाह्रो लाग्थ्यो । के भन्ने होला ? बोल्दा बिग्री पो हाल्ने होकि भन्ने लाग्थ्यो । तर, उहाँहरुले मलाई सधैँ आफ्नै सानी बहिनी जस्तै गरेर हरेक काममा अग्रसर हुन प्रेरणा दिनुहुन्थ्यो । फिल्ड, कार्यक्रमतिर जाँदा सँगै लिएर जानु हुन्थ्यो । नजानेका कुराहरु यस्तो हो है, यस्तो गर्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो । कहिकतै अजानमा वा जानेर गरेका गल्तीहरुलाई औलाएर भनिदिनुहन्थ्यो । जसबाट मैले सिकेर अघि बढ्ने मौका पाएँ । हुन त हामीले हरेक कुरा हाम्रा अग्रजहरुबाटै सिकेर अघि बढ्ने हो । मैले काम गर्दै गर्दा डगमगाएका खुट्टालाई फेरि दरिलो गरी उभिन सक्ने हिम्मत दिनु हुने सम्पूर्ण दाई, आग्रजहरुलाई म ह्रदयदेखि नै धन्यवादसहित नमन भन्छु ।

उहाँहरुकै प्रेरणाका साथ सहयोगले गर्दा मैले गोरखामा रहेर सिभिलबर अनलाइन हुँदै रेडियो मनासलु, रेडियो गोरखा तथा हाल दरौंदी दैनिक पत्रिका र च्वाइस एफएममा कार्यरत छु । भविष्यको दिनमा कहाँ हुन्छु भन्ने थाहा छैन । किनकि म पनि त एक महिला नै जो हुँ । तैपनि जीवनको वातावरण अनुकुल बन्यो भनी यो पेशालाई निरन्तरता दिनेनै छु । पत्रकारिता यस्तो पेशा हो जसले मान्छेलाई भरपुर ज्ञान भए पनि खालिपनको आभास गराउँछ । सधैभरि नयाँ कुराको खोजीमा तल्लिन हुनतर्फ अग्रसर गराउँछ । दिन प्रतिदिन जिज्ञासु बनाउँछ । निश्चित परिधिमा बस्न सिकाउँछ । अनुशासनको सही मूल्य सिकाउँछ ।

सामाजिक सञ्जालको बिकासक्रम सँगै यो पेशालाई मान्छेहरुले बदनाम गरिरहेको अवस्था पनि छ । यो पत्रकारहरुको लागि सबैभन्दा चुनौतीपूर्ण विषय पनि हो । सामाजिक सञ्जाल सूचनाको स्रोत त हो । तर, सामाजिक सञ्जालमा आउने सबै कुरा सत्य भने हुदैँन । मानिसहरुको दैनिकी जीवनमा सामाजिक सञ्जालको बढि प्रयोग हुने भएकाले होला त्यसमा आउने हरेक कुरालाई सत्य मान्ने गर्दछन् । जसले गर्दा समाजमा बिकृति फैलिरहेको हुन्छ । सामाजिक सञ्जालको प्रयोग नराम्रो त होइन, सदुयोग हुनु पर्छ भन्ने धारणा हो मेरो । आजको आवश्यकता भनेको पत्रकारहरुले त्यसलाई चिरेर पत्रकारिता जगतमा नयाँ युगको सुरुवात गर्न जरुरी देखिन्छ । जसले समाजमा सकरात्मक कुराको बिकास गरी नयाँ मोड लिओस् ।

पत्रकार जहिले पनि एउटा रित्तो भाँडो हो । उसमा नयाँ कुरा सिक्ने, जान्ने भोक कहिले घटेको हुँदैन झन बढ्छ । पत्रकारिताले मलाई मेरो जीवनमा धेरै कुरा सिकाएको छ । सिकेको छु । अझै धेरै कुरा सिक्न बाँकी नै छ । किन कि म, महिला, पत्रकार हुँ ।
अन्तमा म त मेरो परिवारको आँखाको तारा, मलाई त जसरी पनि चम्किनु छ ।

प्रतिक्रिया दिनुहोस्