
बूढीगण्डकीमा ठूलो बाढी, नदी किनारका बासिन्दा बिहानै भागदौड
बूढीगण्डकीमा आइतबार बिहानै ठूलो बाढी आएको छ । गडगडाहटसँगै नदीमा बाढी आएपछि किनार आसपासका बासिन्दा घर छाडेर भागेका छन् ।बूढीगण्डकीको स्यारखोला तर्फबाट बाढी आएको चुमनुब्री गाउँपालिकाकी पूर्व उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिइन् ।
नदी थुनिने र खुल्ने भइरहेको छ । यो समाचार तयार पर्दासम्म २० मिनेटदेखि फेरि नदी थुनिइरहेको चुमनुब्री ३ जगतका गणेश कार्कीले जानकारी दिए । नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लावेशी, माछाखोला, सोती, आर्खेत, आरुघाटका बासिन्दालाई माइकिङ तथा फोन गरेर सुरक्षित स्थानतर्फ सर्न भनिएको प्रहरी निरीक्षक आकास कँडेलले जानकारी दिए ।
बिहान साढेचार बजेतिर ठूलो आवाजसहित बाढी आएपछि लोक्पाका बासिन्दा पनि भागेका स्थानीय सेराप गुरुङले बताए । तीनपटकसम्म नदी थुनिने र खुल्ने भएको गणेश कार्कीले बताए ।




