| बुधबार, अशोज २०, २०८३

लिगलिग दौडको स्वामित्व पालिकाले लिएपछि सबैको साझा हुने दावी

लिगलिग दौडको स्वामित्व स्थानीय सरकारले लिएमा दीगो र व्यापक हुने पालुङ्टार नगरपालिकाले दावी गरेको छ । दौडको स्वामित्वका विषयमा लिगलिगकोट विकास अभियानसंग विवाद भएपछि सोमबार औपचारिक धारणा प्रकाशन गर्दै नगरपालिकाले नगरपालिकाको स्वामित्वलाई स्वीकार गर्न सबैमा आग्रह गरिएको छ ।

विभिन्न कारणले केही बर्ष रोकिएको लिगलिग दौडलाई अहिले नगरपालिकाको पहलमा फेरि सुरुवात गर्न लागिएको गर्व गर्ने विषय भएको पालिकाको दावी छ । लिगलिग दौडलाई आजको अवस्थासम्म ल्याइपु¥याउन योगदान पु¥याएकामा नगरपालिकाले लिगलिगकोट विकास अभियानलाई धन्यवाद दिँदै नगरपालिका सबैको साझा संस्था भएकाले नगरपालिकाको स्वामित्व स्वीकार गर्न आव्हान गरिएको छ ।

लिगलिग दौड प्रतियोगिता कुनै व्यक्ति, संस्था वा समूह विशेषको कार्यक्रममात्र नभई पालुङटार नगरपालिकाको ऐतिहासिक सम्पदा, स्थानीय गौरव र साझा पहिचानसँग जोडिएको कार्यक्रमका रूपमा विकास गर्नुपर्ने आवश्यकता महसुस गरिएकाले नगरपालिकाको स्वामित्वमा आयोजना गरिएको सो पत्रमा उल्लेख छ ।

नगरपालिकाले आयोजना गर्ने कार्यक्रम सबै राजनीतिक दल, संघसंस्था, युवा, खेलाडी, स्थानीय समुदाय तथा नगरवासीको साझा कार्यक्रमका रूपमा स्थापित हुने र यसलाई आगामी वर्षहरूमा अझ व्यवस्थित तथा राष्ट्रियस्तरको प्रतियोगिताका रूपमा विकास गर्न सकिने भएकाले नगरपालिकाको नेतृत्वमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको दावी गरिएको छ ।

सो निर्णय एकांकी निर्णय नभै विभिन्न पक्षसँगको छलफल, परामर्श तथा समन्वयमा आयोजना गरिएको दाबी गर्दै सोका लागि आवश्यक तयारी तथा सार्वजनिक सूचना समेत जारी भइसकेको जनाइएको छ । लिगलिग दौड केवल एउटा खेलकुद प्रतियोगिता मात्र नभई यहाँको गौरवपूर्ण इतिहास, नेपालको राज्य निर्माणसँग जोडिएको ऐतिहासिकता, स्थानीय संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने महत्वपूर्ण माध्यम समेत भएकाले यसको संरक्षण, प्रवद्र्धन र संस्थागत विकासमा स्थानीय सरकारले स्वामित्व लिएको तर्क गरिएको छ ।

नगरपालिकाको नेतृत्वमा सो प्रतियोगिता नियमित रूपमा सञ्चालन गर्न सकिएमा यस क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारी तथा आर्थिक गतिविधि विस्तार, होटल तथा होमस्टे व्यवसायको विकास, स्थानीय उत्पादनको बजारीकरण तथा युवाको खेलकुदप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुग्ने नगरपालिकाको विश्वास छ । आगामी दिनमा यसलाई केवल एकदिने दौडमा सीमित नराखी लिगलिगकोटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्ने व्यापक अभियानसँग जोड्ने नगरपालिकाको योजना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्