
पर्यटन क्षेत्रमा प्रविधिको प्रयोग बहुउपयोगी
मनास्लु संरक्षण क्षेत्र (एमक्याप) मा पनि पर्यटकहरूको सहज व्यवस्थापन र सुरक्षाका लागि ‘क्यूआर कोड’ मार्फत अभिलेख राख्ने नवीन प्रणालीको सुरुआत हुनु अत्यन्तै सकारात्मक र स्वागतयोग्य कदम हो ।
पर्यटन क्षेत्रमा सूचना प्रविधिको सही प्रयोगले व्यवस्थापनलाई छरितो, पारदर्शी र आधुनिक बनाउँछ । यसअघि खुम्बु र अन्नपूर्ण जस्ता चर्चित पदयात्रा मार्गहरूमा सफल परीक्षण भइसकेको यो प्रविधि मनास्लु क्षेत्रमा भित्र्याइनुले हाम्रो ग्रामीण तथा साहसिक पर्यटन प्रणाली पनि आधुनिकतातर्फ उन्मुख हुँदैछ भन्ने स्पष्ट सन्देश दिन्छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को मोबाइल एपसँग एकीकृत गरिएको यो प्रणाली अन्तर्गत मनास्लु प्रवेशको अनुमति पत्र लिँदा नै पर्यटकहरूलाई क्यूआर कोड उपलब्ध गराइन्छ । यसले गर्दा पर्यटकको नाम, राहदानी नम्बर, भिसासम्बन्धी जानकारीका साथै उनीहरूको प्रवेश र प्रस्थानको विवरण तत्कालै र सही रूपमा अद्यावधिक हुन्छ ।
परम्परागत रूपमा कागजमा हातले लेखेर विवरण राख्ने परिपाटी झन्झटिलो त थियो नै, तथ्याङ्क सुरक्षित राख्न र सङ्कटको समयमा तत्काल सूचना आदानप्रदान गर्न पनि कठिन हुने गथ्र्यो । विशेष गरी उच्च हिमाली तथा पदयात्रा क्षेत्रमा प्राकृतिक विपत्र् वा दुर्घटना हुँदा पर्यटकहरूको तत्काल लोकेसन र विवरण पत्ता लगाउन आधुनिक प्रविधि निर्विकल्प बनेको छ । क्यूआर कोड प्रणालीले अभिलेखीकरणलाई चुस्त र व्यवस्थित बनाउनुका साथै आपत्कालीन उद्धार तथा सुरक्षा व्यवस्थापनलाई समेत बढी प्रभावकारी बनाउने देखिन्छ ।
मनास्लु क्षेत्रबाट सुरु भएको यो अभ्यासलाई अन्य सम्भावित पदमार्ग तथा पर्यटकीय स्थलहरूमा पनि विस्तार गर्दै लैजानु आवश्यक छ । प्रविधिको प्रयोगसँगै यसलाई निरन्तर सञ्चालन गर्न आवश्यक पर्ने प्राविधिक पूर्वाधार, इन्टरनेट पहुँच र जनशक्तिको क्षमता अभिवृद्धिमा ध्यान दिन सके मात्र यो प्रणाली दीर्घकालीन र पूर्ण रूपमा सफल हुन सक्छ । प्रविधिको यो सकारात्मक पाइलाले नेपालको पर्यटन व्यवस्थापनलाई दिगो र विश्वस्तरीय बनाउन महत्त्वपूर्ण योगदान पु¥याउनेछ ।




