
आरुघाट गाउँपालिकाको आर्थिक बर्ष २०७६÷७७ को निति तथा कार्यक्रम
आर्थिक बिकास तर्फ
क) कृषि
कृषिलाई आधुनिकीकरण तथा ब्यवसायिकरण गर्ने तर्फ पहल गरिनेछ ।गाउँपालिकाभित्र समग्र ब्यबसायिक कृषिको सम्भावनाहरु अध्ययन गरिनेछ । फलफुल तथा तरकारी खेतीलाई ब्यवसायिक ढंगले सञ्चालन गर्न प्रोत्साहन दिइने छ ।साथै माछापालन ब्यबसायलाई प्रोत्साहन गरीने छ ।
हावापानी र माटो अनुसारको नगदे बाली उत्पादनमा कृषकहरुलाई अभिप्रेरित गरिने छ साथै मौसमी तथा बेमौसमी तरकारी उत्पादनको लागि जोड दिइनेछ ।
माटो परिक्षण गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरी माटो सुहाउँदो बाली लगाउन कृषकलाई प्रेरित गरिनेछ । साथै एक वडा एक उत्पादन , उत्पादनको पकेट क्षेत्र निर्धारण तथा गाउँपालिका स्तरीय कृषि भण्डारण कक्षको निर्माण गर्ने कार्यलाई सम्भावना अध्ययन गर्दै अघि बढाइनेछ ।
कृषि सहकारी मार्फत कृषकहरुलाई मल तथा विउ बीजन सुपथ मूल्यमा उपलब्ध गराउन पहल गरिनेछ ।कृषि सहकारी संस्थाहरुलाई व्यवस्थित र नियमन गर्दै लगिनेछ ।स्थानियस्तरको वाली संरक्षणको लागि विउ संरक्षण गर्न प्रोत्साहन गरिनेछ ।
रासायनिक मल तथा बिषादी प्रयोगमा न्यूनीकरण गर्दै प्रांगारिक मलको प्रयोगमा जोड दिदै अर्गा्निक बाली उत्पादनलाई प्रोत्साहन गरिनेछ ।कृषकहरुलाई उचित किसिमको तालिमको प्रवन्ध मिलाइने नीति लिइएको छ । गाउँपालिका भित्र कृषि क्षेत्रमा काम गर्ने सबै सरकारी एवम गैरसरकारी संस्थाहरु सँग समन्वय गर्दै कृषि बिकासमा जोड दिइनेछ ।व्यवसायिक कृषि उत्पादन गर्नको लागि व्यवसायिक कृषि फर्महरू दर्ता गर्न प्रोत्साहन गर्दै त्यस्ता फर्महरुलाई अनुदानको व्यवस्था गरिनेछ ।
ख) पशुपन्छी
यस गाउँपलिकाभित्रको विभिन्न स्थानहरुमा पशुपन्छी पालनको उपयुक्तता अध्ययन गरी व्यवसायिक रुपमा पशुपन्छी पालनलाई प्रोत्साहित गरिनेछ । १ वडा १ व्यवसायलाई जोड गरिनेछ । पशु आहारा कार्यक्रमलाई जोड दिदै स्थानीय स्तरमा घाँस उत्पादन बढाउने तर्फ जोड दिइनेछ । साथै चरन खर्क सुधार कार्यक्रमको सम्भावना अध्ययन गर्दै अगाडी बढाइनेछ । स्वच्छमासु वितरणलाई ब्यवस्थित र प्रभाव कारी गराउन जोड दिइनेछ । साथै मासु पसल एवं बधशालाको व्यवस्थापन तर्फ कदम चालिनेछ । दुध उत्पादक कृषक तथा दुग्ध सहकारीलाई प्रोत्साहन गरिने छ । गाउँपालिका भित्र दुग्ध चिस्यान केन्द्र स्थापना एवं दुध डेरीको स्थापनातर्फ सम्भावना अध्ययन गरी कार्य गरिनेछ । गाउँपलिका लाई दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउन जोड गरिनेछ ।पशु बीमा तथा पशु नश्ल सुधार कार्यक्रमलाई प्रभावकारी बनाइनेछ । ग) उद्योग बाणिज्य
