| आइतवार, जेष्ठ १६, २०८३

तिब्बत जोड्ने सडकलाई प्राथमिकता देऊ

गोरखाबाट चिनियाँ नाका रुइला जोड्ने सबैभन्दा छोटो बेनिघाट, आरुघाट, लार्के सडक चालु भएपछि यस क्षेत्रको चौतर्फी विकास हुनेमा धेरै आशावादी थिए । सीमा जोड्ने अवधारणासहित सडक निर्माणको काम सुरु हुँदाताका अब प्रसस्त रोजगार पाइने, स्वरोजगार भइने, आर्थिक कारोबार कारोवार र आर्थिक वृद्धि हुने, अन्य विकासका ढोका खुल्ने लगायतका आशा अपेक्षा थिए ।

तर काम सुरु भएको आठ बर्षको कालखण्डमा यो सडक सरकारको उपेक्षामा परेको छ । बिगत पाँच बर्षयता लगातार बजेट घट्दो अबस्थामा छ । पाँच बर्षअघि नेपाली सेनाको विकास निर्देशनालयले कार्यान्वयन गर्ने गरी पाँचबर्षअघि सो सडकका लागि २५ करोड रुपैयाँ बिनियोजन भएको थियो । त्यसपछि १५ करोड विनियोजन भएकामा दुईबर्ष अघि १० करोड र गतबर्ष जम्मा सात करोड विनियोजन भएको निर्देशनालयले जनाएको छ । चालु आर्थिक बर्ष त्यसमा पनि घटेर जम्मा तीन करोड ९७ लाख विनियोजन भएको छ ।

गतबर्ष पनि सडक निर्माणमा गएको नेपाली सेना आठ महिना नबित्दै बजेट सकिएर ब्यारेक फर्किएको थियो । रकमान्तर गरेर भए पनि बजेट थप हुने आशा निराशामा परिणत भएपछि चुमनुब्री ३ पेवासम्म ट्रयाक पु¥याई सेना काम छाडेर फर्किएको हो ।
पृथ्वीराजमार्गको बेनिघाटदेखि तिब्बतको सीमाना लार्केभञ्ज्याङसम्मको दुरी जम्मा १५४ किलोमिटर रहेको छ । सो सडकको हालसम्म १०४ किलोमिटर ट्रयाक निर्माण गरिएको छ । जसको ९७ किलोमिटर खण्ड पाङसिङसम्म हिउँदका बेला सवारी साधन चल्ने गरेको छ । अब ५० किलोमिटर मात्र ट्रयाक खन्न बाँकी छ ।

सो सडक स्तरोन्नतिका लागि गत आर्थिक बर्ष १४ करोड विनियोजन भएकामा सडक योजना कार्यालयले ११ करोड ११ लाख रुपैयाँ मात्र खर्च गरेको छ । यसबर्ष सो बजेट पनि घटेर नौ करोड रुपैयाँ मात्र विनियोजन भएको छ । यो सडक निर्माण सम्पन्न भएर चालु भयो भने वीरगञ्ज नाकाबाट चीन जोड्ने सबै नाकाभन्दा यो छोटो बन्नेछ । त्यसैले यसलाई प्राथमिकता दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्