| शुक्रबार, अशोज २९, २०८३

लिगलिगे दौडमा प्रशासनको रोकप्रति पालुङटार नगरपालिकाको आपत्ति

मेयर भन्छन् : प्रशासनले गलत प्रवृतिलाई प्रोत्साहन गर्न खोज्यो
पालुङटार नगरपालिकाको आयोजनामा आज (विहीवार) हुने भनिएको ऐतिहासिक लिगलिगे दौडमा प्रशासनले रोक लगाएपछि नगरपालिकाले आपत्ति जनाएको छ । विहीवार पत्रकार सम्मेलन गर्दै नगरपालिकाले अन्तिम घडीमा आएर प्रतियोगितामा रोक लगाउनु प्रशासनको लाचारपन भएको जनाएको छ ।

सुरक्षा चुनौतीको वहाना बनाउँदै प्रशासनले वुधवार साँझ पत्राचारमार्फत प्रतियोगिता नगर्न नगरपालिकालाई भनेको हो । सुरक्षा चुनौती महसुश गरी कार्यक्रम स्थगित गर्न निर्देशन दिनुले समग्र पालुङटारवासीको सुरक्षा व्यवस्थाप्रति गम्भिर प्रश्न उठेको मेयर विवश चिन्तनले बताए ।

‘सबै तयारी सकेर सिठी फुक्न मात्र बाँकी थियो,’ उनले भने, ‘तर अन्तिममा स्थानीय सरकारको क्षेत्राधिकार मिचेर प्रशासनले दौड रोक्न ठाडो आदेश दियो, यसमा हाम्रो आपत्ति छ ।’ सुरक्षा चुनौती सिर्जन गर्ने पक्षलाई नियन्त्रणमा लिनुको साटो प्रशासनले कार्यक्रममा रोक लगाएर गलत प्रवृतिलाई प्रोत्साहन गर्न खोजेको उनको आरोप छ ।

अन्तरपालिका समन्वय गरेर प्रमुख जिल्ला अधिकारीसमक्ष डेलिकेशन जाने तयारी नगरपालिकाको छ । सम्बन्धित पक्षसँग समन्वय गरी दौडको नयाँ मिति तय गर्ने समेत पालिकाले जनाएको छ । यसअघि लिगलिगकोट बिकास अभियानले आयोजना गर्दै आएको लिगलिगे दौड नगरपालिकाले अपनत्व लिएर संचालन गर्न खोजेपछि दुई पक्षबीचको विवाद चुलिदै आएको छ । आफू आयोजक हुनुपर्ने दुवै पक्षको अडान छ ।

यसअघि पनि नगरपालिका आफैले अपनत्व लिएर दौड संचालन गर्ने निर्णय गरेको थियो । तर लिगलिगकोट बिकास अभियानले अवरोध गरेपछि विगत दुई बर्षदेखि दौड हुन सकेको छैन । यो बर्ष पनि पालिकाले दौड गर्न लागेपछि अभियानले अवरोध सृजना गरेको हो । नगरपालिकाले आज (विहीवार) दौडको आयोजना गरेको थियो । नगरपालिकालाई चुनौती दिदै अभियानले भोलि (शुक्रवार) दौडको आयोजना गरेपछि विवाद थप चुलिएको हो ।

सहमतिका लागि दुइ पक्षबीच पटक पटक छलफल हुदाँ पनि निष्कर्ष निस्कन नसकेपछि प्रशासनले दुवै पक्षलाई कार्यक्रम स्थगित गर्न पत्राचार गरेको हो । नविकरण नभएको संस्था र नगपालिकाको कार्यक्रमलाई एउटै तराजुमा राखेर रोक्न निर्देशन गर्नु आफूहरुलाई स्वीकार्य नहुने मेयर चिन्तनले बताए ।

‘नविकरण समेत नभएको लिगलिगकोट बिकास अभियानले आफ्नो स्वार्थ पूरा नहुने भएपछि हामीले गर्दै आएको सहमतिको प्रयासलाई उपेक्षा गरी स्थानीयलाई नगरपालिका बिरुद्ध उत्तेजित पार्ने काम गरेको छ । कार्यक्रमको नाममा आएको रकम आफूखुशी खर्च गर्न नपाएको असन्तुष्टीले यो अवस्था सिर्जना भएको हो,’ उनले भने । संस्थाको बैधानिकतामाथि प्रश्न उठाउँदै उनले यसको कानून बमोजिम निरुपण हुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्