
आरुघाट गाउँपालिकाबाटै प्यान दर्ता सेवा सुरु
आन्तरिक राजश्व कार्यालय तथा करदाता सेवा कार्यालयबाट हुँदै आएको स्थायी लेखा नम्बर (प्यान) व्यक्तिगत तथा व्यवसायिक दर्ता सम्बन्धी कार्य अब आरुघाट गाउँपालिकाबाटै सुरु भएको छ । आरुघाटस्थित गाउँ कार्यपालिकाको कार्यालयबाट प्यान दर्तासम्बन्धी सेवा प्रवाहको सुरुवात गरिएको हो ।
अबदेखि करदाता दर्तासँग सम्बन्धित सम्पूर्ण कार्यहरू नियमित रूपमा सञ्चालन हुने जानकारी गाउँपालिकाले दिएको छ ।
यसअघि आरुघाट क्षेत्रका उद्योगी, व्यापारी, पेशाकर्मीहरू प्यान दर्ता, प्यानसम्बन्धी अन्य कामका लागि सदरमुकामसम्म आउनु पर्ने बाध्यता थियो । त्यसले समय र खर्च दुवै बढ्ने गरेको थियो । अब गाउँपालिकाको कार्यालयबाटै सेवा सुरु भएपछि स्थानीय बासिन्दालाई ठूलो सुविधा पाइने बताइएको छ ।
विशेषगरी नयाँ व्यवसाय दर्ता गर्न चाहने, व्यक्तिगत प्यान लिन चाहने र करदाता दर्तासँग सम्बन्धित काम गर्नुपर्ने नागरिकहरूले अब आफ्नै पालिकाबाट सेवा लिन सक्नेछन् ।
गाउँपालिकाले सेवाको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक व्यवस्थापन मिलाइएको र सेवाग्राहीले आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । स्थानीय तहबाटै कर सम्बन्धी सेवा सुरु हुनुले करको दायरा विस्तार हुनुका साथै नागरिकलाई करप्रति जिम्मेवार बनाउने विश्वास गाउँपालिकाले लिएको छ ।




