
दोहोरो नागरिकता लिनेहरु प्रहरी प्रशासनको फन्दामा
प्रतीक्षा आले ।
पछिल्लो केही समययता गोरखामा दोहोरो नागरिकता लिनेहरु प्रहरीको फन्दामा पर्ने क्रम बढेको छ । ढाँटछल गरी दोहोरो नागरिकता बनाउनेहरु धमाधम खोजतलास गरी कारबाही गर्न थालिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
तथ्यांक विश्लेषण गर्दा यस आर्थिक बर्षको सात महिनामा नौ जना प्रहरीको फन्दामा परिसकेका छन् । नौजना विरुद्ध मुद्दा दर्ता गरिएकामध्य चारजनाको मुद्धा फछ्र्यौट भइसकेको जिल्ला प्रहरी प्रमुख एसपी भरतबहादुर बिकले बताए ।
झुठा विवरण पेश गरी दुईवटा नागरिकता लिनेहरुको खोजी गरी मुद्दा दर्ता गरेर कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाउने गरिएको उनले बताए ।
राष्ट्रिय परिचयपत्र बनाउने क्रममा दोहोरो नागरिकता बनाउनेहरु धमाधम फेला पर्ने एसपी विकको भनाइ छ । ‘आपराधिक गतिविधिमा संलग्न हुन, अवैध धनसम्पत्ति लुकाउन, वैदेशिक रोजगारीमा जान, स्वदेशमै पनि जागिरको अवधि बढाउन लगायतका गैरकानून कामका लागि दोहोरो नागरिकता लिने गरेको पाइएको छ’, एसपी बिकले भने, ‘गोरखाको हकमा भने विशेष गरी विदेश जान वा रोजगारीका लागि उमेर घटाउन, सेनामा भर्ती हुन र शैक्षिक योग्यता मिलाउन दोहोरो नागरिकता लिएको देखिन्छ ।’ नियत राम्रै भए पनि दोहोरो नागरिकता लिने काम कानूनअनुसार अपराध हुने उनले बताए ।
नेपाल नागरिकता ऐन २०६३ अनुसार दोहोरो नागरिकता लिएमा एक वर्षदेखि ५ वर्षसम्म कैद, एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ ।
गोरखामा चालु आर्थिक वर्षको साउनयता नागरिकता किर्तेको एउटा घटना दर्ता भएको छ ।
जिल्लामा बैकिङ कसुरको दर पनि बढ्दो रहेको जिल्ला प्रहरी प्रमुख भरत विक बताउँछन् । साउन यता सबैभन्दा धेरै बैकिङ कसुरको ३८ वटा मुद्धा दर्ता भएका छन् । जसमध्ये ३२ वटा मुद्धा फछ्र्यौट भैसकेको उनको भनाइ छ ।




