
धनबहादुर भट्टबाट पाइने शिक्षा
अमेरिकी लेखक मार्क ट्वायले भनेका छन्, जीवनका दुईवटा दिन सबैभन्दा महत्वपूर्ण हुन्छन् । एक, जन्मेको दिन, दोस्रो, आफू केका लागि जन्मिएको हो भनेर थाहा पाएको दिन । आफू केका लागि जन्मिएको भनेर कसरी थाहा पाउने भन्नेबारेमा पनि उनले लेखेका छन्, ‘जुन काम गर्दा आफूलाई आनन्द लाग्छ, जुन काम बिना पारिश्रमिक पनि गर्न मन लाग्छ त्यो काम गर्न आफू जन्मिएको भनेर बुझ्नु पर्छ ।’
पेले फुटबल खेल्नकै लागि जन्मिएका थिए भन्दा अत्युक्ति हुदैन । सचिन तेन्दुलकर क्रिकेटका लागि, नारायणगोपाल गाउनकै लागि, लक्ष्मीप्रसाद देवकोटा कविता लेख्नकै लागि जन्मिएका हुन् भन्दा अन्यथा हुदैन । खेलेबापत, लेखेबापत मनग्य आम्दानी गरे त्यो एउटा ठाउँमा छ, तर, उनीहरुले पारिश्रमिक नपाए पनि तत्तत् क्षेत्रमा योगदान गर्ने थिए ।
त्यसैले आफू केका लागि जन्मेको हो भनेर पत्ता लगाउन सक्ने मान्छेको जीवन पक्कै सफल बन्नेछ । यहाँ प्रसंग धनबहादुर भट्टको हो । उनले सानैदेखि जुन लक्ष्य राखेर काम गरेका थिए, त्यस क्षेत्रमा मनग्य सफलता पाएका छन् । गाउँघरमा टालोको बल खेलेर हुर्किएका, सौरपानी जौबारीको सानोसानो सुर्कामा भलिबल खेलेर सीप, क्षमता बढाएका धनबहादुर भट्ट अहिले अन्तर्राष्ट्रिय भलिबल खेलाडी बन्न सफल भए ।
गोरखा सदरमुकाममा २०६८ सालमा सम्पन्न राष्ट्रपति रनिङशिल्डमा उत्कृष्ट प्रदर्शन गरेबापत उनी सर्वोत्कृष्ट भलिबल खेलाडी बन्न सफल भए । उनको खेललाई सशस्त्र प्रहरीले नोट ग¥यो र आफ्नो संगठनमा आवद्ध हुन अनुरोध ग¥यो । कैयौ युवाहरु सशस्त्र प्रहरीमा आवद्ध हुन मरिहत्ते गर्छन्, तर सशस्त्र प्रहरीले उनलाई आवद्ध हुन अनुरोध ग¥यो । पछि फेरि नेपाली सेनाले अनुरोध ग¥यो । अहिले उनी नेपाली सेनाको टिममा आवद्ध छन् ।
सेनाको टिमबाट उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा भलिबल खेल्छन् । यसले एक त उनलाई सन्तुष्टि दिएको छ, अर्को त उनको जीवन सफल बनेको छ । त्यसैले जो कोहीले आफ्नो विशेष क्षमता पत्ता लगाई त्यसलाई वृत्ति विकास गरी सफल व्यक्तित्व बन्न सक्नुपर्छ ।




