
तत्कालीन भूमीगत माओवादीका कास्की इन्चार्ज र रविन्द्र अधिकारीको पहिलो भेट : छुट्ने बेला भने, ‘अवस्था राम्रो छैन, बँचेर हिँड्नु होला’
किरण लोहनी :

२०६२ साल बैशाख अन्तिमतिर, तत्कालीन नेकपा माओवादीका कास्की जिल्ला इन्चार्ज कृष्ण धिताललाई पार्टीको सूचना विभागमा काम गर्ने सुदर्शन खतिवडाले खबर गरे, रबिन्द्र अधिकारी तपाईलाई भेट्न चाहनुहुन्छ । गोरखा कार्यक्षेत्र भएका धिताललाई माओवादीले शहरी आन्दोलन उठानका लागि भन्दै कास्कीको इन्चार्ज बनाएर पठाएको थियो । एकप्रकारले भन्ने हो भने, माओवादी जनयुद्ध उत्कर्षमा पुगेका बेला नेकपा एमालेका जिल्ला स्तरका नेताले भेट्न खोज्नुको पछाडी अनेक कारण हुन सक्थे, धितालले हुन्छ भनेपछि खतिवडाकै संयोजनमा दुई नेताविच भेट भयो ।
‘बेगनास नजिकैको स्याङखुदीको भँगेरी गाऊँमा सेल्टर लिएर बसेको थिएँ, खतिवडाजीसँगै उहाँ आउनुभयो, हातमा पत्रीका बोक्नु भएको थियो’ अधिकारीसँगको पहिलो भेट स्मरण गर्दै धितालले भन्नुभयो, ‘पत्रीका मलाई दिँदै यो तपाईलाई काम लाग्न सक्छ भनेर ल्याएको ।’ झण्डै दुई घण्टाको भेटघाटमा जनयुद्धबारे अधिकारीले आफ्नो दृष्किोण राखे भने धितालले पनि केही सहयोगको अपेक्षा गरे । हाल नेकपाका केन्द्रिय सदस्य रहेका धितालले भन्नुभयो, ‘जेलमा बसेका साथीहरुको अवस्था थाहा पाउन, पत्रपत्रीका उपलब्ध गराइदिन र मानवअधिकारकर्मी तथा पत्रकारहरुसँग सम्पर्क बढाईदिनका लागि मैले आग्रह गरेको थिएँ’ उहाँ भन्नुहुन्छ, ‘ति सबै कुरामा रविन्द्रजीको सकारात्मक सहयोग रह्यो ।’
जनयुद्धका क्रममा घाइते भएकाहरुको उपचार, आइसिआरसीसँग सम्बन्ध जोड्ने काममा तत्कालीन माओवादीलाई अधिकारीले सहयोग गरेको धितालले स्मरण गर्नुभयो । ‘पोखरामा भएका धेरै कार्यक्रममा उहाँले माओवादीलाई राजनीतिक ढंगले हेर्नुपर्छ भनेर भाषण पनि गर्नुभएको थियो’ धितालले भन्नुभयो, ‘हामीप्रतिको उहाँको ब्यवहारमा कुनै ढाँटछल थिएन, ब्यवहार एकदमै सफा थियो ।’ पोखराबाट अलि परको गाऊँमा बसेका धिताललाई पोखराबाट पत्रपत्रीका पठाइदिनका लागि पनि अधिकारीले सहयोग गरेका थिए । त्यसपछि पनि कैयौं पटक दुई नेताको भेटघाट भयो । २०६४ को संविधानसभामा धिताल र अधिकारी दुबै सभासद् थिए । कैयौं पटकको भेटको कैयौं कुराकानी भन्दा पनि धिताललाई यो शोकको घडीमा पहिलो पटकको भेटमा अधिकारीले भनेको एउटै वाक्यको सम्झना आइरहेको छ । ‘रविन्द्रजीले जाने बेलामा भन्नुभयो, ‘राज्यले भएभरको शक्ति लगाएको छ, बचेर हिँड्नु होला है, राजनीति त बाँचे मात्रै हुने हो ।’




