
मनकामना आउने पर्यटकलाई गोरखासम्म आउने वातावरण बनाऔँ
गोरखा नेपालको ऐतिहासिक र धार्मिक गन्तव्य हो । यहाँको प्रमुख आकर्षणका रूपमा मनकामना मन्दिर रहेको छ, जहाँ हरेक वर्ष १० लाखभन्दा धेरै भक्तजन अर्थात धार्मिक पर्यटक आउने गर्छन् । मनकामनाबाट संकलित भेटी र चन्दाले स्थानीय संरचना र व्यवस्थापनमा केही योगदान पु¥याइरहेको छ । तर, दुःखद पक्ष के छ भने यस धार्मिक पर्यटनले वास्तविक गोरखा विशेषतः जिल्ला सदरमुकाम र अन्य महत्वपूर्ण गन्तव्यलाई पर्याप्त लाभ पु¥याउन सकेको छैन ।
मनकामना आसपासका व्यवसाय, होटल, पसल र यातायात प्रायः छिमेकी जिल्लाका व्यापारीहरूले सञ्चालन गरिरहेका छन् । फलस्वरूप, आर्थिक फाइदा गोरखाभन्दा बढी अन्य क्षेत्रकाले पाउँछन् । सदरमुकाम गोरखा बजार भने पर्यटक र धार्मिक यात्रुका लागि सुनसानजस्तै देखिन्छ, जुन जिल्लाको आर्थिक विकासका लागि ठूलो चुनौती हो ।
स्थानीय तह र प्रदेश सरकारले यो अवस्थालाई गम्भीरताका साथ सम्बोधन गर्नुपर्छ । मनकामना आउने पर्यटकलाई गोरखा दरबार, गोर्खा संग्रहालय, लक्ष्मीबजार, सिरानचोक, बारपाक, लाप्राक जस्ता गन्तव्यहरूसम्म आकर्षित गर्न प्रचार–प्रसार गर्न आवश्यक छ । ‘एक पर्यटक–अनेक गन्तव्य’ भन्ने अवधारणालाई व्यवहारमा उतार्न सक्नुपर्छ । मनकामनासम्म मात्र सीमित हुने यात्रालाई ‘गोरखा परिपूर्ण यात्रा’ बनाइने हो भने मात्र जिल्लाले आफ्नो ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाबाट वास्तविक लाभ लिन सक्छ ।
गोरखा केवल मनकामनाले चिनिने जिल्ला होइन यो पृथ्वीनारायण शाहको दरबारदेखि भूकम्पको केन्द्रविन्दूका रुपमा रहेको जीवित इतिहास हो । त्यसैले अब समय आएको छ—मनकामनाबाट गोरखाको अन्य पहिचानसम्म पर्यटकलाई जोड्ने ठोस कदम चाल्ने । अर्थात स्पष्ट रुपमा भन्नुपर्दा मनकामनामा आउने भक्तजन तथा धार्मिक पर्यटकलाई गोरखा सदरमुकाम, गोरखकाली, गोरखनाथ मन्दिरसम्म आउने वातावरण बनाउनु अब अपरिहार्य बनेको छ ।