स्थानीय श्रोत र साधन परिचालन एवं वातावरण संरक्षणमा जोड दिने सान्दर्भिक उद्योगका क्षेत्रको पहिचान गरी यसको स्थापना गर्नमा पहल गरिनेछ । प्रदेश सरकारद्वारा स्थापना गर्न लागिएको औद्योगिक ग्रामलाई छिटो सम्पन्न गर्न पहल गरिनेछ । दर्ता भएका उद्योग एवं बाणिज्य फर्महरुलाई अद्यावधिक गर्ने र नभएकालाई दर्ताको दायरामा ल्याई तथ्यांक अद्यावधिक गरिनेछ । त्यस्तै गाउँपालिका भित्र रहेका पसल हरुलाई समेत दर्ताको दायरामा ल्याइनेछ । स्थानीय स्तरमा उपलब्ध कच्चा पदार्थको प्रशोधन गरी उत्पादन गर्न सकिने साना तथा घरेलु उद्योग संचालनमा जोड दिइनेछ ।
घ) पर्यटन तथा संस्कृति प्रबर्धन
पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने पदयात्रा मार्गको पहिचान गरी त्यसको निर्माण गर्दै पर्यटन बिकास गर्ने नीति लिइनेछ । आर्थिक बर्ष २०७६(७७मा गाउँपालिका मार्फत आर्खेत(थुमी(सतिडाँडा(मनिखर्क(धार्चे गाउँपालिका जोड्ने पदमार्गको कार्य म्एच् अनुरुप गरिने तथा सतिडाँडामा फन पार्क एवं भ्युटावर स्थापना तर्फ कदम चालिनेछ ।
समग्र पर्यटन बिकासको लागि गाउँपालिका स्तरीय पर्यटन गुरुयोजनाको निर्माण गरी कार्यक्रमहरु तयार पारिनेछ । गाउँपालिकाको उचित स्थानहरुमा पार्क तथा बगैन्चाहरुको विकास गरिनेछ । चालु आर्थिक बर्षमा म्एच् भएका पर्यटकीय तथा सांस्कृतिक स्थलहरु वायाकको बासुकी मन्दिर तथा आरुपोखरीको सितालामाई मन्दिर, आरुटारको पन्चकन्या मन्दिर एवं पार्क्निर्माण तथा मान्बुको बतासे गुफा संरक्षण कार्यलाई प्राथमिकता दिइनेछ ।
विभिन्न जात जातिका मौलिकता, रितिरिवाज, साँस्कृतिक परम्पराको पहिचान, संरक्षण तथा सम्बर्धन गरी पर्यटकलाई आकर्षित गर्ने तर्फ कदम चालिनेछ । ग्रामीण पर्यटनलाई प्रवर्धन गर्न गाउँपालिकामा उपयुक्त क्षेत्रहरु किटान गरी होम स्टे जस्ता कार्यक्रमको सम्भावना अध्ययन गर्दै स्थानीय समुदायबाट होम स्टे कार्यक्रम संचालनको क्षमता बिकासका कार्यलाई अगाडी बढाइनेछ । गाउँपालिका भित्र रहेका ताल तलैया, ऐतिहासिक कोट, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च, बिहार, हाटहिटी, चौतारा जस्ता पुराना धरोहरहरुको लगत संकलन गरी तिनको संरक्षण तथा संवर्द्धन गर्नमा बिशेष जोड दिइनेछ ।
ङ) सहकारी
सहकारिताको मूल मर्मलाई प्रवर्धन गर्दै कृषक तथा बजारको बिचमा सहकारीलाई स्थापित गरिनेछ ।वित्तीय सहकारीहरूलाई समाजको आधारभूत तहसम्म पुर्याई आर्थिक, सामाजिक रुपान्तरणमा जोड दिइनेछ। सहकारीलाई क्षमता बिकासको लागि तालिमको ब्यबस्था गरिनेछ साथै सहकारी संस्थाको नियमनलाई जोड दिइनेछ । सहकारी संस्थाहरुमार्फत गाउँपालिकाको विभिन्न कार्यक्रम हरु साझेदारीमा सम्पन्न गर्ने बातावरण तयार पारिनेछ ।संचालित सहकारी संस्थाहरुको अनुगमन तथा नियमन गरी सहकारी मूल्य,मान्यता अनुसार संचालन भए नभएको मुल्यांकन गरिने छ ।
च) भूमि ब्यवस्थापन
खेतीयोग्य जमिनमा बस्ती विस्तारलाई निरुत्साहित गरिनेछ । गाउँपालिका भित्र खेती योग्य जमीन बाँझो बस्ने समस्या बढिरहेकोलेसम्बन्धित सबै पक्ष संगको समन्वयमा खेतीयोग्य जग्गाको सही सदुपयोग तर्फ पहल गरिनेछ । राष्टिूय भू(उपयोग नीतिलाई अवलम्बन गरिनेछ । गाउँपालिका भित्र रहेका सार्वजनिक जग्गाहरुको संरक्षण गरिनेछ ।
