| सोमवार, अशोज १८, २०८३

फुटबल र पढाइलाई सँगसँगै अगाडि बढाउने इच्छा छ : कप्तान स्मृति गुरुङ

केशव गुरुङ :

गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदानमा आइतबार उद्घाटन खेलमा महिलाहरुको मैत्रीपूर्ण फुटबल प्रतियोगिता भइरहेको थियो । बाह्य जिल्लाहरुमा महिलाहरुको फुटबल गतिविधि भइरहँदा पनि गोरखामा भने यो पहिलो पटक भएकाले दर्शकहरु चाख दिएर हेरिरहेका थिए भने खेलाडी पनि उत्साहित देखिन्थे ।

गोरखकाली रनिङ कप हेर्न आएका सबै दर्शक महिला खेलाडीहरुलाई सपोर्ट गरिराखेका थिए । मैदानमा आफनो टिमको नेतृत्व गरिराखेकी थिइन्, कप्तान स्मृति गुरुङले ।

उनले नै गोरखामा महिलाहरु फुटबल खेलको सुरुवात गर्न आयोजकलाई आग्रह गरेकी हुन् । सहिदलखन गाउँपालिका वडा नं ६ घैरुङकी स्मृति गुरुङ सानैदेखि फुटबलमा रुचि राख्थिन् तर खेल्न भने पाएकी थिइनन् ।

अन्य जिल्लामा जाँदा महिलाले फुटबल खेलिराखेको देख्दा गोरखामा पनि खेल्न पाउनुपर्छ भने उनको सोच आयो र उनले हरमटारी क्लवमा आवद्ध भएका अग्रजहरुलाई अनुरोध गरिन् । क्लवले उनको कुरा स्वीकारे र फुटबल खेल्न साथीहरु बनाएर आउन भन्यो । सँगैका साथीहरुलाई अनुरोध गरिन् र फुटबल खेल्ने टिम बन्यो ।

अन्ततः हुँदाहुँदै २०÷२५ जना भए । गत मंसीरदेखि फुटबल खेल्ने चाहना राखेका महिलाखेलाडीलाई हरमटारी क्लवले प्रशिक्षण दिँदै आएको छ । सबै दर्शकका माझ खेलेको यो नै पहिलो प्रतियोगिता भएको उनले बताइन् ।

‘बेलुका नभ्याउने भएकाले विहान ६ बजेबाट ८ बजेसम्म प्रशिक्षण हुन्छ’, उनले भनिन, ‘फुटबल खेल्न त्यति सजिलो छैन, गाह्रो हुन्छ, म अहिले सेन्टर डिफेन्सबाट खेलिरहेको छु ।’ पढाई सँगसँगै फुटबललाई पनि अगाडि बढाउने इच्छा रहेको उनले बताइन् । उनी अहिले महालक्ष्मी माविमा कक्षा १२ मा पढ्छिन् ।

सानैदेखि फुटबलमा धेरै रुचि रहेको बताउँदै उनले भनिन, ‘सानैदेखि खेलेको भए धेरै अगाडि पुगिसकेको हुन्थ्यो होला । भर्खर त सुरु गर्दैछौँ । फुटबल गेमहरु धेरै ठाउँमा भइरहन्छ । अव अन्य प्रतियोगिताहरुमा पनि खेल्न जान मन छ ।’ अहिले १८ जना नियमित प्रशिक्षणमा रहेको क्लवका महासचिव किरण ढकालले बताए ।

खेलाडीहरुलाई चाहिने सबै खेलकुद सामग्री सबै क्लवले नै व्यवस्थापन गरेको उनले बताए । यसका लागि उनीहरुले हरेक प्रतियोगितामा क्लवबाट खेल्नुपर्नेछ । महिला खेलाडीहरुलाई क्लवका मनोज गुरुङ र शिव श्रेष्ठले प्रशिक्षण दिदै आएका छन् । क्लवका आवद्ध महिला र पुरुष खेलाडीहरुलाई फुटबल खेल्नका लागि मात्र नभई व्यवसायिक फुटबलर बनाउनमा जोड दिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्