| आइतवार, मंसिर ६, २०८३

गोरखामा सुरक्षा व्यवस्थापन कमजोर बन्दा चोरीका घटना बढे

फितलो सुरक्षा व्यवस्थापन र प्रभावकारी निगरानी अभावका कारण जिल्लामा पछिल्लो समय चोरीका घटना बढ्न थालेको छ । शुक्रवार एकै दिन पाँच वटा घरमा चोरी भएको जिल्ला प्रहरी कार्यालय स्वयमले जनाएको छ । गोरखा नगरपालिका–२ शिखरस्थित शान्ति श्रेष्ठको घरबाट एक लाख नगदसहित दुई तोला सुन चोरी भएको जिल्ला प्रहरी प्रमुख एसपी अनिलकुमार खड्काले बताए ।

त्यस्तै पालुङटार नगरपालिका–१ खोप्लाङस्थित इश्वर नेपालीको घरबाट ७० हजार नगदसहित सुनको गहना (एक थान छड्के तिलहरी र औठी) चोरी भएको उनले जानकारी दिए । उनका अनुसार पानपा वडा नम्वर ४ भिमबहादुर घिमिरेको घरबाट नगद ३३ हजारसहित सुनको तिलहरी चोरी भएको छ । सोही स्थानकी अञ्जना घिमिरेको घरबाट ३२ हजार नगदसहित मंगलसुत्र चोरी भएको छ भने वडा नम्वर ६ की सरस्वती थापाको घरबाट तीन हजार नगदसहित केही गहना चोरी भएका छन् ।

घरमा कोही नभएको मौका छोपि दिनदहाडै ताल्चा फुटाएर चोरी भएको पीडितले बताएका छन् । यता भीमसेन थापा गाउँपालिका–२ ओख्लेस्थित दिपक पाण्डेको घरमा पनि चोरीको प्रयास भएको थियो । ढोकामा लगाएको ताल्चा फुटाएपनि सामान भने चोरी नभएको बताइएको छ ।

कात्तिक ३ गते भीमसेन थापा गाउँपालिका–५ बगुवाका होमबहादुर दानकोटीको घर चोरी भएको थियो । घरको ताल्चा फुटाएर ५० हजार नगदसहित सुनको तिलहरी चोरी भएको बताइएको छ । त्यस्तै कात्तिक २७ गते बारपाक सुलिकोट गाउँपालिका–६ का श्यामप्रसाद भट्टको घरबाट सात हजार नगदसहित ६ बट्टा पाइलट चुरोट चोरी भएको थियो । कात्तिक १ गते गोरखा नगरपालिका ६ पाटेचौरस्थित शक्ति माध्यमिक बिद्यालयमा चोरी भएको थियो ।

यी दुई घटनामा संलग्नहरुलाई भने प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ । तर अन्य चोरीका घटनामा भने प्रहरी असफल देखिएको छ । दिनदहाडै सदरमुकाम आसपास चोरी घटना बढ्नुले जिल्लामा सुरक्षा चुनौति थपिएको छ । सदरमुकाम आसपास सर्वसाधारणका घर र पसलहरु असुरक्षित बनेको भन्दै स्थानीय त्रसित छन् । सुरक्षा व्यवस्था प्रभावकारी बनाउन पीडितहरुले आग्रह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयले भने घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । ‘हामीले प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटाएका छौ,’ एसपी खड्काले भने, ‘सिभिलमा पनि टोलि परिचालन भएका छन् ।’ पछिल्लो समय जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन कमजोर बन्दै गएको छ । चोरीका घटना बढेपनि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । पछिल्लो समय जिल्ला जुवातासको अखडा बनेपनि नियन्त्रणमा प्रहरीले चासो नदिएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्