| शनिबार, बैशाख ८, २०८१

आलेख ः ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र बूढीकोट

ऋषि खनाल
१. परिचय
गोरखा जिल्लाको प्रमुख प्रवेशद्वार देउराली गा.वि.स.को शीर बनेर बसेको समुन्द्रको सतह देखि १३९५ मिटर उचाईमा रहेको बुढीकोट ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा प्रशस्त संभावना भएर पनि प्रचार प्रसारको अभावमा इतिहासकै गर्भमा सिमित हुन पुगेको छ । दरौंदी नदी र मस्र्याङ्दी नदीलाई दुई पाउ बनाएर उभिएको बुढीकोट मा गोरखकाली रबर उद्योगवाट करिव ७ कि.मि. कच्चीरोडको (जीपमा ३० मिनेटको) यात्रा गरेपछि पुगिने देउराली गा.वि.स.को भवनबाट करिव १ घण्टाको पैदल यात्रा उक्लिए पछि पुग्न सकिन्छ । बुढीकोट ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण स्थानको रूपमा लिने गरिन्छ ।
२. ऐतिहासिक स्थलको रूपमा बूढीकोटः
बुढीकोटलाई ऐतिहासिक स्थलको रूपमा परिचित गराउन सकिन्छ । यस कोटमा पुराना राजाहरुको गढी र किल्लाहरूका भग्नावशेष हरू प्रशस्तै देखिन्छ । बुढीकोटको गढीमा दरवारका लागि धान कुट्ने ओखलदेखि दरवारले पानी खाने इनार राजाको आराम गर्ने ढुङ्गाकै तकिया भएको विच्छ्यौना आकारको ठुलो ढुङ्गो, राजाका दरवार र त्यसको कम्पाउण्ड वालको भग्नावशेष राजाले पुजा गर्ने मन्दिर रहेको छ । यसका अतिरिक्त रानीले पानी खाने भएकोले नजिकै रानी पानी, रानी वन, तथा दरवारले भात खाने रानीवारी खेत पनि यद्यपि छ । राजाको गढीलाई संरक्षण गर्न गढीको उत्तर र दक्षिण तर्फ रहेको तोप राख्ने ढुङ्गा वा तोपले छेडेको ढुङ्गा, हजारौं सेना परेट खेल्न मिल्ने टुडिखेल पनि रहेको छ । यस कोटको एक कोस दक्षिण तर्फ जङ्गलको बिचमा रानी ओडार रहेको छ । भनिन्छ यो ओडारमा बुढीकोटका राजा सत्रुबाट पराजित ÷ मृत्यु भए पछि रानी आएर लुकेकी हुन भनिन्छ । यस भनाइले केभन्न सकिन्छ भने राजालाई दुस्मनले सिद्धाए पछि एक्ली रानी सहारा विहीन भएर यस ओडारमा आएर लुकेकी हुनु पर्छ ।
इतिहासमा बुढीकोटको बारेमा कुनै कुरा उल्लेख नभए तापनि यस गढीमा राजा भएको कुरा त्यहाको भग्नावशेषहरूले प्रमाणित गर्दछ । यी राजाको समय लिगलिगकोटमा द्रव्यशाहले दखल गर्नु पूर्वको हुनु पर्छ । त्यस पूर्व गोरखाका लिगलिगकोट, गोरखा राज्य सबै नै मगरराजाहरूले राज्य गरेको पाइन्छ । जब द्रव्यशाहले लिगलिगकोट हुदै गोरखा दखल गरे त्यस पछि उनका भारदारहरुले पनि गोरखाका अन्य मगर राज्यहरू कब्जा गरी गोरखालाई एकीकृत राज्य बनाउने सन्दर्भमा देउराली राज्य पनि गोरखामा गाभिएको मानिन्छ । यसको थप प्रमाण यसकोटको पूर्व तर्फ प्युघर गाउमा ठकुरीहरू र दक्षिण तर्फ गोरुङ सलाङगिरीमा मगरहरूको बाक्लो बस्ती भएकोले पनि प्रमाणित हुन्छ । पराजित मगरहरू दक्षिण तर्फ र विजित ठकुरीहरू पूर्व उत्तर तर्फ बसेको देखिन्छ ।
