| मङ्लबार, बैशाख १, २०८३

संग्रहालय थप व्यवस्थित बनाउ

गोरखा संग्रहालय अवलोकन गर्ने पर्यटकको संख्या बर्षेनी बढ्दो छ । गोरखा आउने अधिकांश पर्यटकलाई यसले आकर्षित गर्छ नै । त्यसो त अहिले शैक्षिक भ्रमणको सिजन पनि हो । हरेक बर्ष बिभिन्न जिल्लाबाट आएका बिद्यार्थीहरुको भीड संग्रहालयमा देखिन्छ । चालु आर्थिक बर्षको तथ्याङ्क केलाउने हो भने चार महिनाको अवधिमा संग्रहालय अवलोकन गर्नेहरुको संख्या ३६ हजार नाघिसक्यो । अवलोकनकर्ता बढेसँगै राजश्व बढ्नु स्वभाविक हो । संग्रहालयलाई थप व्यवस्थित गर्न सके अझ पर्यटकको संख्यामा थप बृद्धि हुनेमा कुनै दुइ मत छैन ।

गोरखा आएका पर्यटकलाई गोरखामा केही समय भुलाउने ठाउँहरु खासै छैनन् भन्ने जनगुनासो बारम्वार सुनिन्छ । त्यसैले पनि होला गोरखा आएका अधिकांश पर्यटक केही बेर गोरखा घुमेर बस्नका लागि अन्य जिल्ला जाने गर्छन् । जिल्ला आएकामध्ये ५० प्रतिशत पर्यटकलाई मात्र एक रात जिल्लामा बस्ने वातावरण सृजना गर्न सकियो भने जिल्लाको आर्थिक समृद्धिमा नगन्य टेवा पुग्छ । यसका लागि सम्बन्धित निकायको पहल कदमी आवश्यक छ ।

यसो भन्दै गर्दा जिल्लामा पर्यटक टिक्ने ठाउँहरु छदै छैनन् भन्ने चाही होइन । सानो व्यवस्थापनले पनि अहिले भइरहेको ठाउँहरुमा पर्यटकलाई भुलाउन सकिन्छ । अन्य कुरा भन्दा संग्रहालयकै कुरा गरौ । संग्रहालय आएका पर्यटकलाई केही समय भुलाउने खालका पूर्वाधार र केही नयाँ कक्षहरु थप गर्न आवश्यक छ । पृथ्वीनारायण शाहले राज्य गरेको गोरखा दरवार र राज्य एकीकरणका इतिहासलाई समेटेर वृत्तचित्र निर्माण गरी देखाउन सके उचित हुने छ ।

त्यस्तै जिल्लामा रहेको ऐतिहासिक र पर्यटकीय स्थलबारे संग्रहालयबाटै श्रव्यदृष्यमार्फत पर्यटकले थाहा पाउन सके पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्ने छ । संग्रहालयका कक्षहरुलाई थप बिस्तार गर्नुपर्ने देखिन्छ । बसपार्कस्थित गेटबाट पर्यटकलाई प्रवेश गराई ठुलोआँगनको गेटबाट बाहिरिने व्यवस्था मिलाउनु अति आवश्यक छ । यसले पर्यटकको संग्रहालय अवलोकनको समयलाई बिस्तार मात्र होइन सवारी पार्किङको समस्यालाई पनि हल गर्छ ।

अवलोकनबापत पर्यटकबाट उठेको राजश्वको केही प्रतिशत रकम संग्रहालय व्यवस्थापन र बिस्तारमा जिल्लाबाटै खर्च गर्न पाउने प्रावधानका लागि आवश्यक पहल गर्नुपर्ने देखिन्छ । संग्रहालयलाई थप व्यवस्थित गर्दै पर्यटन प्रवद्र्धन गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्