| बुधबार, अशोज २०, २०८३

दशैँ, तिहार नजिकिएसंगै ग्रामीण सडक मर्मत सम्भार तीब्र

चाडपर्व नजिकिएसँगै जिल्लाभर विभिन्न ठाउँमा ग्रामिण सडक मर्मत सम्भारको काम सुरु भएको छ । बर्खा याममा पहिरो र ढुङ्गा थुप्रेका सडकहरुमा धमाधम सरसफाई र मर्मत सम्भारको काम सुरु भएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।

‘दशैँ नजिकिएसँगै पालिकाभर बाटो सरसफाईको काम सुरु भइसक्यो । गाउँपालिकाको डोजरले मात्र नभ्याएर थप चारवटा मेसिन भाडामा लिएर सरसफाई गरिरहेका छौँ’, पालिका अध्यक्ष गुरुङले भने । गाउँपालिकाको विभिन्न ग्रामिण सडकहरुमा पहिरो गएर मोटर जान नसक्ने अवस्था रहेको उनी बताउँछन् । दशैँअघि गाउँ गाउँमा मोटर जानसक्ने गरी बाटो सरसफाई र मर्मत सम्भारको काम भैरहेको उनको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाले जिल्लाभरका मुख्य ग्रामीण सडकहरु प्रायः सुचारु रहेको जनाएको छ । ‘जिल्ला भित्रका मुख्य–मुख्य सडकहरु खुल्ला नै छन् । कहीँ कतै खुलाउन बाँकी भए नभएको हामीले सडक कार्यालयसंग समन्वय गरिरहेका छौँ’, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले भने, ‘त्यस्तै खाद्यान्न लगायतका सामग्री आपूर्तिका लागि कहीँकतै कुनै बाधा, व्यवधान भए खबर गर्न समन्वय गरिरहेका छौँ ।’ जिल्लाभर खाद्यन्न आपूर्तिको अवस्था सहज रहेको उनको भनाइ छ ।

गोरखा सडक योजनाले पनि कार्यालय मातहतका सडकहरु सरसफाई र मर्मत सम्भारको काम भैरहेको जनाएको छ । बेनिघाट–आरुघाट–लार्के सडक अन्तरगत धार्चे गाउँपालिका–७ खानीवेशी क्षेत्रमा पहिरो सोहोर्ने र सडक मर्मतको काम भैरहेको आयोजना प्रमुख बिनोद पुनले बताए । कार्यालय मातहतको अन्य सडकहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

दशैँ नजिकिएसँगै पूर्वाधार विकास कार्यालय गोरखाले पनि विभिन्न ठाउँमा सडक सरसफाई र मर्मत सम्भारको काम अघि बढाएको छ । कार्यालयले सहिदलखन गाउँपालिका र गोरखाको नारेश्वर क्षेत्रमा सडक सरसफाईको काम सुरु गरेको इन्जिनियर सर्मिला थापाले जानकारी दिइन् । अन्य क्षेत्रहरुमा पनि आवश्यकता अनुसार सरसफाईको काम संचालन गर्ने उनले बताइन् । ‘हाम्रो कार्यक्रम रहेको क्षेत्रमा हामीले मर्मत गर्छौँ । अधिकांशमा पालिकाहरु आफैले गर्नुहुन्छ’, उनले भनिन् ।

उत्तरी गोरखाको चुमनुब्री, धार्चे लगायत अन्य पालिकाहरुले पनि चाडपर्व नजिकिएसँगै आवश्यकता अनुसार सडक तथा नाला सरसफाई र बाटो मर्मत सम्भारको कामहरु अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्