बुढीकोटको राजाको बारेमा अर्को एउटा जनश्रुति पनि पाइन्छ । १५औं शताब्दीतिर बुढीकोटमा मगर राजालाई डोटीबाट आएका ठकुरी राजाले पराजित गरी शासन सुरु गरे ।जुन राज्य लम्जुङको अधिनस्थ थियो । वि.सं. १७३९ तिर पृथ्वीपति शाहको पालामा सो राज्य गोरखाको अधिनमा आएको तथ्य इतिहासवाट प्रमाणित हुन्छ । “ नौ वर्ष सम्म लडाई गर्दा पनि वैरीलाई गोरखालीहरूले हराउन नसकेकाले १२ वर्षदेखि ८० वर्षसम्मका मानिसहरुलाई जम्मा गरेर लिगलिग,बक्राङ, मिरकोट, धुवाकोट, द्यौरालीमा रहेका लमजुङे फौज माथि अकास्मात हमला गरी लमजुङेहरूलाई मस्र्याङ्दी र चेपे कटाए ”( पन्त,१५९ः२०४५ ) । बुढीकोटे राजाको नगरा लगाउन नगरेहरुलाई ल्याएर बुढीकोट नजिकै कोदार भन्ने ठाउँमा राखे । ती नगरेहरुलाई हाल नहर्की भनेर चिनिन्छ । नहर्कीहरु कोदारमा आए पछि उनीहरूकी देवी अकलाले एकरात कृष्ण नहर्की भन्नेलाई सपनामा“म पनि तिमीहरु संगै आएको छु मस्याङ्दीको किनारमा आधा डुवेर बसेको छु” भने पछि विहानै हेर्न जाँदा सपनामा भनेजस्तै अकला बसेको देखियो पछि पुजा गर्न अप्ठेरो भएकोले नजिकै लगेर मन्दिर बनाई राख्ने काम भयो र डोटीमा गएर बुझ्दा त्यहाँ अकला नभएकी तथ्य पुष्टि भयो हाल डोटीको अकला रहेकी उक्त स्थानमा पाति चढाउने प्रचलन रहेकोछ (क्षेत्री,८६ः२०५७ )। यस ऐतिहासिक जनश्रुतिले पनि यो ठाउँमा कुनै शक्तिशाली राजाले शासन गर्दथे भन्ने पुष्टी हुन्छ ।
३. धार्मिक स्थलको रूपमा बुढीकोट ः
बुढीकोटलाई बुढीकोटी देवी, बुढीद्यौती भनेर पुकारिन्छ । प्रथमतः यहाँ बुढीकोटी देवीको रहस्यमय चमत्कार देखिन्छ । नाङ्गो आखाले बुढीकोटीको शिलालाई हेर्दा कुनै आकार प्रकार देख्न सकिदैन तर फोटो खिचेर हेर्ने हो भने यो शिलामा घुम्टो ओडेकी एउटी महिलाको तस्वीर देख्न सकिन्छ ।
बुढीको यस भेकका देवीहरु मनकामना, बक्रेश्वरी, इच्छा कामना, गोरखकाली, लकाङ कालीका र छिम्केश्वरीले जस्ता छवटी देवीले घेरिएर बसेकी छन् । त्यसैले यी सातवटी देवीमा सबै देवी भन्दा जेठी, बुढी, वा अभिभावकीय भूमिकामा रहेकी देवी भनेर पनि चिनिन्छ । मस्र्याङ्दी नदी र धर्मावती ( दरौंदी ) नदीले तीनतिरवाट घेरिएकी बुढीकोटको धार्मिक मान्यता पनि महत्व पूर्ण रहेको छ । यी सातवटै