| आइतवार, कार्तिक २९, २०८३

माहिलीको मायाले लापु गाउँमा डोहोर्यायो फ्रान्सेली नागरिकलाई

शिव उप्रेती : ट्रेकिङका लागि लापु आइपुगेका थेइरी लाङ्गेन्बर्गलाई उनका गाइड चित्र गुरुङले लापुस्थित आफ्नै घर पु¥याए । फ्रान्सको क्लिनिक दि ला सोर्समा काम गर्ने डाक्टर थेइरीलाई जब चित्रले सुत्केरी हुन नसकेर आफ्नी जेठी दिदी यमीको अकालमा मृत्यू भएको र जीवनजल नपाउँदा माहिली दिदीको झाडा पखालाबाट मृत्यू भएको कथा सुनाए, डाक्टर भावुक भए र आफ्नो देश फर्केपछि लापु गाउँको जनस्वास्थ्य क्षेत्रमा सहयोग गर्ने बचन दिए । छ बर्षअघिको त्यो प्रतिज्ञा डाक्टर थेइरीले अहिले पनि बिर्सेका छैनन् । गोरखाको दुर्गम धार्चे गाउँपालिका ७ लापुकी माहिली गुरुङको नाममा उनले फ्रान्समा ‘माहिली’ र नेपालमा पनि ‘माहिली नेपाल’ नामको संस्था गठन गरे । माहिली मार्फत उनले फोहर खानेपानी, सौचालयको अस्त व्यबस्ता, शिक्षा र चेतनास्तर सुधार गर्न फ्रान्समा बर्षेनी रकम सङ्कलन गर्ने गर्छन् । ‘विशेष गरी उनीहरुले पस्मिना बेचेर अर्थ सङ्कलन गर्छन्’, चित्र भन्छन्, ‘बिभिन्न खालको च्यारिटीबाट जुटेको रकमले लापुमा शिक्षा, स्वास्थ्य, खानेपानी र वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेका छन् ।’ २०७२ सालको भूकम्पले क्षतविक्षेत भएका बेला माहिली नेपालले लापु र गोरखा जिल्ला अस्पतालमा पनि सहयोग गरेका उनले बताए ।
माहिलीको मायाले लापुप्रति आकर्षित डाक्टर थेइरी र सो संस्थाका सक्रिय सदस्यहरु बेरोनिक लाङ्गेन्बर्ग, डोम्युनिक वाह्लेन र प्याटिूक वाह्लेन प्रत्येक बर्ष लापु पुग्छन् । केहीदिन गाउँमै बस्छन्, गाउँ लेसंग रमाउँछन् । गाउँले सबैको साथ मा डोको बोकेर प्लास्टिक तथा अन्य फोहर टिपेर सरसफाइ अभियान चलाउँछन् । गाउँमा केही परिवर्तन आएको छ कि छैन अध्ययन गर्छन् र आवश्यक सहयोग गर्ने गरेका छन् । ‘लापुको कालरात्री माविमा तीनकोठे विद्यालय भवन बनाएका थिए । भूकम्पले भत्कियो । फेरि बनाइदिए’, माहिली नेपालका प्रतिनिधि लापुका स्थानीय गणेश गुरुङ भन्छन्, ‘गाउँको करिब तीनसय घरका लागि खानेपानी योजना निर्माण गरिरहेका छन् । सबै घरमा सौचालय निर्माण गरिदिए ।’ सो विद्यालयमा अध्ययनरत बालबालिकाका लागि १० कोठे छात्रावास भवन निर्माणको काम गरिरहेका उनले बताए । ‘५० जना बालबालिका अट्ने भवन बनाउन लागेका छौं’, उनले भने, ‘तीन रोपनी जग्गा खरिद गरिसकेका छौं । एउटा भवन यो बर्षभित्र बनिसक्छ । अरु क्रमशः बनाउने हो ।’ ग्रीन इनर्जी कार्यक्रम अन्तर्गत वातावरणमैत्री चुल्हो निर्माणका लागि माहिलीले गाउँका १० जनालाई राजधानी लगेर तालिम दिएका छन् । उनीहरु फर्केपछि प्रत्येक घरमा वातावरणमैत्री चुल्हो बनाउने उनले बताए । उनीहरुको आगमनपछि गाउँको स्वास्थ्य अबस्था परिवर्तन भएको गाउँले बताउँछन् । ‘प्रत्येक बर्षजसो गाउँमा झाडापखाला फैलिन्थ्यो तर यो बर्ष फैलिएन’, गुरुङ भन्छन्, ‘यसमा पक्कै पनि फ्रान्सेलीहरुकै सरसफाइ अभियानको योगदान हो भन्ने लागेको छ ।’ भूकम्पले थिलोथिलो पारेका बेला पाँचसय घरलाई राहत बाँडेका फ्रान्सेली टोलीलाई गाउँमा पाउँदा लापुबाशी पनि खुशी हुने गरेका उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्