
चुम्चेतमा टावर बनेको ६ महिना बित्यो, अझै सञ्चालनमा आएन
सूचना र सञ्चारको द्रुत विकास भइरहेको वर्तमान समयमा पनि मोबाइल सेवाबाट वञ्चित हुनुपरेको जनगुनासोपछि सरकारले चुमनुब्री ६ सिप्चेतमा मोबाइल टावर निर्माण ग¥यो । अब हात(हातमा मोबाइल हुने भयो, घर(घरमा मोबाइल चल्ने भयो भनेर स्थानीयबासी हर्षित पनि भए ।
टावर बनेको ६ महिना बितिसकेको छ, तर सेवा भने अझै लिन नपाएको गुनासो स्थानीयको छ ।
‘टावर त गत चैत, बैशाखतिरै बनेको हो तर अहिलेसम्म सेवा लिन पाएको छैन’, स्थानीय गोपाल लामाले भने, ‘गाउँमै टावर बन्यो । अब दिनरात सबैतिर मोबाइल चल्ने भयो भनेर सबैजना खुशी भयौँ तर, हात्ती आयो, हात्ती आयो फुस्सा जस्तो भएको छ ।’ निर्माण कम्पनीले अहिलेसम्म टावरमा लाइन जोडेको छैन । टावरसम्म पोल पनि नगाढेको लामाले जानकारी दिए ।
चुमनुब्री ६ को चुम्चेत, खारुङ, यार्चो, लोक्पामा न्याकस्थित टावरले नेटवर्क दिन्छ । चुम्लिङ, सिप्चेत, रेञ्जोम, घो र छि मा छेकम्पारस्थित टावरले काम गर्छ । तर टावर टाढा भएकाले राम्ररी मोबाइल चलाउन नपाइने स्थानीयको गुनासो छ ।
‘छेकम्पार र न्याकको टावरले अलिअलि मोबाइल चलाउने गरेका छौँ’, गोपाल लामा भन्छन्, ‘ती टावरहरु धेरै टाढा भएकाले घरभित्र टिप्दैन । घर आँगनमा पनि टावर नटिपेर केही पर, अग्लो ठाउँतिर जानुपर्छ । फोरजी त झन् कतै चल्दैचल्दैन । चल्ने ठाउँमा पनि एकदम कम मात्र काम गर्छ ।’
सिप्चेतको टावर गत बर्खा अघि नै निर्माण सम्पन्न भए पनि सञ्चालन नभएको नेपाल टेलिकम गोरखाका प्रमुख सूर्यप्रसाद पाण्डेले जानकारी दिए । भेल बाढी बर्षा सकिएलगत्तै बाँकी काम थाल्ने गरी निर्माण कम्पनीले छाडेको उनको भनाइ छ ।
‘तिहार लगत्तै काम गर्छौँ भनेर गएका हुन्, अब आउँछन् होला’, पाण्डेले भने, ‘हामी पनि निरन्तर फलोअप गर्नेछौँ ।’ विद्युत प्रशारण लाइन जोड्न बाँकी रहेकाले सो जडान हुनेवित्तिकै सेवा सुरु हुने उनले बताए ।