देवी एउटै आमाका छोरीहरु हुन । यी देवीहरुको छुट्टा छुट्टै धार्मिक मान्यता रहेका छन् । तर बुढीकोटीको दर्शन गर्ने हो भने यी सबै देवीले दिने आशिर्वाद यहीवाट प्राप्त गर्न सकिन्छ अथवाबुढीकोट ीसँग नमाग्ने माग केही पनि हुदैन र उनीले नदिने बरदान पनि केही छैन भन्ने धार्मिक मान्यता रहेको छ । किनकी बुढीकोटी यी सबै देवीहरूमध्ये सबै भन्दा जेठी र सर्वश्रेष्ठ भएकी हँुदा यी देवीको दर्शन गरे पछि समयाभाव भएमा अन्य शक्तिपिठको दर्शन गरिरहनु पर्छ भन्ने जरुरी छैन भन्ने मान्यता रहेकोछ ।
बुढीकोटीलाई किसानकी देवी भनेर पनि पुकारिन्छ । लामो खडेरी प¥यो भने, खेती बिग्रियो भने सात बिस देउराली ( पहिले सातबिस घर भएकोले ) का सबै जनता बाजा गाजाका साथ बुढीकोटीमा गएर प्रार्थाना गरे पछि निरोधारो पानी पर्ने र त्यहाँ गएका मानिस निथुक्कै रुझेर आउने गर्छन । यो परम्परा यद्यपि कायमै छ । यसरी किसानहरूले पानीको माग गर्ने, बाढी पौरो एवं दैवी प्रकोप, प्राकृतिक प्रकोपवाट यस क्षेत्रको संरक्षण होस भनेर वर्षमा एक पटक बारना गर्ने चलन पनि कायमै छ ।
४. पर्यटकीय क्षेत्रको रूपमा बुढीकोट ः
दरौंदी नदी र मस्र्याङदी नदीले तिनतिरबाट घेरिएको वा यी दुई नदीलाई दुई शिशु झैं काखमा लिएकी,देउराली गा.वि.स.लाई आप्mनो वक्षस्थलमा सजाएकी बुढीकोट पर्यटकीय स्थलको रूपमा पनि महत्वपूर्ण रहेको छ । समुन्द्रको सतहदेखि १३९५ मिटरको उचाईमा रहेको बुढीकोट बाहिरवाट ज्यादै चुचुरो देखिए तापनि त्यहाँ रहेको टुडिखेल तथा चुचुरामा रहेको समथर ठाउँले मानिसहरूको आवतजावतलाई सजिलो बनाई दिएको छ । बुढीकोटको चुचुराबाट देखिने मस्र्याङ्दीउपत्यका सोरा फांट, मिरकोट धुवाकोट का दृश्यास्वादन लगायत मनकामना, कालिका तथा छिम्केश्वरीलाई नै लम्किएर छुम्ला जस्तो देखिन्छ । यस ठाउँवाट उत्तर तर्फको पूर्वदेखि पश्चिमसम्म मनासलु,अन्नपूर्ण, गौरी शङ्कर, माछापुच्छूे,चुलाचुली आदि हिमालको अग्लो बार देखिन्छ । बुढीकोटको फेदीमा मानव बस्ती, त्यस भन्दा माथि सालको ठुलो जंगल , त्यस भन्दा माथि लाली गुरासको घारी र सधै शिरमा खेल्ने बादलले बसन्तको अगमानमा त यो लेक हरियो सारी लगाएकीरातो चोली लगाएकी, सेतो सल ओडेकी बेहुली जस्ती देखिन्छ ।गोरखा जिल्लाको हिमालभन्दा तलको भूभाग सर्लक्कै देखिने यस ठाउँबाट गोरखा र तनहुँको दृश्यास्वादनका साथ लालीगुरासको जङ्गल बिचमा पिकनिकको रमझममा रमाउने ठाउँहरूका लागि पनि यो आकर्षणको केन्द्र बनेको छ । यसका साथै यस कोटको पश्चिम तर्फ रहेको सिद्ध गुफाले पनि यसको महत्वलाई बढाएको छ ।
