| शनिबार, साउन १५, २०८३

के अहिले साबुन बाँड्ने बेला भएकै हो ?

 

शिव उप्रेती :

२०७२ सालको भूकम्पका बेला घरबार बिहिन भएकालाई भोलिपल्टदेखि नै राहत वितरण सुरु भएको थियो ।

तत्काल टोलटोलमा पुगेर त्रिपाल, टेण्ड, पानीको बोत्तलदेखि पानीका पोका, पाउरोटी, च्यूरा, दाल, चामल, दालमोठ, चाउचाउ, बिस्कुट, लुगा, कपडा, ओढ्ने, ओछ्याउने र नगदसमेत वितरण गर्ने ती व्यक्ति, समूह, संस्था सबै धन्यवादका पात्र थिए ।

१५ दिन, एक महिनासम्म राहत बाँड्ने काम अत्यन्त खाँचो थियो । तर राहत बितरणकै कामलाई जब व्यवसायिकता दिन सुरु भयो, तब आलोचना हुन थाल्यो । भूकम्पको तीनबर्षसम्म पनि गाउँगाउँमा गएर नङकट, ट्वाइलेटपेपर बाँडियो । तीन वटा स्कोरपियो लिएर १५ हजार रुपैयाँको सामान बाँड्न गएको पनि प्रायले देखे । राहत बाँड्नु अघि पनि सर्भेक्षण गर्ने नाउँमा लावालस्कर लिएर गाउँ चाहर्ने काम भयो । सामान बाँड्न र सेल्फी खिचाउन पनि उस्तै तामझामका साथ गाउँमा सयर गर्न गएको देखियो भने सामान बाँडिसकेपछि पनि बिभिन्न स्वार्थ सिद्ध गर्न गाउँ जाने गरेको देखिएको थियो । हेलिकोप्टरमा १०÷२० पाकेट चाउचाउ बोकेर राहत बाँड्न हेलिकोप्टर उँडेको पनि प्रायले देखेकै हो ।

वुद्ध धर्मको जरो गाडिएको उच्च पहाडी तथा हिमाली गाउँमा केही राहत र बाइबल लिएर बाँड्दै हिडेको पनि देखेकै हो । तिब्बती सीमावर्ती गाउँहरुमा भारतीय, यूरोपियन, अमेरिकन नागरिक राहत बोकेर केही दिने, धेरै लिने उद्देश्यका साथ हिडेको पनि देखेकै हो ।

कतिपय संस्थाले त गाउँका बासिन्दाले सरकारसंग १० प्रतिशत भरोसा गरेको, संस्थाहरुसंग ९० प्रतिशत भरोसा गरेको पाइयो भनेर अध्ययन प्रतिवेदन सार्वजनिक गरे ।

कतिपयले देश विदेशमा भूकम्प पिडितलाई राहत दिने भनेर अर्थ संकलन गर्न थाले । विदेशमा च्यारिटी गरेर राहत रकम संकलन गरी गुपचुप बसेको पनि जानकारीमा आयो । अथाह अर्थ संकलन गरी सीमित रकम मात्र राहतमा खर्च गरी बाँकी रकमले राहत बाँड्ने नाममा सयर गरेर मोजमस्ती गरेको पनि देखियो । कतिपयले थोरै रकम राहत बाँड्नमा खर्च गरी बाँकी रकम आफैले राखेको पनि घटना देखियो ।
अर्कातिर गाउँका बासिन्दा यतिसम्म आशामुखी र परनिर्भर देखिए कि, गाउँमा जोकोही नयाँ मान्छे जाँदा पनि ‘तपाइँ कुन संस्थाबाट आउनु भएको ?’, राहत बाँड्न आउनु भएको हो ?’ भनेर सोध्ने भए । अहिले पनि यो अवस्था जिवितै छ ।

अब अहिले कोरोना भाइरसको महामारी छ । भाग्यवश अहिलेसम्म नेपालमा यसले महामारीको रुप लिएको छैन । तर कतिपय व्यक्ति, संस्था र सरकारी निकाय नै वितरणमुखी कार्यमा लाग्न थालिसकेका छन् ।

अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरुमा राहत महशुस हुने गरी मास्क दिनु, थर्मोगन दिनु, पिपिई दिनु उचित छ । तर गाउँगाउँमा, टोलटोलमा मान्छे भेला गराई एकेक वटा साबुको डल्लो, एकेक थान मास्क बाँड्नु अहिले मनासिब छैन ।
वितरणमुखी कार्यक्रमले सर्वसाधारण सजिलै प्रभावित हुन्छन् । त्यसैले यस्ता कार्यक्रमले राजनीतिक नेता कार्यकर्ताको राजनीतिक स्वार्थ सिद्ध हुन्छ । कसैको हातमा केही राहत राखिदिँदा उ छिट्टै खुशी हुने र सजिलै कृतज्ञ हुने हुँदा राजनीति गर्नेहरु वितरणमुखी कार्यक्रम गर्न उद्दत हुन्छन् ।

कतिपयले आफू समुदायको नेता बनिटोपल्न पनि राहतमुखी कार्यक्रम ल्याउँछन् । अझै अर्को जमातको पनि कमी छैन, जसले राहत बाँड्न भन्दै देशभित्र र बाहिरबाट पनि अर्थ संकलन सुरु गर्छन् । यो खालको गतिबिधि अझै हानीकारक हुनसक्छ ।
साबुन, मास्क, सेनिटाइजर बाँड्ने काम अहिले भर्खर भर्खर सुरु भएको छ । कतिपय व्यक्ति, समूह यस्ता राहत बाँड्ने योजना बनाउँदैछन् ।
के अहिले गाउँघरमा साबुनको अभाव भैसक्यो ? के अहिले गाउँघरका मान्छे(जो भीडभाडमा हिड्दैनन्)का लागि मास्क जरुरी भइसकेको हो ? के खेतबारीमा काम गर्ने मान्छेहरुलाई अहिले सेनिटाइजर नभै भएको छैन ? वा उनीहरु एकदुई थान यी सामग्री आफ्नै गोजीको पैसाले किन्न सक्दैनन् ?

यसो भनेर ग्रामीण भेगका बासिन्दालाई साबुन, सेनिटाइजर, मास्क चाहिँदैन भनेर किमार्थ भन्न खोजिएको होइन । सेनिटाइजर भन्दा साबुनपानी उपयुक्त भनेर विशेषज्ञले भनिरहेका छन् । बिरामी नभएका मान्छे, बिरामी कुरुवा बाहेकका मान्छे र भीडभाडमा हिड्नु नपर्नेले मास्क लगाउनु पर्दैन भनेर पनि विज्ञहरुले अहिले सुझाव दिइरहेका छन् ।

राहत बाँड्नु सिधा अर्थमा लगत होइन । आहतमा परेका जो कोहीलाई राहत दिनु सच्चा नागरिकको कर्तव्यभित्र पर्छ । बाढी पहिरो, आगलागी, सुनामी, महामारी, द्वन्द्व पिडितलाई राहत दिनु परोपकार हो । तर राहत बाँड्नु अघि केही बिषयको अध्ययन गर्नुपर्छ ।
राहत दिने समय हो वा होइन, राहत दिनुपर्ने बर्ग हो वा होइन, राहत दिनुपर्ने अबस्था हो वा होइन, दिइने बस्तु कतिसम्म जरुरी छ जस्ता बिषयको पहिले अध्ययन गर्नुपर्छ ।

सित्तैमा पाएमा जसले पनि, जहिले पनि, जे पनि लिनसक्छन् । त्यसैले राहतको नाममा केही बितरण गरिहाल्न हतारिनु हुदैन ।
अहिले राहतको नाममा साबुन, मास्क बाँड्न भर्खरभर्खर सुरु भएको छ । अब १०, २० पाकेट चाउचाउ बोकेर हेलिकोप्टर लिई राहत बाँड्ने काम पनि सुरु हुनेछ । त्यसैले यसलाई बेलैमा ब्यबस्थित र नियन्त्रित गरिएन भने यस्ता गतिविधि बढ्दै जानेछन् ।

प्रतिक्रिया दिनुहोस्