
विपद्मा वरदान बन्दै सूचना प्रविधि
प्राकृतिक विपत्ति बाजा बजाएर आउँदैन । बुधबार बिहान भोटेकोशीमा आएको प्रलयकारी बाढीले रसुवा र नुवाकोटका कैयौँ बस्तीहरू क्षणभरमै सोहोरेर लगेको घटनाले स्तब्ध बनाएको छ । सो बाढीले ती क्षेत्रमा ठूलो भौतिक र मानवीय क्षति पु¥यायो । तर, यो भयावह त्रासदीका बीच एउटा सम्हालिने र आशालाग्दो पक्ष पनि अगाडि आयो — समयमै भएको सूचना तथा सञ्चार प्रणालीको प्रयोगले धादिङ, गोरखा लगायतका तल्लो तटीय क्षेत्रका नागरिकको ज्यान जोगाउन सकियो ।
भोटेकोशी र त्यस आसपासमा बाढीले विध्वंस मच्चाउनासाथ सूचना प्रविधिको माध्यमबाट त्यो खबर क्षणभरमै देशव्यापी बन्यो । तल्लो तटीय क्षेत्रमा रहेका धादिङ, गोरखा, चितवन लगायतका जिल्लाहरूमा स्थानीय प्रशासन, प्रहरी, जनप्रतिनिधि र सञ्चार माध्यमहरूले समयमै सूचना प्रवाह गरे । टेलिफोन, सामाजिक सञ्जाल र माइकिङमार्फत निरन्तर सजग गराइयो, सुरक्षित स्थलतर्फ सर्न निर्देशन दिइयो । फलस्वरूप, बाढी बस्तीसम्म आइपुग्नु अगावै नागरिकहरू सुरक्षित स्थानमा पुग्न र आफ्ना चल सम्पत्तिसमेत जोगाउन सफल भए ।
यदि सूचना प्रणाली कमजोर वा सुस्त भएको भए यो बाढीले धनजनको अकल्पनीय क्षति गराउने निश्चित थियो । क्षति त भयो, तर मानवीय जीवन जोगाउन सकिनुमा आधुनिक सूचना तथा सञ्चार प्रविधि र तिनको द्रुत प्रयोग मुख्य कारक सिद्ध भए । यस अर्थमा हामी सूचना प्रविधि र यसको सही परिचालन गर्ने निकायहरूप्रति कृतज्ञ हुनैपर्छ ।
आजको युगमा सञ्चार माध्यम र प्रविधिलाई कहिलेकाहीँ नकारात्मक फैलाउने वा अफवाह फैलाउने साधनका रूपमा आलोचना गरिन्छ । तर, भोटेकोशीको यो घटनाले प्रविधिको सही र समयमै गरिएको सदुपयोगले जीवन नै बचाउन सक्छ भन्ने अकाट्य सत्य प्रमाणित गरिदिएको छ । प्रविधि आफैँमा असल वा खराब हुँदैन, यसको प्रयोग कसरी गरिन्छ भन्ने कुराले परिणाम निर्धारण गर्छ ।
आगामी दिनमा पनि प्राकृतिक विपद्बाट बच्न पूर्वसूचना प्रणालीलाई अझ आधुनिक, द्रुत र पहुँचयोग्य बनाउन आवश्यक छ । जल तथा मौसम विज्ञान विभाग, स्थानीय प्रशासन र आम नागरिकबिचको सञ्चार सञ्जाललाई अझ सुदृढ बनाउनुपर्छ । प्रविधिको दुरुपयोगबाट बचौँ, यसको सही र विवेकपूर्ण सदुपयोग गरौँ र विपद् व्यवस्थापनमा प्रविधिको अधिकतम लाभ लिई मानव जीवनको रक्षा गरौँ ।