नेपालमा धेरै अवलोकन योग्य क्षेत्रहरू रहेका छन्। त्यस्ता क्षेत्रहरू कुनै पर्यटकीय दृष्टिकोणबाट महत्वपूर्ण रहेका छन, कुनै धार्मिक
दृष्टिकोणवाट त कुनै ऐतिहासिक दृष्टिकोणवाट महत्वपूर्ण रहेका छन् । तर बुढीकोट एकमात्र यस्तो पवित्र स्थल हो जहाँ सातवटै देवीको दैवीक आशिर्वाद÷शक्ति प्राप्त हुनाका साथसाथै भरपुर पर्यटकीय दृश्यावलोकन गर्न पाइने र आध्यात्मिक शान्ति पनि प्राप्त हुने ऐतिहासिक धरोहरको पनि अध्ययन अनुसन्धान गर्न सकिने समग्र आनन्दको एउटै स्रोत बनेको छ । त्यसकारण बुढीकोट गढी यस क्षेत्रको मात्र नभई नेपालकै ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्यकालागि उत्कृष्ठ स्थान बन्न सक्छ ।
बुढीकोट क्षेत्र विकासका लागि गर्नु पर्ने कार्यहरु
क..बुढीकोट मन्दिरको निर्माण तथा ओरिपरी बारको व्यवस्था गर्ने ः
ख.बुढीकोट गढीमा रहेका पुराना राजाको दरबार,कोत, गढी, इनार,जोगीको गुफा तथा चौतारो एवं राजारानीसँग सम्बन्धीत विभिन्न ऐतिहासिक बस्तुहरुको संंरक्षण एवं पुननिर्माण,
ग. मन्दिरसम्म पुग्ने पर्यटकीय मार्ग निर्माण ः
दोस्रो मार्गको रुपमा पृथ्वी राजमार्गको मार्किचोक हुँदै मस्र्याङ्दी नदीको जलाशय पार गरेर गोप्लिङफाँट ,अकला मन्दिर हुँदै सलाङ्गिरी तथा गोरुङ गाउँ हुदै बुढीकोटसम्म पुग्ने मार्ग ।
तेस्रो मार्गका रुपमाभट्टबेसी प्युघर बेसी हुँदै प्युघर गाउँ निक्लिएर बुढिकोटको उत्तरी मोहडाबाट विभिन्न हिमालहरुको दृश्यास्वादन गर्दै उक्लने पदमार्ग ।
घ.होमस्टे तथा स्थानीय साँस्कृतिक झाँकी व्यवस्थापन तालिम ः
यसै गरी खानामा सिस्नाको ढिडो र तरकारी, कोदाको मकैको ढिडो,मस्याङ्दी( दरौदी को माछाका परिकार, स्थानीय सुंगुरको मासुको परिकार , लोकल कुखुराको मासु, तथा स्थानीय गाईभैसीका दुधको परिकार, र कोदाको लोकल रक्सी आदिको व्यवस्थापन गर्न सकिने भएकोले सो को तालिम दिन आवस्यक छ ।
ङ. प्रचार प्रसार ः
बुढीकोटको प्रचार प्रसारका लागि आवस्यक डकुमेन्टूी निर्माण गर्ने, बु्रसर बनाउने, रेडियो तथा एफ.एम कार्यक्रम संचालन गर्ने, अध्ययन भ्रमण तथा साहित्यिक पदयात्रा, पत्रकार भ्रमण लगायत उपुक्त समयमा पर्यटन मेला लगाउने जस्ता कार्यक्रमहरु संचालन गर्न सकिनेछ ।
च. बुढिकोट क्षेत्र विकास समिति गठनः
आन्तरिक तथा वाह्य पर्यटक वृद्धि गर्नका लागि बुढिकोट क्षेत्र विकास समिति प्रदेश सरकारबाट गठन हुनु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्