| आइतवार, साउन ३०, २०८३

‘हामी पनि तिम्रो दुःखको एक भाग लिन तयार छौः अविन श्रेष्ठ ।

अविन श्रेष्ठ

अहिले महामारीले विभिन्न समस्या निम्त्याएका छन् । विदेशमा समस्या भएपछि कतिपय घर फर्कनुभएको छ । कतिपय फर्कने तयारीमा हुनुहुन्छ । विदेशमै दुःख झेलिरहनुभएको छ । कतिले । घर फर्कनेलाई पनि अहिले सहज छैन।गाउ समाजमा विदेशबाट फर्कनेलाई विभेद हुने गरेका कुराहरु आइरहेका छन् ।

एक त विदेशबाट फर्कनेहरु आफैं समस्यामा परेर आउनुभएको छ । कतिले त एकदम कठिन यात्रा पार गरेर आउनुभएको छ । विदेशबाट यहाँसम्म आउन र फेरि विमानस्थलबाट घरसम्म पुग्न पनि उहाँहरुले विभिन्न समस्याहरु झेल्नु परेको छ । यसरी आउँदा उनीहरुलाई हाम्रो समाजले गर्ने व्यवहार पनि एकदमै राम्रो छैन । विभेद छ, लाञ्छना लगाउने खालको छ । समस्यामा परेर आफ्नाको सहारा खोज्दै आएकालाई विभेद गर्दा शारीरिक र मानसिक स्वास्थ्यमा असर पर्छ । ३ विदेशबाट फर्कंनेसँग यस्ता व्यवहार गरौं !

यो बेलामा एकदमै गर्नुपर्ने व्यवहार भनेको चाहिँ जुन उहाँहरुको यात्रा छ, त्यो यात्रामा हामी पनि साथ छौं भन्नु पर्‍यो र त्यही अनुसारको व्यवहार गर्नु पर्‍यो । जसरी तपाईँले दुःख भोग्नु भयो, जसरी दुःखमा परेर घर परिवार, गाउँ समाजसँगै बस्न भनेर आउनुभएको छ, त्यसमा हामी तपाईँसँगै, साथैमा छौं भन्नु पर्छ । हामी पनि तिम्रो दुःखको एक भाग लिन तयार छौं, तिमी जति डराएका छौ हामी पनि डराएका छौं, संसार नै महामारीको चपेटामा छ भनेर उसलाई एक्लो छैनौं भन्ने महसुस गराउनु पर्छ ।

कतिपय अवस्थामा थाहा नपाइ पनि हाम्रो बोलीचालीमार्फत थाहै नपाई विभेद गरिरहेका हुन्छौं । हामीलाई थाहा हुँदैन, तर त्यो कुराले चाहिँ उनीहरुलाई बिझिरहेको हुन सक्छ । त्यसैले कस्तो शब्द बोलेका छौं, कसरी बोलेका छौं भनेर हामीले शब्द चयनमा पनि एकदमै ध्यान दिन आवश्यक छ । अर्को कुरा सामाजिक रुपमा पनि उनीहरुलाई स्वीकार गर्नुपर्छ । हाम्रो लागि भनेर रोग नफैलियोस् भने क्वरेण्टीनमा बस्यौ, सावधानी अपनाऔ, त्यसका लागि धेरै धेरै धन्यवाद भनेर उनीहरुलाई धन्यवाद पनि दिनु पर्छ ।

फूलमाला लिएर, माया गरेर, अंगालो मार्दैमा माया र स्वागत हुन्छ भन्ने होइन । तर समाजले, आफन्तले उनीहरुको दुःखमा हामी पनि छौं है भन्ने भावनाको विकास गराउन सक्नुपर्छ । हाम्रो व्यवहारले, हाम्रो बोलीले उनीहरुलाई एक्लो महसुस हुन दिनु हुँदैन । यसले मनोभावना उच्च बनाउन मद्दत गर्दछ । समाजमा अहिले भईरहेको कुरा मानिस नआएको भए हुन्थ्यो, यो आएर चाहिँ यस्तो भयो भन्ने जस्ता कुराको प्रयोग नगरौं । दुःख पर्दा, आपद पर्दा मानिसले आफ्नो घर र आफन्त सम्झन्छ र त्यही दुःख सामना गर्न सजिलो हुन्छ कि भनेर न नै हो मानिस आफ्नो ठाउँ सम्झेर आउने । त्यो हिसाबले यो नआएको भए हुन्थ्यो, यसले सबैलाई रोग सार्‍यो भन्ने कुरा कहिल्यै पनि नगरौं ।

