
आरुघाटमा पुस २४ बाट १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने
यस पटकको गोरखा जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आरुघाट बजारमा हुने भएको छ । जिल्ला खेलकुद विकास समितिले शनिबार पत्रकार सम्मेलन गरी यही पुस २४ गतेबाट १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अरुघाटमा आयोजना गर्ने जानकारी दिएको हो ।
आरुघाटको वडा नं ९ स्थित भिमोदय माविमा यही पुस २४, २५ र २६ गते प्रतियोगिता आयोजना गर्न लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम तामाङले जानकारी दिए । खेलकुद विकास समितिको आयोजना एवं आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकाहरुको सहआयोजनामा प्रतियोगिता हुन लागेको समितिका अध्यक्ष तामाङले जानकारी दिए ।
जिल्लाका ११ वटै स्थानीय तहहरुबाट करिब ५५० जना खेलाडीहरुले प्रतियोगितामा भाग लिने उनले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा छात्र र छात्रातर्फ भलिबल, कबड्डी, एथलेटिक्स, कराँते र तेक्वान्दो गरेर ५ विधामा खेलहरु हुनेछन् । प्रतियोगितामा करिब ७ लाख रुपैँया खर्च हुने अनुमान आयोजकको छ ।
‘जिल्लाका सबै पालिकाहरुबाट ‘केन्द्र भाग’मा पर्ने भएकाले यो वर्ष आरुघाटमा प्रतियोगिता आयोजना गर्न लागेका हौँ । विशेष गरी उत्तरी गोरखाको चुमनुब्री र धार्चे, बारपाक सुलिकोट, भीमसेनथापा, गाउँपालिकालाई नजिक हुने गरी आरुघाटमा कार्यक्रम गर्ने तय भएको हो’, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम तामाङले भने । जिल्ला स्तरीय प्रतियोगिताबाट छनोट भएकाहरुले बागलुङमा हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने तामाङले बताएका छन् ।
प्रदेश स्तरीय प्रतियोगितामा जिल्लाबाट छात्र र छात्रातर्फ भलिबल र कबड्डीमा १८–१८ जना, एथलेटीक्समा २२–२२ जना र कराँते तथा तेकवान्दोमा १२–१२ जनाले सहभागिता जनाउने छन् । १३ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने आयोजकको भनाइ छ ।




