| बुधबार, असार ९, २०८३

पाङबारी हिमालमा बेपत्ता दुई इटालेली आरोहीको शव फेला

गोरखास्थित पाङबारी हिमालमा विगत पाँचदिनदेखि बेपत्ता दुई इटालेली आरोहीको शव फेला परेको छ । मंगलबार पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षका स्तेफानो फरिनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
उनीहरु हिउँले पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाको सूचना अधिकारी डिएसपी राजकुमार श्रेष्ठले बताए । मृतक आरोहीहरुको शव हेलीमार्फत सामागाउँ ल्याई राखिएको उनले जानकारी दिए ।
७००५ मिटर अग्लो पाङबारीे हिमालबाट फर्कने क्रममा तीन इटालेली र एक नेपाली सहयोगी गत हप्ताको बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए । इटालीका ६५ वर्षीय भेल्टर पेरलिनो आधार शिविरमा र ६७ वर्षका स्तेफानो फरीनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटो सो हिमालको पहिलो शिविरमा फँसेको प्रहरीको भनाई छ । हिमाल आरोहण गर्न नसकी फर्कने क्रममा हिमपातले बाटो अवरुद्ध भएर उनीहरु फँसेका थिए ।
५००० मिटर उचाइमा अवस्थित पाङबारी हिमालको बेसक्याम्पमा फँसेका ६५ बर्षका भेल्टर परलिनोको भने आइतबार बिहान १० बजे हेलिकोप्टरबाट उद्धार गरिएको थियो । उनको साथमा बेसक्याम्पमा रहेका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि हेलिकोप्टरबाट उद्धार गरि उपचारका काठमाडौँ पठाएको प्रहरीको भनाई छ ।
फोटो ः जिल्ला प्रहरी कार्यालय गोरखा ।

प्रतिक्रिया दिनुहोस्