
भारतीय तीर्थयात्रीको मृत्यू भएको गोरखा दुर्घटनाबारे छानबिन गर्न समिति गठन
सातजना भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानवीन गर्न समिति गठन गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख एसपी दानबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले जानकारी दिए ।
समितिले १४ जना भारतीय तीर्थयात्री बोकेको बाग्मती प्रदेश १–००६ख८४३० नंबरको माइक्रो बस दुर्घटना भएको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । सो ईभी माइक्रोबस मनकामना–आँबुखैरेनी सडक खण्ड अन्तरगत सहिद लखन गाउँपालिका–३ कान्टार नजिकको भीरबाट दुईसय मिटर तल खसेर दुर्घटना भएको थियो ।
सो दुर्घटनामा मनकामनाको पूजाआजा गरी फर्केका तमिलनाडु राज्य, चेन्नईका सातजनाको घटनास्थलमै मृत्यू भएको थियो । मृतकहरुको प्रदेश अस्पताल गोरखामा पोस्टमार्टम गरी शव भारतीय दूतावासलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । अन्य सातजना तीर्थयात्री गम्भीर घाइते भएका थिए । घाइतेहरुको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको एसपी बिकले जानकारी दिए ।




