| मङ्लबार, अशोज १९, २०८३

लिगलिग दौड विवादको निकास चाँडै निस्कियोस्

दुईबर्ष रोकिएको लिगलिग दौडले बल्लतल्ल यो बर्षदेखि निकास पाउने आशा थियो, तर कसले आयोजना गर्ने भन्ने विवादका कारण अन्यौलता बढेको छ । आयोजक हुँ भन्दै पालुङटार नगरपालिकाले आउँदो असोज २९ गते आयोजना गर्ने जनाएको छ । अर्को आयोजक हुँ भन्ने लिगलिगकोट विकास अभियानले त्यसकै भोलिपल्ट आयोजना गर्ने दाबी गरेको छ ।

दुई पक्षीय विवादका कारण यो बर्ष पनि लिगलिग दौड कहीँ नहुने त होइन ? भन्ने आशंका बढेको छ । ११ औँ श्रृङ्खलासम्म गैरसरकारी(सामाजिक) संस्थाले आयोजना गरेको दौड अब स्थानीय सरकारले आयोजना गर्नुलाई गर्व गर्नुपर्ने पालुङटार नगरपालिकाको धारणा छ । सामाजिक संस्थाले आयोजना गर्दा खर्चको जोहो गर्न, व्यवस्थापन गर्न झमेला र दुख हुने, समस्या हुने तर सरकारी निकायले गर्दा त्यो झमेलाबाट मुक्त भइने र दीगो हुने नगरपालिकाको जिकिर छ ।

सामाजिक संस्थाभन्दा सरकारी निकाय सबैको साझा हुने भएकाले नगरपालिकाले यसको स्वामित्व लिनु श्रेयेस्कर हुने नगरपालिका तर्क गर्छ । साथै यसको दीगोपना र व्यापकताका लागि सरकारी निकायले गर्नु आवश्यक भएको उसको भनाइ छ ।

तर लिगलिगकोट विकास अभियानको धारणा फरक छ । ११ औ श्रृङ्खलासम्म निरन्तर आयोजना गरेका आफूहरु अबका श्रृङ्ला गर्न पाउनु पर्ने दावी अभियानको छ । शून्यबाट उठाउन, ११ औं श्रृङ्खलासम्मको कठिन दिनहरु पार गरिसकेकाले अबको यात्रा सहज ढंगले गर्न सक्षम रहेको र दीगोपनको सुनिश्चितता दिन सकिने अभियानको दावी छ ।

स्थानीय स्तरका कार्यक्रम स्थानीय संघसंस्थाले नै गर्ने, खेलकुद, मेला, महोत्सव सामाजिक संघसंस्थाले नै गर्नुपर्ने भन्दै सरकारले मेला महोत्सव, दौड जस्ता कार्यक्रम गर्नु उचित नहुने अभियानको भनाइ छ ।

तर्क र हेराइ आफ्नो आफ्नो छ तर सही धारणा के हो ? सो विषयमा साझा विन्दू पत्ता लगाई जसले गरे पनि चाँडो सहमति, सहकार्य कायम होओस् । यसबर्ष जसरी पनि लिगलिग दौड होओस् ।

प्रतिक्रिया दिनुहोस्