| मङ्लबार, भदौ १, २०८३

गोरखामा आदिवासी जनजातिको अवस्था र पर्यटन विकास

विष्णु राना ः
आदिवासी जनजाती उत्थान राष्टिूय प्रतिष्ठान २०५८ को अनुसुचि बमोजिम सुचिकृत ५९ जाती मध्ये गोरखा जिल्लामा संगठानात्मक हिसावले नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद गोरखामा ९ वटा जातीय संगठनहरु आवद्ध रहेका छन् । जस मध्ये मगर, गुरुङ्ग, तामाङ्ग, नेवार, कुमाल, वराम, चेपाङ्ग, भुजेल र माझी रहेका छन् ।
२०६८ को जनगणना अनुसार गोरखामा आदिवासी जनजातीमा सुचिकृत मध्य थाई र अस्थाई गरी १८ वटा जातिहरु वसोवास गरेको पाइन्छ । जिल्लाको कुल जनसंख्याको ५७ प्रतिशत जनसंख्या आदिवासि जनजाती समुदायले ओगटेको छ । अर्थात कुल जनसंख्या २७१०६१ मध्ये १४६६१८ रहेको तथ्याङ्कले देखाउँदछ । उक्त तथ्याङ्कलाई आदिवासी जनजातीले अझै वढि हुनु पर्दछ भन्ने मान्यता राखेको छ । किनकी तथ्याङ्क संकलन गर्दा केही जातिय समुदायको थर गैर आदिवासी संग मिलेको हुनाले सहि तथ्याङ्क आउन नसकेको अनुमान गरिन्छ । गोरखा जिल्लाको आदिवासी जनजाती मध्ये मात्र नभई सवै जातीय समुदाय भन्दा वढि जनसंख्या गुरुङ समुदायको रहेको छ । जस अनुसार गुरुङ्ग ५३३४२, मगर ३१३९०, नेवार २१०५४, तामाङ्ग १३३३९, कुमाल ८०२२, वरामु÷वराम ६७७५, घले ५१२३, चेपाङ्ग÷प्रजा ३४५४, घर्ति÷भुजेल २१८३, राई १९२, लिम्बु ८०, सुनुवार ६०, शेर्पा ४९ , भोटे २१ र थकाली १९ रहेको छ । २०६२÷६३ को जनआनदोलन पश्चात बनेको संघिय लोकत्रान्त्रीक संविधानमा समानुपातिक समावेसी सिद्धान्तलाई आत्मा साथ गरिएता पनि गोरखा जिल्लाको स्थानीय निकायहरुमा जातीय जनसंख्याको आधारमा सहभागीता ज्यादै न्यून रहेको छ । यसलाई व्यवाहारमा कार्यन्वयन गर्न र गराउन स्थानीय निकाय र सरोकारवालाहरुले ध्यान दिन जरुरी छ ।
गोरखा जिल्लामा आदिवासी जनजातीहरुको साँस्कृतिक पक्षले छुटै अर्थ र गरिमा वढाएको छ । विशेष गरी आदिवासी जनजातीहरुको मौलीक पहिचान झल्कने कौराहा, चुड्का, झ्याउरे, सोरठी, पाङदुरे, स्यार्गा, ठाँडो भाका, मारुनी, मेन्दोमाया, वोन्वो, तामाङ्ग सेलो, लामा नाँच, गाईजात्रा, टाक्टुके लाखे, लुसी नाँच, धिमेवाजा, वासुरी, शेर्पा नाँच आदी नितान्त आदिवासी जनजाती अन्र्तगत जातिय समुदायको पहिचानसंग जोडिएको साँस्कृतिक पक्षहरु हुन् । माथी उल्लेखित साँस्कृतिक पक्ष कुनै जातिय समुदायसंग जोडीए पनि यी सम्पदा ति समुदायको मात्र नभई गोरखा जिल्लाकै गहना हो भन्नेमा विवाद नै छैन् । यसलाई जिवन्त राखी नयाँ पुस्तामा हस्तातरण गरिदै लानु पर्दछ ।
