| सोमवार, अशोज ११, २०८३

गुम्दामा आलु मेला सम्पन्न, भलिबल प्रतियोगितामा लापुवेशीको टिम प्रथम

धार्चे गाउँपालिका ५ गुम्दामा आयोजित आलु मेला सम्पन्न भएको छ । गुम्दा एकता युवा क्लव र थामरा धार्चे युवा क्लवले गत भदौ १ देखि ५ गतेसम्म आयोजना गरेको आलु मेला २०८२ विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको हो ।

‘अग्रज स्रष्टा र खेलाडीको सम्मान, कला, संस्कृति, पर्यटनको प्रवद्र्धनमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ मेला भएको थियो । ऐतिहासिक गुम्दा आलु मेलामा जिल्लास्तरीय अन्तर क्लव पुरुष र महिला भलिबल प्रतियोगिता तथा स्थानीय स्तरमा उत्पादन भएका आलु प्रदर्शनसँगै विविध साँस्कृतिक कार्यक्रमहरु भएको आयोजक गुम्दा एकता क्लवका अध्यक्ष मनुराज गुरुङले बताए ।

मेलाको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगितामा धार्चे ७ लापुवेशीको घले हाब्रेस्टिङ युवा क्लव प्रथम भएको उनले जानकारी दिए । यस्तै बारपाक सुलिकोटको बाह्रमुले युवा क्लव द्वितीय र बारपाक सुलिकोटक युवा क्लव प्रतियोगितामा तृतीय भएको उनले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमश रु ७५ हजार, ५० हजार र ३० हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

महिला भलिबल प्रतियोगितातर्फ बारपाक सुलिकोटक टिम ए प्रथम, बारपाक सुलिकोट टिम बि द्वितीय र द मुस्कान युवा क्लव तृतीय भएका छन् । उनीहरुले क्रमश रु २० हजार, १० हजार र ७ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष र महिला भलिबल प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने सबै टिमलाई तीन÷तीन पाथी आलु समेत दिइएको अध्यक्ष गुरुङले बताए ।

यस्तै, एकल लोक नृत्य प्रतियोगितामा रुपा गुरुङ प्रथम, सुस्मिता सुनार द्वितीय र निस्मा गुरुङ तृतीय भएकी छिन् । समूहगत लोकनृत्य प्रतियोगितामा धार्चे आमा समूह गुम्दा प्रथम, गुम्दा एकता महिला समूह गुम्दा द्वितीय र हिमाली आमा समूह लाप्राक तृतीय भएका छन् । उनीहरुलाई पनि नगद पुरस्कारसहित आलु प्रदान गरिएको छ । स्थानीय स्तरमा उत्पादन भएको आलुको प्रवद्र्धन तथा प्रचारप्रसारका लागि प्रतियोगितामा सहभागी भई पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई पुरस्कारसँगै आलु प्रदान गर्ने व्यवस्था गरेको उनको भनाइ छ ।

धार्चेको गुम्दा, लाप्राक लगायतका आसपासका गाउँलाई आलु पकेट क्षेत्रका रुपमा चिन्ने गरिन्छ । यहाँको मुख्य खाद्यान्न बाली नै आलु हो । यहाँ उत्पादित आलुहरु जिल्लाका सदरमुकाम तथा विभिन्न स्थानीय तहसँगै पोखरा, काठमाडौ लगायतका जिल्लामा निर्यात हुने गरेको छ । अघिल्लो वर्षको तुलनामा यसवर्ष धेरै आलु उत्पादन भएको तर कच्ची सडकका कारण मोटर बाटो संचालन नहुँदा त्यहाँ उत्पादित आलु समयमै बजारसम्म पु¥याउन नपाएको स्थानीय कृषकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्