झोलामा खोला निमिट्यान्न पार
गोरखामा बिभिन्न २६ वटा खोला ठेकेदारको झोलाभित्र छन् । विद्युत विकास विभागको पछिल्लो अभिलेखअनुसार एकदेखि २५ मेगावाट क्षमताको विद्युत उत्पादन गर्न यहाँका बिभिन्न खोलाका १७ ठाउँ ओगटिएका छन् । २५ देखि एकसय मेगावाट क्षमताको विद्युत उत्पादन गर्न पाँचठाउँ र एकसय मेगावाट भन्दा ठूलो क्षमताका चारवटा नदी ठेकेदारले झोलामा राखेर हिडेका छन् ।
चुमनुब्री गाउँपालिकाभित्र ९२८.६७ मेगावाट विद्युत उत्पादन गर्न सात वटा खोला ठेकेदारको झोलामा पुगिसकेका छन् । धार्चे गाउँपालिकाबाट ८७० मेगावाट विद्युत उत्पादन गर्न आठवटा खोला ठेकेदारले ओगटिसकेका छन् । दर्ता भएका केही खोलाहरुमा जलविद्युत आयोजना निर्माण लाइसेन्स पनि लिएका छन् तर कुनै खोलामा अलिअलि काम भएका छन्, अधिकांशमा केही काम भएका छैनन् । रिचेत खोलामा धमाधम काम भएका छन् । समर बुढीगण्डकी जलविद्युत आयोजनाको पनि केही काम सुरु भएको छ । तर अरुको सुरु भएको छैन ।
सबैभन्दा धेरै खोला धार्चे गाउँपालिकामा दर्ता भएका छन् । २६ मध्य आठ वटा खोला धार्चेको दर्ता भएका हुन् । तर निर्माण कार्य सुरु नभएपछि गाउँपालिकाले गत बुधबार सबै कम्पनीहरुलाई माछाखोलामा भेला ग¥यो । भेलामा तत्काल काम सुरु गर्न आग्रह पनि गर्यो । साथै पीडितहरुलाई मुआव्जा, सामाजिक उत्तरदायित्वको काम गर्न पनि आग्रह गर्यो । कम्पनीहरुले पनि सहमति जनाए । यस्ता खोला अन्य गाउँपालिकाभित्र पनि ओगटिएका छन् । उनीहरु सबैले यसरी नै खोला झोलामा हालेर हिड्नेहरुलाई भेला गरी काम गर्न प्रतिबद्ध बनाउनु पर्छ । खोलामा झोला हाल्ने प्रवृत्तिको अन्त्य गर्न पहल गर्नुपर्छ ।