अनि अर्को भेदभाव हुने भनेको चाहिँ समाजिक सञ्जालमार्फत पनि हो । अहिले सामाजिक सञ्जालमा एकदमै अफवाह फैलिएको छ । त्यसैले सामाजिक सञ्जालमा सामग्री शेयर गर्दा र जानकारी लिन पनि सत्यतथ्य हो कि होइन, आफूले हेरेका स्रोत कतिको तथ्यपरक हो भन्ने पनि जानकारी लिनुपर्छ । रोकथामको बारेमा कुराहरु गर्ने, निको भएका व्यक्तिको उदाहरण र अनुभव सुन्ने र सुनाउने गरे पनि त्रास कम हुन्छ ।

अनि आइसोलेसन र क्वरेण्टीनमा बसेर फर्कनेको साहस र योगदानलाई धन्यवाद दिने । त्यति मात्र गर्न सक्यौं भने पनि हाम्रो शब्द र व्यवहार भेदभावरहित हुन सक्छ । जे कुरा आफूलाई गर्दा कस्तो होला, यो कुरा ममाथि भयो भने भनेर सोचियो भने हाम्रो बोली र व्यवहारमा फरक आउँछ । करुणा भाव आउने हुन्छ । सोच्नुस् न तपाईँले म पनि साँच्चै विदेशबाट त्यति नै दुःख गरेर आएको भए, जागिर छाडेर, मर्छु कि बाँच्छु कि भन्ने अन्योल भएर आएको भए रु मलाई यस्तो शब्द सुन्दा कस्तो अनुभव हुन्छ होला रु भन्ने सोचेर व्यवहार गर्‍यौं भने पक्कै पनि यो लान्छना र विभेदको कुरा अन्त्य हुन्छ ।

सबैले आआफ्नो ठाउँबाट सहयोग गरौँ ! तपाईँको गाउँमा, तपाईँको ठाउँमा कोही विदेशबाट आउनुभएको छ भने उहाँहरुको सम्मानजनक पुनःस्थापनाका लागि सबै व्यक्तिको भूमिका महत्वपूर्ण रहन्छ । जनप्रतिनिधिदेखि परिवार, छिमेक र आफन्तको आ–आफ्नो ठाउँमा भूमिका छ । अर्को कुरा चाहिँ मेरो आफ्नो भूमिका के हुन्छ ? मैले उहाँलाई कसरी सहयोग गर्न सक्छु भनेर सोच्यो भने पनि धेरै नै सहयोग हुन्छ । हालखबर सोध्ने, उसको अनुभव र भावनाहरु सुनिदिने पो गर्न सकिन्छ कि ?

त्यसैगरी रोलमोडलहरु हुनुहुन्छ नि समाजमा जसको कुरा धेरैले सुन्छन्, धेरै फलोअर छन् उनीहरुले पनि यस्तो भ्रम हटाउन र सत्यतथ्य जानकारी दिनका लागि सहयोग गर्न सक्नुहुन्छ । त्यसैगरी जनप्रतिनिधिले फर्किएर आउनेका लागि सम्मानजनक पुनःस्थापनाका लागि उहाँहरुको सहभागितासहित रोग नफैलियोस् भन्ने हिसाबले काम गर्न सकिन्छ । र यो रोगको बारेमा सत्यतथ्य जानकारी धेरैलाई थाहा भयो भने पनि डर र त्रास कम हुन्छ । मानिसहरु सावधानी अपनाउन थाल्छन् । मानिस जानकार भएपछि लान्छना पनि कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्