अन्तत ति सम्पदाहरु संरक्षण र सम्वर्धन गर्ने दायित्व जातिय समुदायको मात्र नभई राज्य पक्षको पनि हो । हामि सबै मिलि ति सम्पतिको जर्गेना गर्नु लागी पर्नुपर्छ । यदि त्यसो गरिएन भने जिल्लाकै गहनाको रुपमा रहेको सम्पदाहरु यही धर्तीमा उत्पति भयो र यही माटोमा विलयन्न हुन पनि सक्छ । सवैले ध्यान दिने हो कि ? त्यसैगरी आदिवासी जनजातीहरुको महत्वपूर्ण पहिचान भनेको मातृभाषा हो । गोरखा जिल्लामा केही समुदायको मातृभाषा लोप भइ सकेको र केहीको लोप हुने अवस्थामा छ । हाल तमु भाषा, मगर भाषा, तामाङ्ग भाषा, कुमाल भाषा, नेवारी भाषा, वराम भाषा, चेपाङ्ग भाषा रहेको पाइन्छ । यी मातृभाषाहरु पनि दिनानुदिन लोप हुदै गएको छ । “वुढा मरे भाषा सरे” भन्ने वुढापाकाको जो भनाइ छ, आज चरितार्थ भएको पाईन्छ । यी आदिवासी जनजातीहरुको मातृभाषालाई राज्यले संरक्षण गर्नका निम्ति मातृभाषा प्रशिक्षण कार्यक्रम तय गर्नु पर्नेछ भन्ने माग गोरखाली आदिवासी जनजातीको रहेको छ ।
नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद गोरखाले गोरखा जिल्लामा रहेका सबै जातजातीहरुको विचमा जातिय संद्भाव कायम गरी गोरखा जिल्लाको सर्वाङगीण विकासमा योगदान गर्दे आएको छ । साथसाथै सामाजिक न्याय, समान्ता, समानुपातिक समावेशी धार्मिक, भाषिक र साँस्कृतिक अधिकार सुनिश्चिताका लागी विभिन्न समयमा आवाज उठाउदै आएको छ । त्यसको अलवा शैक्षिक जागरण, चेतना मुलक, सिप मुलक, आय मुलक प्रशिक्षणहरु दिदैं आएको छ । त्यसैगरी गोरखा जिल्लामा रहेका आदिवासी जनजातीहरुको आफ्नो मौलीक साँस्कृतिक चाडहरु तमुल्होसार, मगर(माघेसंकराती, सोनाम ल्होसार, ग्याल्वो ल्होसार, चण्डीपूणिमा, साउने सकराती, महपूजा, विशेष चाडको रुपमा मनाउने गरिन्छ । विशेष गरी आदिवासी जनजातीहरु प्रकृतिको पुजारी अर्थात प्रकृति पुजक भएको हुदा प्रकृतिलाई विभिन्न देवीदेवताहरुको रुपमा पुजेको पाइन्छ । जो हिजो पुर्खाहरुले पुज्दै आए र हामीले पनि पुज्दै गएका छौं, जस्तै भूमि अर्थात माटोलाई भुमे पुजा, वनजंगललाई वनदेवी, जहा पानिको मुहान छ त्याँहा जलदेवी र हावालाई वायुदेवताको रुपमा पुज्ने चलन छ । त्यस्तै भंगेरी पुजा, आइतवारे पुजा, गौडी पुजा, देउराली पुजा, चण्डी पुजा, नाँग पुजा, …….. इत्यादि । अब गोर्खालीले गोरखामा पयर्टन विकास गरि समृद्ध बनाउने हो भनी आदिवासी जनजातिको सहभागी विना असंभव छ । आदिवासीहरुको मौलीक ज्ञान, सिप, विकास, स्थानीय श्रोत साधन र पहँुच अधिकार सुनिश्चित गरी राज्यको हरेक अंगमा सम्मान जनक ढंगले समावेश गराइएको अवस्थामा पयर्टनको विकास भई सुखी र समृद्ध गोरखाको परिकल्पना पुरा हुन सक्छ । जतिवेला सामाजिक न्याय र समनाताको अनुभुति हुनेछ र गोर्खाली आदिवासी जनजातिहरुले गर्भ गर्नेछ । गोरखा ऐतिहासिक, धार्मिक, साँस्कृतिक हिसावले महत्वपूर्ण जिल्ला भएकोले आन्तरिक तथा वाह्य पयर्टकको आगमन न्यून छ । पयर्टनको अथाह सम्भावना भएर पनि पयर्टन विकास हुन सकेको छैन् । जसको विकास गर्न आदिवासि जनजाति संग सम्वन्धित मौलिक पहिचानहरु जर्गैना गरी समग्र गोरखाको विकासमा प्रयोग गरिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्