
जोगाऔँ हिमताल, बचाऔँ वीरेन्द्रताल
गत भदौ १० गते ल्हेन्दीखोला, भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति ग¥यो । बाढीले विशेषगरी रसुवा र नुवाकोटका सातहजार भन्दा धेरै घरहरु क्षतिग्रस्त बनायो । जसबाट ३२ हजार नौ सय ३३ जना नागरिक विस्थापित भएका राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
भोटेकोशीमा विनाशकारी बाढी आउनुमा जलवायु परिवर्तनको परिणाममा वैज्ञानिकहरु बीच मतैक्य छ । विश्वव्यापी तापमान वृद्धिका कारण त्यहाँमात्र होइन, अब नेपाल–चीन सीमा क्षेत्रका अनगिन्ति हिमताल तथा हिमनदीमा यस्तै विपद् आइपर्ने सम्भावना नजिकिँदै छे । जलवायु परिवर्तनका कारण पर्यावरणमा आएको तीव्र असन्तुलनका कारण अब नेपालले ठूलो प्राकृतिक संकट भोग्नु पर्ने घडी आएको छ । इसिमोडले नेपाल–चीन सीमा क्षेत्रमा रहेका वीरेन्द्रताल लगायत अरु दुईहजार ७० वटा हिमलातहरुलाई जलवायु परिवर्तनको जोखिमका कारण ‘खतराको सूची’मा राखेको छ । जसमध्य वीरेन्द्रताल उच्च जोखिमको सूचीमा छ ।
चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लुको काखमा रहेको वीरेन्द्र ताल समुन्द्री सतहबाट करिब ३ हजार ६ सय ९१ मिटर उचाइमा पर्दछ । पर्यटकको आकर्षणको केन्द्रका रुपमा परिचित यो ताल पछिल्लो केही वर्षयता संकटमा परेको छ । जलवायु परिवर्तनका कारण मनासलु क्षेत्रको हिउँ निकै घटेको र वीरेन्द्र तालमा हिमपहिरो खस्ने, ताल पुरिने दर बढ्दै गएको छ । वीरेन्द्र ताल वरपरका ठुल्ठुला ग्लेसियरहरु फुटिसक्यो, बरफका पहाडहरुमा अहिले पत्थर मात्र बाँकी छन् ।
मनासलुको फेदी पुंगेनगुम्बा क्षेत्रमा पाँचवटा नयाँ हिमतालहरु बनिसकेका छन् । कतै ताल सुक्ने, कतै तालमा जलसतह बढेर फुट्ने स्थिति आउने, कतै नयाँ ताल थपिनेजस्ता संकटका लक्षणहरु देखिएका छन् । सरकारले समयमै संज्ञानमा राखी यो हिमताललाई बचाउने, प्रकृतिलाई जोगाउनेतर्फ ध्यान दिनुपर्छ ।