२. सामाजिक विकास
क) शिक्षा
शैक्षिक गुणस्तरलाई वृद्धि गर्नको लागि बिद्यालयमा तहगत तथा कक्षागत सिकाइ उपलब्धी मापन गर्ने कार्यलाई प्रभावकारी ढंगबाट लागु गरिनेछ । सिकाई उपलब्धि वृद्धिका लागि आवश्यक कार्ययोजना बनाई लागू गरिने छ । बिद्यालयमा अतिरिक्त क्रियाकलापलाई अनिवार्य रुपमा संचालन गर्नुको साथै आरुघाट गा.पा. स्तरीय खेलकुद तथा अतिरिक्त क्रियाकलापहरु संचालन गरी प्रतिस्पर्धी भावनाको विकास गरी विद्यार्थीको शारिरीक तथा मानसिक बिकासमा टेवा पुर्याइने छ । शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था भए अनुरुप बिद्यालय समायोजन गर्नमा पहल गरिनेछ । बिद्यालय नक्शांकन गरी बिद्यालय गाभ्ने र दरबन्दी मिलान गर्ने कार्यलाई कडाईका साथ लागू गरिने छ । साथै शिक्षक अनुदानको लागि विद्यार्थी संख्यालाई मध्येनजर गरी मापदण्ड तयार गरी लागू गरिनेछ । भूकम्पबाट प्रभावित विद्यालयका भौतिक संरचना पुनर्निर्माण तथा नवनिर्माणमा बिशेष जोड दिइनुका साथै त्यस्ता संरचना बालमैत्री, अपाङ्गमैत्री तथा छात्रामैत्री बनाउनमा पहल गरिनेछ । कुनैपनि बालबालिकाहरु बिद्यालय शिक्षाबाट बन्चित हुन नपाउन भन्ने उद्देश्यले बिद्यालय भर्ना अभियानलाई बिशेष रुपमा लागु गरिनेछ । बाल बिकास केन्द्रलाई व्यवस्थित तथा प्रभावकारी ढंगबाट संचालन गर्नमा जोड दिइनेछ । सामुदायिक बिद्यालयको व्यवस्थापनमा सुधार ल्याउन बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघलाई थप व्यवस्थित तुल्याउनमा बिशेष जोड दिइनेछ । समग्र शैक्षिक गुणस्तर वृद्धिको लागि बिद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, बिद्यार्थी तथा जनप्रतिनिधिहरु बीच अन्तरक्रिया गर्दै उचित कदमहरु चालिनेछ ।
संस्थागत तथा सामुदायिक विद्यालयहरुको अनुगमन,सुपरीवेक्षण तथा नियमनलाई प्रभावकारी बनाइनेछ । साथै शिक्षक बिद्यार्थी आचारसंहितालाई प्रभावकारी रुपमा लागु गरिनेछ । सामुदायिक विद्यालयको गुणात्मक शिक्षा अभिवृद्धिको लागि उपयुक्त बिषयहरुको अंग्रेजी भाषामा पढाइ हुने व्यवस्था तथा बिद्यालयहरुमा बिषयगत शिक्षक बाट पठनपाठन हुने व्यवस्था मिलाउनको लागि पहल गरिनेछ । अंग्रेजी माध्यमबाट संचालन गरिने कक्षालाई आगामी दिनमा क्रमशः थप कक्षामा लागू गरिदै लगिने छ । गा.पा. स्तरीय शैक्षिक क्यालेन्डरलाई प्रभाबकारी ढंगबाट कार्यान्वयन गरी आगामी दिनमा विद्यालयको पठनपाठनमा स्तरीयता कायम गर्न कार्य दिन र खुद पढाइ हुने दिन तथा समय वृद्धि गर्न पहल गरिनेछ । गाउँपालिकाभित्र प्राविधिक शिक्षालयको स्थापना गर्नको लागि बिशेष पहल गरिनेछ । आबासीय बिद्यालय र प्राबिधिक बिद्यालय संचालन सम्बन्धी निर्दे्शिका तयार गरि लागू गरिने छ ।
