
स्तनपान अमृतसमान
भनिन्छ, शिशुका लागि आमाको दूध केवल पोषण मात्र होइन, यो प्रकृतिले उपहारस्वरूप दिएको पहिलो खोप पनि हो । तर, पछिल्लो समय आधुनिकताको अन्धो सिको र विभिन्न बहानामा शिशुलाई आमाको दूधबाट वञ्चित गर्ने प्रवृत्ति बढ्दै जानु चिन्ताको विषय बनेको छ । बजारमा पाइने बट्टाका दूध (ल्याक्टोजिन) र कृत्रिम पूरक आहारलाई विकल्पका रूपमा प्रयोग गर्ने लहरले बाल स्वास्थ्यमा गम्भीर प्रश्नचिन्ह खडा गरिदिएको छ ।
चिकित्सकहरूका अनुसार शिशु जन्मिएको ६ महिनासम्म आमाको दूधबाहेक अन्य कुनै पनि पदार्थ (पानी समेत) खुवाउनु आवश्यक हुँदैन । आमाको बिगौती दूधमा पाइने प्रतिरोधात्मक क्षमताले शिशुलाई झाडापखाला, निमोनिया र अन्य संक्रामक रोगहरूबाट बचाउँछ । साथै, स्तनपानले आमा र बच्चाबीचको भावनात्मक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ ।
अहिलेका सुत्केरी महिलाहरूमा शारीरिक सुन्दरता बिग्रने डर, कार्यव्यस्तता वा पर्याप्त दूध नआएको बहानामा बट्टाको दूध रोज्ने चलन बढेको देखिन्छ । विज्ञापनहरूको भ्रामक प्रचारले गर्दा धेरैलाई लाग्न सक्छ कि बट्टाको दूध आमाको दूध जस्तै पोषिलो छ । तर वास्तविकता यो हो किः कुनै पनि कृत्रिम दूधले आमाको दूधमा हुने प्राकृतिक एन्टीबडीज प्रदान गर्न सक्दैनन् ।
बट्टाको दूध र बोतलको प्रयोगले शिशुमा संक्रमणको जोखिम उच्च रहन्छ ।
यसले शिशुको बौद्धिक र शारीरिक विकासमा समेत अवरोध पु¥याउन सक्छ । बच्चालाई कृत्रिम दूध खुवाउनु बाध्यता होइन, एक प्रकारको लापरबाही हो । कार्यक्षेत्रमा रहेका महिलाहरूका लागि स्तनपान कक्षको व्यवस्था गर्नु राज्य र रोजगारदाताको दायित्व हो भने घरपरिवारले सुत्केरी महिलालाई उचित पोषण र तनावमुक्त वातावरण दिनु अनिवार्य छ । आमाको दूधको विकल्प खोज्नु भनेको बच्चाको भविष्यमाथि खेलबाड गर्नु हो ।
शिशुको सर्वाङ्गिण विकासका लागि आमाको दूध नै सर्वोत्तम र प्राकृतिक आहार हो । बट्टाको दूध होइन, आमाको दूध नै रोजौं भन्ने सन्देशलाई केवल नारामा मात्र सीमित नराखी व्यवहारमा उतार्न आवश्यक छ । प्राकृतिक स्तनपानलाई नै पहिलो प्राथमिकता दिई स्वस्थ र सबल नागरिक निर्माणको जग बसाल्नु आजको आवश्यकता हो । कृत्रिमता त्यागी प्राकृतिक ममता र पोषणतर्फ फर्कन ढिला भइसकेको छ ।