नीजि श्रोतका शिक्षक,भ्ऋम् को शिक्षक ,लेखापाल, कार्यालय सहयोगीहरुको एकरुपताको साथ ब्यबस्थापनमा जोड दिइनेछ । शैक्षिक, भौतिक तथा प्रशासनिक क्षेत्रमा उत्कृष्टता हाँसिल गर्न सफल विद्यालयका प्रधानाध्यापक,विषयगत शिक्षक तथा विद्यार्थीलाई पुरस्कारबाट सम्मान गरिनेछ । साथै क्भ्भ् परीक्षामा उच्चतम अंक ल्याउने बिपन्न बर्गका १ छात्र तथा १ छात्रालाई प्राविधिक धारको १८ महिने पढाइ गर्न चाहने बिद्यार्थीलाई भर्ना तथा मासिक शुल्क अनुदान दिइनेछ। विद्यालयको शैक्षिक बातावरण तथा अवस्था सुधार गर्नको लागि यस आर्थिक बर्षमा माध्यमिक बिद्यालयहरुमा विद्युतीय हाजिरीको व्यवस्था तथा एक विद्युतीय माध्यमबाट पढाइ हुने कक्षा कोठा स्थापना गर्न पहल गरिनेछ ।
भीमोदय सामुदायिक क्याम्पसमा प्राविधिक धारको पढाइ संचालनको वातावरण मिलाउन लागि केन्द्र तथा प्रदेश सरकारसँग पहल गरिनेछ । जनप्रतिनिधि, कर्मचारी, शिक्षक,, बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक अभिभावक संघका पदाधिकारी हरुका बालबच्चा हरुलाई सामुदायिक बिद्यालयमा पढाउनुपर्ने तर्फ जोड गरिनेछ ।
ख) स्वास्थ्य
शारीरिक अंगभंग हुने गरी घाइते तथा दीर्घ रोगीलाई आर्थिक सहयोग,स्वास्थ्य चेतना वृद्धिजस्ता कार्यक्रमलाई प्राथमिकतामा राखी प्रभावकारी ढंगले अगाडी बढाइनेछ ।स्वास्थ्य बिमा कार्य तथा एम्बुलेन्स सेवालाई थप प्रभावकरी बनाइनेछ । प्रसुती सेवा संचालन नभएका स्वास्थ्य चौकीहरुमा सो सेवा संचालनको लागि पहल गरिनेछ ।१ बर्ष मुनिका बालबालिका, गर्भवती, सुत्केरी, स्तनपान गराइरहेका महिलाहरुलाई पोषण कार्यक्रमको व्यवस्था गरिनेछ । गाउँपालिकामा केन्द्र तथा प्रदेश सरकारबाट नसमेटिएका एवं अपुग भएको क्षेत्रमा आवश्यक बजेट बिनियोजन गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाइनेछ । गाउँपालिकामा आवश्यक थप औषधिको प्रवन्ध गरिनेछ । आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र भवनको प्रबलीकरण गरी १५ शैयासम्मको अस्पताल स्थापना गर्नमा बिशेष पहल गरिनेछ । साथै मेडिकल ल्याब स्थापना गर्नमा एवं २४ घन्टे स्वास्थ्य सेवा प्रभावकरी बनाउनसबै पक्षसंग समन्वय गरिनेछ । गाउँपालिकामा एक स्वास्थ्य उपचार राहत कोषको स्थापना गरीउक्त कोषलाई व्यवस्थित गर्दै लगिनेछ ।
महिला स्वयंसेविकाहरु सम्बन्धित वडाको स्थायी बासिन्दा हुनु पर्नेमा अनिवार्य गरिनेछ र उनीहरुले नेपाल सरकारबाट पाउँदैआएको सुविधामा थप गर्ने नीति लिइनेछ । दिर्घरोग लाग्नबाट बचाउन नियन्त्रणमुखी कार्यक्रम ल्याइनेछ । दिर्घरोग लागि सकेका बिरामीलाई अवस्था र औचित्यताका आधारमा शिघ्र पहिचान गरी ब्यबस्थापन गर्ने तर्फ जोड दिइनेछ ।खोपका कार्यक्रमहरुलाई प्रभावकारी बनाइनेछ ।
नीजि क्लिनिक ,अस्पताल एवम् औषधि पसलहरुलाई स्वास्थ्य नीति अनुसार नियमन गर्दै लगिनेछ ।स्वास्थ्य केन्द्रको २४ घन्टे सेवालाई प्रभावकारी बनाइने छ ।सुरक्षित गर्भपतन सेवालाई ब्यबस्थित गरिने छ ।आवश्यक पर्ने स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी सेवा प्रदान गर्नमा पहल गरिनेछ । स्वास्थ्य संस्था जन्य फोहोरमैलाको उचित ब्यबस्थापन गरिने छ । बाँकी बिहिबारको अंकमा प्रकाशित गरीनेछ ।




